बर्दिया,असार १५ / भर्खरै हामीले सप्ताहव्यापी लागु औषध विरुद्दको दिवसलाई विदाई गरेको छौ । यो अवधीमा धेरै कार्यक्रमहरु ठूला-ठूला हल, होटलहरुमा सम्पन्न भए । राज्य संचालक देखि विविध क्षेत्रका व्यक्तिहरुको उपस्थीतिले दिवसलाई उत्साह भर्ने काम भएको हुनु पर्छ । लागु औषध नियन्त्रण गर्न सभा समारोहमा अतिथिहरुबाट व्यक्त चिन्ता चासो र भविश्यमा गर्नु पर्ने कार्यहरु समेत राम्रै वेली विस्तार सुन्न पाईयो । यसले यस समस्या प्रति चासो र चिन्ता लिनेहरुका निमित्त थोरै भएपनि आशा उमारेको जस्तो लाग्दछ ।
यस्तो सोच राखी रहदा हामीले लागु औषधको जड कहाँ हो र प्रयोगकर्ता को हुन्,कहाँ भेटिन सक्छन्, तिनीहरु किन यो दुर्व्यसनीमा खुशिसाथ वा वाध्यवस गएका छन् भन्ने कुरालाई यकिन गर्न जरुरी छ जस्तो लाग्दछ । हामीले सतही रुपमा गरेका सभा समारोह, भेटिएका तालीलाई नै समाधान तर्फ उन्मुख हो भन्ने मनगढन्ते विश्वास लियौ भने यो झन दुर्गति हुनसक्छ । हामीसंगको विद्यमान समाज, सामाजिक चेत, नैतिकतामा आएको गिरावट, कानुनको बर्खिलाप, आर्थिक तथा शैक्षिक असभानता जस्ता पक्षहरुले कहि न कहि लागु औषध प्रयोगलाई स्थान दिएको छ भन्ने तथ्य पुर्वाग्रह होईन कि ? विश्लेषण गर्न जरुरी छ ।
लागु औषध नियन्त्रण भनेको प्रयोगलाई नियन्त्रण निरुत्साहन गर्ने पहिलो प्राथमिकता हुन सक्छ । यसका अलावा लागु औषधको उपलब्धता उत्पादनलाई केन्द्रमा राखी माग र आपुर्तिलाई विषेश गरेर अध्ययन विश्लेषण गर्नु जरुरी छ । लागु औषधका श्रोतहरुलाई हेर्दा हाम्रै मुलुक भित्र नै उत्पादन हुने गाँजा त्यसबाट परिकृत हुने चरेस,केहि मात्रामा अफिम र बजारमा पाईने औषधि जन्य ट्याबलेट तथा सिरफहरु नै हुन । यिनै कुरालाई अर्को तर्फ छिमेकी मित्र राष्ट्र भारत तर्फको खुल्ला सिमाका कारण तराईका सिमा नाकाबाट भित्रने खैरो हेरोईन,सेतो हेरोईन,कोकिन र अफिम जस्ता लागु औषधहरु पैदल मार्ग हुदै नेपाल भित्र प्रवेश हुने गर्दछन ।
यसका अलावा हवाई मार्गबाट पार्सल भई आउने कोकिन एम्फेटामाईन र त्यसका उत्पादन तथा युरोपमा उत्पादन हुने गाँजा समेत नेपाल भित्रने गरेको पाईन्छ । यसरी आन्तरीक र वाह्य दुवै तर्फबाट नेपाल लागु औषधको चपेटामा पर्ने गरेको छ । नियमन र नियन्त्रण गर्ने काममा नेपाल प्रहरी अहोरात्र खटिरहेको छ । तथापी खटाई अनुसारको उपलब्धी नभएतापनि ठुलो मात्रामा यी सामानहरुको बरामत र त्यसमा संलग्न ठुलो समुह कानुनको दायरामा ल्याउन सफल भैरहेको छ ।सिमित श्रोत साधनका वावजुत पनि निरन्तरको निग्रानी र खटाईले नेपाल प्रहरीलाई सफलता त दिलाएको छ, ता पनि सोचे अनुसार हुन नसक्नु स्रोत साधन कै कमि हो भन्न हिच्किचाउन पर्दैन ।
