मान्छे मार्ने बाघको बारेमा गहिरो अनुसन्धान र नियन्त्रणमा लिए मात्र सर्वसाधरण ज्यान जोगाउँन सकिने बिज्ञ बताउँछन् । करिडोर क्षेत्रमा बाघको आक्रमणबाट ५ जनाको ज्यान जादा पनि सर्वसाधरणलाई बाघ आफ्नो बासस्थान फर्केको बताएर चुुप लागेर बस्नु वन डिभिजन कार्यालय, बर्दियाको निस्क्रियताको परकाष्ठा भएको स्थानीय बताउँछन् ।
फरकसमाचार
बर्दिया, पुस २० / तीन महिना भित्र बाघको आक्रमणबाट ८ जना मानिसको ज्यान गयो । भारत र नेपालको जैविकमार्ग खातासँग जोडिएका भग्रैया र धनौरामा ५ जनाको बाघको आक्रमणबाट ज्यान गईसकेको छ । ती मध्य दुई जना बालक थिए । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र भित्र पर्ने गेरुवा गाउँपालिकाको दुई गाउँबाट तीन जनाको गरी ८ जनाको बाघको आक्रमणबाट ज्यान गएको हो ।
शुक्रवार पूर्व पश्चिम राजमार्गमा निस्केको बाघले कोहलपुरबाट उपचार गराएर फर्किरहेको अवस्थामा मोटरसाईकलबाट झम्टेर मोटरसाईकलमा सवार नन्दकला थापाको ज्यान लियो । पछिल्लो समय बाघले दिनहु घटना घटाएपनि सम्बन्धित निकायको उदासिनताले निकुञ्ज र करिडोर क्षेत्र आसपास सर्वसाधरणले असुरक्षित महशुश गरिरहेका छन् । खाता करिडोर क्षेत्रमा आक्रमण गरिरहेको बाघको अवस्था वन डिभिजन कार्यालयले पत्ता लगाउँन सकेको छैन ।
पाँच जना मान्छे खाने बाघ आफ्नो वासस्थान तर्फ फर्किएको डिभिजन वन प्रमुख महेन्द्रराज वाग्लेले दाबी गर्छन । ‘केहि कारण करिडोर क्षेत्रमा बाघ आए होला’ उनी भन्छन्,‘अहिले बाघ आफ्नो वासस्थान तर्फ फर्किसकेको छ, महिनौ दिन क्यामरामा बाघको तस्बिर कैद भएन ।’
प्राबिधिक टोली बाघ नियन्त्रणमा लिन खटिएपनि बाघ करिडोर क्षेत्रमा नरहेको वाग्लेको भनाई छ । यस अघि गेरुवा गाउँपालिकामा मान्छे मारेको आंशका निकुञ्जको टोलीले एउटा बाघ नियन्त्रणमा लिएको छ । उक्त बाघ पनि घटनास्थलमा नियमित देखिएपछि बाघ नियन्त्रणमा लिएको प्रमुख संरक्षण अधिकृत विष्णु प्रसाद श्रेष्ठले जानकारी दिए ।
स्रोतका अनुसार मान्छे खाने आंशका नियन्त्रणमा लिएको बाघ निकुञ्ज प्रशासनले कैदमा राखेको छ । तर, करिडोर र निकुञ्जको राजमार्ग र गेरुवा गाउँपालिकामा आक्रमण गर्ने बाघ एउटै हो कि भन्ने स्थानीयको अनुमान छ । बाघले एक पटक मान्छेको मासु खायो भने मान्छेलाई मात्र आक्रमण गर्ने प्रबृतिलाई दोहाराउँने आदत हुने बिज्ञ बताउँछन् ।
धमाधम बाघले मान्छे खादा पनि सम्बन्धित निकायको उदासिनता माथी सर्वसाधरणले प्रश्न चिन्ह खडा गरेका छन् । निकुञ्जले नियन्त्रणमा लिएको बाघ पनि मान्छे खाने हो वा होईन एकिन हुन सकेको छैन । तर,जताततै बाघ आक्रमण बढिरहेको छ । घरमा पालेका पशु चौपायमा पनि बाघ आक्रमण तिब्रता दिईरहेको छ ।
नेपाल भारतको संरक्षित वनबाट निस्केको बाघले भगतपुर, पहाडीपुर, लालपुरमा किसानले पालेको दर्जन बढी बाघ आक्रमण गरिसकेको छ । बर्दिया निकुञ्ज, जैविक मार्ग र भारतको संरक्षित वनसँग जिल्लाको अधिकांश ग्रामिण क्षेत्रसँग जोडिएको छ । निकुन्जमा एक सयको हाराहारीमा बाघ रहेको निकुन्जका कर्मचारीको अनुमान छ । अघिल्लो बाघ गणनमा वयस्क बाघ ८७ वटा रहेको सार्वजनिक भएको थियो । बाघको टेरोटोरी अभाव, शिकार अभाव, आफै आफैमा लडेर घाईते बाघ मान्छे आक्रमण गर्ने बिज्ञ बताउँछन् । निकुञ्जमा बाघको संख्या बढ्दा गाउँ र वस्तीमा गएर आक्रमण गर्ने गरेको निकुञ्ज कर्मचारी बताउँछन् ।
बाघ बस्ने टेरोटरी निकुञ्जमा अभाव भएका कारण झगडा गरेर बाहिर निस्केका बाघबाट सर्वसाधरण आक्रमण परिरहेका छन् । सम्बन्धित निकायले बाघको संख्याको अध्ययन गरी संरक्षित वन्यजन्तु बाघ कति वटा रहन सक्ने र के कति कारण मानिस बाघको शिकार भईरहेको बारेमा अध्ययन गर्न सके मात्र मानव र वन्यजन्तु घट्ने बिज्ञको भनाई छ । यद्धपि मानव र वन्यजन्तु विच द्वन्द्व बढ्दा दुबै पक्षलाई नोक्सानी व्याहोर्न पर्ने हुन्छ ।