बाँसगढीका विद्यालयमा अतिरिक्त शुल्क !
मङ्गलबार, असोज ०८, २०८१ मा प्रकाशित

बर्दिया,असोज ८(फरकसमाचार)/बाँसगढी नगरपालिका अन्र्तगतका सामुदायिक माध्यमिक विद्यालयले अतिरिक्त कक्षाको नाममा शुल्क उठाउने निर्णय बारे चर्को बिरोध भएको छ । बाँसगढी नगरपालिकाको सहमतिमा विद्यालयले अतिरिक्त शुल्क उठाउने निर्णय बारे जताततै विरोध भएको हो । विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने निर्णय खारेजीको माग गर्दै अघिल्ला साता देखि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) बिरोधमा उत्रिएको छ । बाँसगढी नगरभित्र रहेका १४ वटा सामुदायिक माध्यमिक विद्यालयले विद्यार्थीबाट अतिरिक्त कक्षाको नाममा शुल्क उठाउने निर्णय गरे लगत्तै बिरोध सुरु भएको छ ।

जिल्ला स्थित अन्य पालिकाले कक्षा १२ सम्म निशुल्क शिक्षा दिने व्यवस्था गरिरहेको अवस्थामा बाँसगढी नगरपालिकाले विद्यार्थीबाट अतिरिक्त शुल्क उठाउने निर्णयमा सहमति जनाउँदा बाँसगढी नगरपालिकाको चौतर्फी आलोचना भईरहेको छ ।

बाँसगढी नगरपालिकोको इसरामा नगरभित्र रहेका १४ वटा माविमा अतिरिक्त कक्षाको नाममा शुल्क उठाउने निर्णयले विद्यार्थी र अभिभावक पिडित हुने भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) जिल्ला समिति बर्दियाले बिरोध गरेको छ ।

सरकारी विद्यालयले अतिरिक्त शुल्क उठाउने निर्णय खारेज गर्न माग गर्दै गत भाद्र १८ गते पालिकाभित्रका १३ माविमा कक्षा १० मा अध्ययनरत विद्यार्थीले हस्ताक्षर गरि पालिकामा ७२ घण्टे अल्टिमेटम ज्ञापन पत्र समेत बुझाएका थिए । अतिरिक्त शुल्ककै विरोधमा भाद्र २४ गते बाँसगढी नगरपालिका शिक्षा शाखामा नेरास्व विद्यार्थी युनियनले तालाबन्दी गरेको थियो । विद्यार्थी संगठनको जायज मागलाई बाँसगढी नगरपालिकाले बेवास्त गर्दै ताला खोलिएको विषय दुःखद रहेको नेकपा (बहुमत)पार्टी बर्दियाका ईन्चार्ज विष्णु परियारले बताए ।

बाँसगढी नगरपालिकाका सामुदायिक माविले अतिरिक्त शुल्क उठाउने निर्णय गरेको विषय विद्यार्थी संगठनले ध्यानाकर्षण गराएको शिक्षा विकास तथा समन्वय इकाई बर्दियाका प्रमुख सुर्य बहादु खत्रीले बताए । ‘सामुदायिक विद्यालयले अतिरिक्त शुल्क उठाउने व्यवस्था छैन,’प्रमुख खत्रीले भने,‘विद्यार्थी संगठनले उठाएको कुरा यदि हो भने त्यस्तो नगर्ने गरि सोमबार बाँसगढी नगरपालिका शिक्षा शाखालाई पत्राचार गरेको छु ।’उक्त शाखाले मातहतका विद्यालयलाई त्यहि अनुसार पत्र सर्कुलर गर्ने प्रमुख खत्रीले जानकारी दिए ।

अतिरिक्त शुल्कको बिरोध गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले शिक्षा शाखामा तालाबन्दी गरेको आफुलाई थाहा नभएको बाँसगढी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नोखिराम ओलीले बताए । पालिकामा यस्तो केही नभएको दावी गर्दै आफु बाहिर रहेको प्रमुख प्रशासकीय अधिकृत ओलीले जानकारी दिए ।

जबकी अतिरिक्त शुल्कको बिरोध गर्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले शिक्षा शाखामा लगाएको ताला ३ दिनपछि प्रहरीले फोडेको बाँसगढी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख छत्र बहादुर शाहीले बताएका छन् । सामुदायिक माविले अतिरिक्त शुल्क उठाउने निर्णय गरेको शिक्षा शाखाका प्रमुख शाहीले स्विकार गरे । बाँसगढी नगरपालिकाको एसइइको नतिजा नाजुक आएकोले अभिभावक, विद्यालय व्यवस्थापन समितिसंगको छलफलले अतिरिक्त शुल्क उठाउने निर्णय गरेको हो ।

अतिरिक्त कक्षा संचालन गर्दा शिक्षकलाई खाजा नास्ता र शुल्क दिनेगरि त्यस्तो निर्णय भएको हो । अभिभावकको सहमतिमा विद्यालय व्यवस्थापन समितिले निर्णय गरेको शिक्षा शाखा प्रमुख शाहीले सुनाए । उठाएको अतिरिक्त शुल्कबाट शिक्षकलाई एक विषयको मासिक रु ५ हजार दिने गरि पालिकाले एक रुपतामा सहजीकरण गरेको जनाए । बिरोध भएपछि ५ सदस्य छानबिन समिति बनाईएको छ । दुई तिन विद्यालयमा गएर अतिरिक्त शुल्क कति उठाईएको विषयमा छानबिन भईरहेको छ । ५ दिनपछि उक्त समितिले प्रतिवेदन बुझाउने र छिट्टै विवाद टुङ्गो लगाउने बाँसगढीका शिक्षा शाखा प्रमुख शाहीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय