बर्दिया,साउन ४ / महिला बालबालिकाको विषय संवेदनशील विषय हो । महिलाहरु आफै पनि चुलो चौको देखि रोजगारीका क्षेत्रमा क्रियाशिल भैरहेका हुन्छन । समयलाई आफ्नो तालिका अनुरुप हिडाउनु पर्ने बाध्यता उनिहरुसंग देखिन्छ । दिनभरको थकान, मजदुरीको बाध्यता बिच उनिहरु वास्तवनै थकित हुन्छन् । तर पनि घर पुगे पछि छोरा छोरी, गाई वस्तु उनिहरुकै कर्तव्य भित्रका विषय हुन् ।
हामीले समस्या नआउञ्जेल उपाय पनि खोज्दैनौ, यो हाम्रो आदिम संस्कार हो । तर समस्या आएपछि चिन्ता, कष्ट व्यहोर्नु र रुनु भन्दा अगाडी हामी त्यस विषयमा कति गम्भिर भयौ भन्ने कुरा महत्वपूर्ण हुन्छ । समस्या आफै समाधानको पाटो हो । समस्या नआई कसैले चेतेको चाल पाएको छैन । समस्यामा रुनु समाज छिमेकलाई सम्झनु र समाधान खोज्नु सकारात्मक पाटो हो , तथापी समस्या नआउने तर्फ हामी परिवार, समाज कति मात्रामा अग्रसर छौ भन्ने विषय विचारणीय छ ।
अर्का कुरा हामी संग रहेको एउटा श्रमिक वर्ग छ, जुन दिनमा श्रीमान श्रीमती नै काममा व्यस्त हुन्छन । छोरा छोरीलाई स्कुल जाओ भनि केहि खानेकुराको जुगाड गरी काममा गएका हुन्छन । ति छोरा छोरीहरुको वाल मस्तिस्कले सोच्ने र बुझ्ने के होला ? आमा बाबुले त विहान देखि काम गरेर पैसा कमाउने रैछन, हामी पनि काम गरौ न त भन्ने मनोविज्ञान त्यहाँ प्रष्ट झल्कीन्छ । यो हाम्रो आजको सामाजिक समस्या हो ।
यहाँ निर एउटा बहुत संवेदनशील पाटो उल्लेख गर्नु जरुरी छ । दैनिक रुपमा आएका सूचनाले बालबालिका महिलाहरुको क्षेत्र निश्चय नै जोखिममा छन भन्ने कुरामा धक मान्नु पर्दैन । १२ वर्ष देखि ८४ वर्ष सम्मका बालबालिका महिला आज आत्माहत्याको सुचिमा रहनु दुखद कुरा हो । त्यसमा पनिआत्माहत्या गर्छु भन्ने सोच, तत्कालिन धारणा, निजको उमेर, उपलब्ध विषादी, डोरी लगायत अन्य वस्तुहरुको उपलब्धता भित्र हामी परिवार नै जिम्मेवार त छैनौ ?