समाजको कुन पक्ष लागु औषधबाट प्रभावित छ, कुन स्थान र त्यहाँका कुन स्तरका व्यक्तिहरुको संलग्नता छ भन्ने कुरा महत्वपुर्ण हुन्छ । यि र त्यस्ता कुराहरुको सहि विश्लेषण गरि आगामी योजनाहरुको खाँका कोरिनु आवश्यक छ । लागु औषध नियन्त्रणमा क्रियाशिल मौजुदा जनशक्ति कमजोर भएर अहिलेको समस्या आएको हुदै होईन । राज्यले यो क्षेत्रलाई हेर्ने दृष्टीकोणमा परिवर्तन गरी श्रोत साधनको व्यवस्थापन गर्न जरुरी हुन्छ । हामिले देखेका समस्याहरु नितान्त हामी भित्र कै हुन ।
परिवार पहिलो पाठशाला भन्दै गर्दा अभिभावकहरुबाट भएका काम कर्तव्यहरु कति सहायक छन । एकले अर्को छिमेकीलाई हेर्ने दृष्टिकोणको मात्र होईन भाईचाराले समाजको गतिलाई निर्धारण गर्दछ । आफ्नो छोरा लागु औषधको कुलतमा फसेको थाहा हुदाहुदै छिमेकीले थाहा पाउछ कि इज्जत जान्छ कि भनि समस्या लुकाउने अभिभावक पहिलो जिम्मेवार छ । संगसंगै विद्यालयमा ९ कक्षा पढ्दै गरेको विद्यार्थी स्कुल छोडेर वोर्डरबाट लागु औषध सहित पक्राउ पर्दा स्वयं शिक्षकहरु वेखवर हुनुले समस्या कहाँ निर छ भनि खोज्न गाह्रो नहोला ।
यस्तै यातायात व्यवसाय संग सम्बन्धित चालक सहचालकहरु पनि केहि नाफाको लागि त कोही आफै प्रयोगको लागी लागु औषध ओसारपसार किनबेच तथा सेवनमा फसेका प्रसस्त उदाहरणहरु छन् । जसले गर्दा राज्यको सार्वजनिक यातायात अविश्वासको घेरामा परिसकेको छ । त्यस्तै सार्वजनिक सेवा संचालन गरिरहेका सेवामुलक एम्बुलेस सेवाहरुमा लागु औषध भेटिनुले संवेदनशिलता वढ्दो क्रममा छ भन्ने प्रष्ट हुन्छ ।
माथि उल्लेखित तथ्यहरु एकातर्फ देखिन्छन् भने अर्को तर्फ समाजमा रहेका समुदायहरु जुन सामाजीक आर्थिक तथा शैक्षिक पक्षमा कमजोर छन्, त्यस्ता समुदायमा लागु औषधको असर व्यापक रुपमा वढि रहेको छ । यो भुषको आगो जस्तै भित्र भित्र सल्कदै छ, यो भयावह स्थीति हो । त्यसमा पनि निजी क्लिनिकहरु विना डाक्टरको सिफारिस प्रतिवन्धित औषधहरु महंगो मुल्यमा वेची आफु धनि वन्न उद्दत देखिन्छन ।
यी र यस्ता अनगिन्तिसमस्याहरुका वीचमा लागुऔषधको दुर्व्यसनलाई नियन्त्रण निरुत्साहन गर्न राज्यले गहन सोचका साथ नितिहरुको तर्जुमा गरि लागु गर्न ढिलाई गर्नु हुदैन । समाजका हरेक वर्ग क्षेत्र र समुहको वृहत सहभागितालाई सचेतनामुलक कार्यक्रम मार्फत समाहित गर्न र उनिहरुलाई सहकार्य, समन्वयको माध्यम बनाई यो महान कार्यमा अभिप्रेरित गर्न जरुरी छ । तसर्थ यी कुराहरुलाई पनि ध्यानमा राख्दै ढिलाई नगरी निति निर्माता वुद्विजिवीहरुले आफू र आफ्नो क्षमतालाई संवेदनशीलताको कसि वाँधी उपलब्धी देखिने सुनिने र भेटिने गरि प्रस्तुत गराउनु आवश्यक मात्र होईन अनिवार्य सर्त भैसकेको तथ्यलाई किमार्थ भुल्न भएन ।
यसैमा मुलुकको कल्याण र हित अन्तरनिहित रहेको छ । समाधानका लागी नयाँ संस्थाहरुको स्थापना होईन कि पुरानै संरचनाहरुलाई श्रोत साधन पुर्ण वनाई उनिहरुको अनुभव र क्षमताहरुलाई भरपुर प्रयोग गर्ने वातावरण श्रृजना गरौ । समाधान त्यहिभित्रबाट निस्किन सक्छ ।