बर्दिया,असोज ३०/भारतीय वन रक्षकले चलाएको गोली लागेर चार नेपाली घाईते भएको घटनाको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन भएको छ । जिल्ला सुरक्षा समितिले पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो । सशस्त्र प्रहरीका डिएसपीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन भएको छ । समितिमा नेपाल प्रहरीका इन्स्पेक्टर, अनुसन्धान र प्रशासनका अधिकारी रहेको जनाईएको छ ।
आइतबार साँझ भारतीय मुर्तिहा जंगलका वन रक्षकले प्रहार गरेको गोली लागेर चार नेपाली घाइते भएका थिए । गुलरिया नगरपालिका–८ आशापुरका बलराम लोध, राजेन्द्र पासी, रामा लोध र गोलु लोध घाईते भएका थिए । चार जना मध्ये गम्भिर घाईते भएका बलराम लोधको बर्दिया अस्पतालमा उपचार सम्भव नभएपछि आइतबार साँझ नै कोहलपुर स्थित शिक्षण अस्पतालमा लगिएको थियो । दाईको पछाडि कुमलगायत भागमा १६ ठाउँमा छर्रा लागेको भाई रामेश लोधले बताए । उपचारपछि सोमबार साँझ दाईलाई घर ल्याएको उनले जनाए । त्यसैगरि अन्य तीन जनाको शरीरको विभिन्न भागमा छर्रा लागेको छ ।
गत असार १ गते भारतीय वन रक्षकले नियन्त्रणमा लिएर दुई दिन बेपत्ता पारेर खुट्टा भाँचिएको अवस्थामा गुलरिया नगरपालिका–८ का खगेन्द्र सुनार भेटिएका थिए । उनी अझै उपचारकै क्रममा छन् । त्यसैगरि २०७९ साल असार १६ गते भारतीय जंगल मुर्तिहा निउँरो टिप्न गएको बेला वन रक्षकले चलाएको गोली लागेर गुलरिया नगरपालिका–३ बनकट्टीका ५४ वर्षिय हेमराज गोडियाको मृत्यु भएको थियो ।
घटना घटे लगत्तै फराकिलो अनुसन्धानको लागि छानबिन समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जनाईन् ।
भारतीय वन रक्षकले चलाएको गोलीको विषयमा छानबिन समितिले घाईतेहरुसंग प्रारम्भिक सोधपुछ गरिरहेको प्रहरी स्रोतले जनाएको छ । समितिले उक्त घटनाको बुधबारसम्म टुङ्गो लगाउने तयारी रहेको प्रहरी स्रोतले जनाएको छ । स्रोत नागरिकन्युज