पेसेवर बजारसंग व्यवाहर र संस्कार खोज्ने अर्थात विश्वास गर्ने हाम्रो समाज जिम्मेवार हुनु पर्दैन र ? यो सोचनीय विषय हो । यी कुराहरुमा अभिभावक र समाज सचेत हुनु पर्दैन ? यस्को कारण के हो र किन भईरहेको छ भन्ने तथ्यमा गएर हेर्न पर्छ कि पर्दैन ? प्रश्नका झटारो त्यहि समाज र परिवार माथि नै प्रहार हुनु पर्दछ ।
एउटा घरको आगनको इज्जत कलिलो मुना मृत्यूवरण गर्दै गर्दा कुन चाही अभिभावक खुशी होला ? यस बिषयमा तथ्य कारण र समाधानका लागि खोज अनुसन्धान गरी निष्कर्षका साथ कुन ठाउँ, क्षेत्र, वातावरण र सामाजिक परिवेशको विषय हो भनि समाधानार्थ लाग्नु आवश्यक छ । आवेग, संवेग, रिस, कुण्ठा, जिद्दी, आडम्वर जस्ता मानवीय गुणहरुले प्रवेश पाउदा गलत कार्य हुने गर्दछ । यस्ता कार्यमा बालबालिका देखि वृद्ध महिला सम्मको सहभागिताले समस्या झन जटिल बन्दै गईरहेको छ ।
कक्षा ७ मा पढ्दै गरेको बालिका आफुलाई आवश्यक परेको सामान नकिनिदिएको मा झुण्डिनु , मोवाईल चलाउन नपाईएकोमा रिसाएर विष खानु, नाती संग बसेकी ८४ वर्षिय हजुरआमा आफुले टेक्ने लौरो समेत माटोमा पुरेर खोलामा हामफाल्नु जस्ता प्रतिनिधी घटनाहरुले हाम्रो समाज र स्वयंपरिवारलाई ललकारी रहेको छ । अवस्था यति विकराल बन्दै गई रहेको छ कि दिनँहु जस्तो विष सेवन, झुण्डी आत्माहत्या, हामफालेर मृत्यू भन्ने समाचारहरुले पुष्टयाई गरिरहेका छन् । “बालबालिका त काचो माटो हुन” भन्ने तर्फ अभिभावकहरु सचेत र सर्तक हुन नसकेको हो कि ? अभिभावकहरु स्वयं नै दिग्भ्रमित भई आचरणमा नबसि दिदा समस्या आएको हो की ? वैज्ञानिक प्रविधीको दोष हो कि ? केलाउनु जरुरी छ ।
माथि उल्लेखित गरिएका विषयहरु साधारण छैनन् र हुँदा पनि होईनन् । सृष्टिको चक्र अनुरुप जन्माउनु पर्ने कर्तव्य कति पुरा गर्यौ भन्ने विषय महत्वपूर्ण हुन्छ । राज्य २० वर्ष पुगे पछि विवाह गर्ने कानुनी हद तोक्छ, १३ वर्ष की वालिकाले वच्चा जन्मछिन, यी दुई तादम्यता कहाँ रहयो ? जैविकता र हर्मनले दिने सत्यलाई कानुनले रोक्न सक्दैन कि ?
अझ हामीलाई संसार देखाउने वृद्धहरुका बारेमा हामी कति संवेदनशील भयौं ? सोच्न वाध्य हुनु पर्यो । हामी फलफुल, तरकारी, झार, धानमा राख्ने विषादी जस्ता कुराहरु घरमा सबैको पहुँचमा राख्यौं । हाम्रै घरको पल्लो छिमेकीले झुण्डीएर मरिन, पल्लो घरकी कान्छीले विष खाईन भन्ने यथार्थ आँखाले देख्ने बालबालिकाले आफ्नो विचारलाई त्यहि वाटोमा हिडाउनु नौलो नहोला ।
यसलाई त शैक्षिक, सामाजिक र नैतिक चेतनाबाट समाल्नु पर्ने हैन र ! हो, यसै कुरामा आज १२ वर्ष देखि ८४ वर्ष सम्मका बालबालिका वृद्ध महिलाहरुले आत्माहत्या गर्दै गर्दा परिवारका सदस्य कति संम्वेदनशील बन्यौ ? समाज कुन स्तरमा रह्यो ? राज्य कहाँ निर उभियो ? यहि नै गम्भिर विषय हो । नाफा र व्यापारको नाममा एउटी नाबालिकलाई विषादी दिनु, डोरी दिनु घरका अभिभावकले ल्याएको औषधी (विषादी) सुरक्षित र पहुँच वाहिर नराख्नु, आफ्ना छोराछोरीको गतिविधिलाई नजर अन्दाज गर्नु, अभिभावक स्वयं गैह्र जिम्मेवार हुनु पछाडिको यथार्थ चित्र यहि नै हो, आत्महत्या !!!