बर्दिया,साउन १९ / बर्दिया कारागारभित्र कुटपिटमा संलग्न चार जनामाथि मुद्दा दायर गरिएको छ । प्रहरीले चार जनालाई नियन्त्रणमा लिई कारागार ऐनअन्तर्गत मुद्दा दायर गरेको जिल्ला प्रहरी कार्यालय, सूचना अधिकारी एवं डीएसपी चक्र बहादुर डमरपालले बताए । नियन्त्रणमा लिएका चारै जना कैलालीका हुन् ।
प्रहरी स्रोतका अनुसार उनीहरु कर्तव्य ज्यान मुद्दामा पुर्पक्षका लागि बर्दिया कारागारमा थुनामा थिए । कारागारभित्र नाइके, थुनुवा र कैदीबीच शुक्रबार झडप भएको थियो । झडपमा नाइकेसहित कैदी र थुनुवा गरी १० जना घाइते भएका थिए ।
कारागार प्रमुख मानबहादुर सारु बिदामा बसेकोले वास्तविक घटनाको जानकारी बाहिर आउन सकेको छैन । घटनाबारे सूचना अधिकारी एवं निमित्त कार्यालय प्रमुख रविकुमार थारुले माथिको आदेश भएकोले थप बोल्न नमिल्ने बताए ।
कारागारमा रहेका कर्तव्य ज्यान मुद्दामा सजाय भोग्दै आएका सोहन ढकालसहित ४ जना कैदीबन्दीलाई अन्यत्र सारिएको साता नबित्दै उक्त घटना भएको हो । प्रहरीले नियन्त्रणमा लिएका सबै ढकाल निकटको भएको स्रोतको भनाइ छ । विगतमा चौकीदार, नाइके, सहनाइकेका लागि छुटै खाना टेबुलमा बसेर खाने गरेको विषयलाई लिएर कैदीबन्दीबीच विवाद भएको कारागार स्रोतले बतायो । चारदिनअघि नाइके, सहनाइके र चौकीदार चयन गरिएको थियो ।
उक्त कारागारमा महिला र पुरुषसहित ४ सय २५ जना कैदी बन्दी छन् । पुरुष कारागारको क्षमता १ सय २५ रहेको छ । महिला कैदी २८ र थुनुवा २० गरी ४८ जना रहेका छन् । पुरुष कैदीबन्दी ३ सय ७७ जना रहेको कारागार प्रशासनले जनाएको छ । स्रोत ईकान्तिपुर