राम प्रसाद चौहान
बर्दिया, साउन १२
एक महिना अघि स्पान भत्किदा फलामे छड राखेर काम चलाएको पुल अन्तत क्षत बिक्षत हुदैछ । अहिले आएर पुल जोड्ने स्पान नै छुट्टिने अवस्थामा पुगेको छ । स्पान दश ईन्च जति फाटिएको छ । कर्णाली नदीको बहाब बढ्दै गएकोले पुल भत्काएर बगाउँन सक्ने स्थानीयको अनुमान छ ।
करोडौ लागतमा निर्माण भएको सत्ति घाटको पुलको स्पान छुट्टिएको छ । बर्दिया तर्फको दोस्रो स्पान एक बित्ता छुट्टिएको हो । बर्दियाको राजापुर र कैलालीको टिकापुर जोड्ने पक्की पुलमा ठुला सवारी साधन आवत जावतमा रोक लगाईको छ । आईतबार पुलको अनुगमन गरेका प्रमुख जिल्ला अधिकारी सन्त बहादुर सुनारले पुल बाङ्गो भएको बताए । सत्तिघाट पुलको स्पान छुट्टिएको खबर हुलाकी सडक विभागमा जानकारी गराएको सुनारले बताए ।
कर्णाली नदीको सत्तिघाटमा निर्माण पुलमा दोस्रो पटक समस्या उत्पन्न भएको छ । गत असार १२ गते सत्तिघाट पुलको बर्दिया तर्फको पहिलो स्पान भासिएको थियो । पुलको स्पान भासिदाँ पाँच दिनसम्म आवत जावत ठप्प भएको थियो ।
भासिएको स्पानको पुनः मर्मत सम्भार गरि संचालनमा आएको पुल फेरी समस्या देखिएको हो । एक महिनाको अन्तरालमा एउटै पुलमा दुई पटक समस्या देखिदा हुलाकी सडक आयोजनाको लापरबाही भएको पुष्टि हुन्छ ।
पुल रसुवा कन्स्ट्रक्सन प्रालिले पाँच वर्षअघि सम्पन्न गरेको थियो । १३ वटा स्पान रहेको पुलको लम्बाई ५ सय ३१ मिटर रहेको छ ।
जब्दी घाटको पुल ४ सय २५ मिटर लम्बाई पुलको तीन वटा स्पान भत्किएको थियो ।
जब्दी घाटको पुल भत्किएको ७ बर्ष भईसक्दा पुनः निर्माण बारे सम्बन्धित निकायले चासो दिएको छैन । बबई नदीमा आवागमन गर्न पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दी घाटको तीन वटा स्पान भत्काएर आवात जावत रोकिएको केहि समयमा नै नव निर्मित बर्दिया र कैलाली जोड्न करौडौ लागतमा बनेको सत्तिघाट पुलको स्पान छुटिएको छ ।
सरकारले करोडौ लगानी लगाए पनि ठेकेदारले नाम मात्रको पुल बनाएको एक स्थानीले बताए । जिल्लामा दुई वटा ठुला पुल भत्किदा निर्माण कम्पनीलाई कुनै कारवाही नहुँदा जिल्लावासी अक्रोसित भएका छन् ।
जिल्लाको आर्थिक समृद्धिका सेतु मानिएका पुल धमाधम भत्किदा जिल्लावासी चिन्तित छन् ।
सत्तिघाट पुल निर्माण पछि पूर्बी र पश्चिम क्षेत्रको हुलाकी सडक मूख्य मार्ग बनेको थियो । पूर्व र पश्चिम आवागमन गर्न यातायात सेवा सञ्चालन भएको थियो ।
विभिन्न यातायात समितिले बस सेवा सुरु गरेका थिए भने साना सवारीका साधन समेत सञ्चालनमा आएका थिए ।
कर्णाली नदीको सत्तिघाटमा निर्मित पुलको स्पान छुट्टिदा स्थानीय पुरानै अवस्थामा फर्किएका छन् । फेरिपनि, सर्वसाधरण डुँगामा जोखिमयात्रा गर्ने बाध्यतामा पुगेका छन् ।
पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको जब्दी पुलको गुणस्तरमा स्थानीयले खोट लगाएका छन् । पप्पु कन्स्ट्रक्सनको लापरबाहीले बाढीले भत्काएको स्थानीयको आरोप छ । निर्माण कम्पनी विरुद्ध अख्तियार अनुसन्धान आयोगमा मुद्दा परेपछि जब्दी पुल अलपत्र परेको छ ।
ठेकेदार कम्पनी र सडक डिभिजन कार्यालयका तत्कालीन कर्मचारीको मिलेमतोमा स्थानीय प्रशासनको निर्देशन अटेर गर्दै पुल निर्माण गरिएको स्थानीय गुनासो गर्छन् ।