बर्दिया,साउन ५(फरकसमाचार) / विभिन्न कसुरमा फरार रहेका २ सय ८० जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । आर्थिक वर्ष ०८१/०८२ मा फरार रहेका २ सय ८० जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयद्वारा आइतबार आयोजित पत्रकार भेटघाटमा प्रहरीले गरेको समग्र कार्यको वार्षिक प्रगति विवतरण सार्वजनिक गरिएको छ ।
पक्राउ परेका २ सय ८० जना फरार प्रतिवादीबाट २ सय १ वर्ष ९ महिना १६ दिन कैद सजाय असुल उपर गरिएको एसपी केदार खनालले बताए । ‘त्यसैगरि रु २ करोड ९ लाख २० हजार ५ सय ३९ जरिवाना असुल उपर गरिएको छ,’एसपी खनालले भने,‘२० वर्षपछि ५ जना, १५ वर्षपछि १८ जना, १० वर्षपछि २० जना, ५ वर्षपछि २४ जना र ५ वर्ष भन्दा कम अवधिबाट फरार रहेका २ सय १३ जना पक्राउ परेका हुन् ।’ प्रहरीमा घरेलु हिंसाका २ सय ५० उजुरी दर्ता भएकोमा सबै सहमति गरि पठाईएको एसपी खनालको दावी छ ।
एक वर्षमा ट्राफिक नियम उल्लंघन गर्ने १२ हजार ३ सय २५ सवारी साधनलाई ट्राफिक प्रहरीले कारवाही गरि ९३ लाख ६७ हजार ५ सय १ राजस्व संकलन गरेको छ भने अबैध सामान ओसार पसारमा प्रयोग गरिएका सवारीसाधन नियन्त्रणमा लिई रु १ करोड ४९ लाख ६२ हजार ८७ राजस्व संकलन गरेको रेकर्ड छ । त्यसैगरि एक वर्षमा लागु औषध सहित २ सय १६ जनालाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरीको तथ्यांकले पुष्टि गर्छ ।