राम प्रसाद चौहान
बर्दिया, साउन ३२ / गत आर्थिक बर्षमा प्रदेश सरकारको बजेटमा कृषकको विकासको लागि कुल विनियोजित बजेट १४ करोड १६ लाख ४४ हजार बजेट थियो । किसानको लागि आएको ४ करोड भन्दा बढी बजेट फ्रिज भयो । किसानको लागि भनेर ९ करोड ५७ लाख लगानी कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयले गर्यो । तर, बिपन्न किसानको लागि प्रदेश सरकारले खर्च गरेको बजेट बालुवामा पानी हाले सरह भएको जताततै टिप्पणी भएको छ ।
कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयले खर्च गरेको बजेट पहुँचवाला व्यक्तिको लागि लगानी भएको किसानको गुनासो छ । राजनितिक आस्थामा कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयले खर्च गरेको बजेट आम किसान लाभान्वित हुन नसकेको सर्बत्र आलोचना भईरहेको छ ।
प्रदेश सरकारले आम किसानको पहुँचमा अनुदानका कार्यक्रम मार्फत निकटता बढाउँन खोजेपनि पहुँचवालाकै लागि कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयले योजना दिएको स्थानीय किसानको आरोप छ ।
यता,चालु आर्थिक वर्षमा करार खेती, शुलभ कर्जा सहजिकरण तथा ब्याजमा अनुदान, कृषिकर्मी रोजगारी, प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रम गर्ने रणनितिक योजना रहेको कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयका प्रमुख विनोद घिमिरेले जानकारी दिए । तर, कार्यालय प्रमुख घिमिरेले भने जस्तै व्यबहारमा फरक भएको लक्षित बर्गका किसानको गुनासो छ ।
कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयले कागजमा बजेट मिलाएर करौडौ रुपैया खर्चिरहेको कृषि स्मार्ट गाउँ कार्यक्रमलाई यस बर्ष निरन्तरता दिएको प्रति असन्तुष्ट भएको किसान अगुवा राम दयाल लोधले बताए ।
‘नेता देखि कार्यकर्ता पाल्नका लागि स्मार्ट गाउँको नाममा करौडौै खर्च गरेको देखाउँन पल्केको कार्यालय फेरि उपलब्धहिन कार्यक्रम दोहोराएको छ’उनले भने, ‘प्रदेश सरकारको नाममा बजेट पार्न खोलिएको कार्यालयले नेता र कार्यकर्ता पाल्न हो, नेता र कार्यकर्ताले अनुदानको कार्यक्रम हात पारेका छन्’ ।
कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयले चालु आर्थिक वर्षको कार्यक्रम तथा बजेट सार्वजनिक गरेको छ ।
चालु आर्थिक वर्ष ०७८/७९ को लागि १७ करोड ९३ लाख बजेट विनियोजन भएको छ । जसमा संघिय सरकारबाट ३ करोड ९ लाख २३ हजार र प्रदेश सरकारबाट १४ करोड ८३ लाख ७७ हजार विनियोजन भएको छ ।
गत वर्ष जिल्लाको आठ वटा पालिकामा स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन गरिएको हो । यस वर्ष मिसन कार्यक्रम अन्तर्गत बंगुर, लसुन, प्याज, मकै, दलहन, आलु उत्पादन र बिउको लागि कृषकलाई आत्म निर्भर बनाउने विषेश कार्यक्रम रहेको प्रमुख घिमिरेले दाबी गरे ।
त्यसैगरी रोड कोरिडोर/क्षेत्र विषेश कृषि विकास, कृषि तथा पशुपन्छी स्रोत केन्द्र स्थापना, कृषि बजार पूर्वाधार विकास, खोरेत रोग उन्मुलन अभियान, हरित स्वंयसेवक विकास तथा परिचालन, कोभिड विषेश मागमा आधारित कृषि/पशुपन्छी विकास र सिचित क्षेत्र लक्षित कृषि विकास जस्ता विषेश कार्यक्रम गर्ने लक्ष्य रहेको कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयका सुचना अधिकारी सन्तोष पाठकले बताए ।
गत आर्थिक वर्ष ०७७/७८ मा कृषि एकिकृत तथा पशुपन्छी विकास कार्यालयले १४ करोड १६ लाख ४४ हजार बजेट बिनियोजन गरेको थियो । जसमध्ये ९ करोड ५७ लाख खर्च गरी ६७.५६ प्रतिशत वित्तीय प्रगति हासिल गरेको कार्यालयले जनाएको छ ।