बर्दियाका तीन पालिकामा किशोरी नेतृत्वको अभियानपछि बाल विवाहमा कमी
बुधबार, बैशाख १७, २०८२ मा प्रकाशित

बार्दिया,बैशाख १७ / गुलरिया नगरपालिका, मधुवन नगरपालिका र बढैयाताल गाउँपालिकामा किशोरीहरूको सक्रियतामा सञ्चालन गरिएको जनचेतनामूलक अभियानपछि बाल विवाहका घटनामा उल्लेखनीय कमी आएको छ । बाँके युनेस्को क्लबको आयोजना र प्लान इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सञ्चालित “गल्र्स स्ट्यान्डिङ स्ट्रङ (GSS) परियोजना अन्तर्गत १४ वटा युवा क्लबहरू आवद्ध रही अभियान सञ्चालन गरिएको हो । किशोरी क्लबहरूले सडक नाटक, घर घरमा भ्रमण, र अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी बाल विवाह विरुद्ध सशक्त सन्देश प्रवाह गरेका थिए ।

कार्यक्रमको प्रभाव स्वरूप समुदायमा सकारात्मक परिवर्तन देखिन थालेको छ । धेरै अभिभावकहरू बाल विवाह नगर्ने, छोराछोरीलाई नियमित विद्यालय पठाउने, सिकाइ उपलब्धिमा साथ दिने तथा शिक्षकहरूसँग समन्वय गरी आफ्ना बालबालिकाको शैक्षिक अवस्था बुझ्ने प्रतिवद्धतामा उत्रिएका छन् ।

क्लबहरूद्वारा वार्षिक कार्ययोजना तयार गरी त्यस अनुसार नियमित बैठक तथा गतिविधिहरू सञ्चालन गरिँदै आएको छ । किशोरी क्लबहरूले स्थानीय सरकारसँग सहकार्य गर्दै कार्यक्रम सञ्चालनका लागि आवश्यक बजेटसमेत प्राप्त गरेका छन् । यसले स्थानीय तहसँगको समन्वयलाई थप मजबुत बनाएको छ ।

अभियानलाई थप प्रभावकारी बनाउन समुदायका सहजकर्ता र फिल्ड सुपरभाइजरहरूले किशोरी क्लब र अभिभावक बीच संवाद कार्यक्रम सञ्चालन गरेका थिए । अभियानले बाल अधिकार र शिक्षाको प्रवद्र्धनमा महत्वपूर्ण योगदान दिएको स्थानीय सरोकारवालाहरूको भनाइ छ ।
स्थानीय सरकारहरूले बाल विवाह मुक्त वडा घोषणाका लागि फलोअप गतिविधि सञ्चालन गर्ने तयारी गरिरहेका छन् ।

परियोजना संयोजक गोविन्द प्रसाद लमिछानेका अनुसार किशोरीहरू र अभिभावकहरूलाई प्रेरणादायी सामग्री र संवादमार्फत सशक्त बनाउने काम भइरहेकाले आगामी दिनमा अझै सकारात्मक परिणाम आउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर