बर्दिया, फागुन १० / बाँके प्रहरीले चितुवाको छालासहित ३ जनालाई सोमबार साँझ पक्राउ गरेको छ । पक्राउ पर्नेमा सल्यान बाघचौर नगरपालिका–३ का ३१ वर्षीय जीतबहादुर डिसी, कुमाख गाउँपालिका–७ का २१ वर्षीय कमल डिसी र सोही ठाउँका २४ वर्षीय हिमेन्द्र वली छन् ।
उनीहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले राप्तीसोनारी गाँउपालिका –१ कुसुमबाट पक्राउ गरिएकोे प्रहरीले जनाएको छ । उनीहरुबाट दुई थान चितुवाको छाला प्रहरीले बरामद गरेको छ ।
जीतबहादुर बन्यजन्तुका छाला र अंग खरिद विक्री कारोबारी रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । बरामद छाला जीतबहादुरले दुई वर्ष पहिले आफैले पासो थापेर मारेको चितुवाको रहेको प्रहरीले जनाएको छ ।
डिसीले चितुवाको छालाको फोटो खिचेर मोवाइलमा राखेको दिपक रावतले देखेपछि उनैको सल्लाहमा छाला विक्री गर्न नेपालगंज ल्याउँदै गरेको अवस्थामा प्रहरीले बरामद गरेको जनाएको छ । उक्त छाला नेपालगंजमा ४० लाखदेखि ६० लाख सम्ममा विक्री गर्ने योजना रहेको खुलेको प्रहरीले जनाएको छ ।
यसबारे थप अनुसन्धान भइरहेको बाँके प्रहरीले जनाएको छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (२) बमोजिमको एक लाखदेखि २५ लाख सम्म जरिवाना र एक वर्षदेखि १० वर्ष सम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ ।