नेपालको वर्तमान राजनीतिक अवस्था केवल समस्याहरूको चक्रव्यूह मात्र होइन, बरु यो दशकौदेखि सत्तामा रहेका परम्परागत राजनीतिक दलहरूले सिर्जना गरेको अक्षम र भ्रष्ट शासनको प्रत्यक्ष परिणाम हो। वर्षौदेखिको राजनीतिक अस्थिरता, अनियन्त्रित भ्रष्टाचार र कमजोर सुशासनको कारण नेपाली समाजको हरेक क्षेत्रमा गहिरो निराशा छाएको छ। यो निराशालाई सम्बोधन गर्न र देशलाई सही बाटोमा ल्याउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले कसरी अगाडि बढ्नुपर्छ भन्ने सन्दर्भमा यो विस्तृत लेख तयार पारिएको छ। यो लेखले पुराना दलहरूको असफलता, जनताको अपेक्षा र रास्वपाले अपनाउनुपर्ने रणनीतिको बारेमा गहिरो विश्लेषण गर्नेछ, किनकि रास्वपा नै अहिलेको राष्ट्रिय आवश्यकता र एकमात्र भरपर्दो विकल्प हो।
राजनीतिमा देखिएको क्षयीकरणले गर्दा जनतामा व्यवस्थाप्रति नै वितृष्णा पैदा भएको छ। पुरानो राजनीतिक नेतृत्वले पटक-पटक सत्ताको खेलमा मात्र ध्यान दिदा नागरिकले आफ्नो जीवनस्तरमा कुनै सुधारको अनुभव गर्न सकेका छैनन्। शिक्षा, स्वास्थ्य, रोजगार जस्ता आधारभूत आवश्यकताहरू पूरा हुन सकेका छैनन् र युवा पुस्ता भविष्यको खोजीमा विदेश पलायन भइरहेको छ। यो अवस्थाले देशको भविष्यमाथि नै प्रश्नचिह्न खडा गरेको छ। रास्वपा जस्तो नयाँ शक्तिको उदय यसै निराशा र परिवर्तनको चाहनाको उपज हो। तर, यो आशालाई कायम राख्न रास्वपाले निकै बुद्धिमानी र दूरदर्शी ढंगले काम गर्नुपर्ने चुनौती छ, किनकि पुराना दलहरू रास्वपालाई असफल बनाउन कुनै कसर बाँकी राख्ने छैनन्।
राजनीतिक रोगको जरो: अक्षमता र दण्डहीनता
नेपालमा अहिले राजनीतिक समस्या कुनै एउटै कारणले उत्पन्न भएको छैन, बरु यो वर्षौदेखि सत्तामा रहेका परम्परागत दलहरूको सत्तालोलुपता र गैरजिम्मेवारपनको परिणाम हो। देशमा बारम्बार सरकार परिवर्तन हुने प्रवृत्तिले कुनै पनि दीर्घकालीन योजनाहरूले पूर्णता पाउन सकेका छैनन्। राजनीतिक दलहरू आफ्नो स्वार्थ र सत्ताको खेलमा यति धेरै लिप्त छन् कि उनीहरूले जनताका वास्तविक समस्याहरूलाई पूरै उपेक्षा गरेका छन्। यसले गर्दा देशको आर्थिक र सामाजिक विकासमा गम्भीर असर परेको छ। राजनीतिक अस्थिरताले विदेशी लगानी आकर्षित गर्न सकेको छैन र युवाहरू रोजगारीको खोजीमा विदेश पलायन हुन बाध्य छन्। यो समस्याको मूल जरो भ्रष्टाचार र जवाफदेहीताको अभावमा रहेको छ।
पुराना दलका राजनीतिक पदमा रहेका व्यक्तिहरूले सार्वजनिक सम्पत्तिको दुरुपयोग गर्दै आफ्नो व्यक्तिगत सम्पत्ति बढाउने काम गरिरहेका छन्। उनीहरूका यस्ता क्रियाकलापले जनताको सरकार र राजनीतिक व्यवस्थाप्रतिको विश्वास घटाएको छ। जब कानुनको शासन कमजोर हुन्छ र दण्डहीनता बढ्छ, तब समाजमा अराजकता फैलिन्छ। नेताहरूले आफ्ना मान्छेलाई पद दिने र गलत कामको बचाउ गर्ने प्रवृत्तिले गर्दा योग्य व्यक्तिहरू पछि परेका छन् र राष्ट्रिय विकासको गति सुस्त भएको छ। यसको अर्को महत्वपूर्ण पक्ष भनेको राजनीतिक ध्रुवीकरण हो। प्रमुख दलहरूबीच कुनै पनि राष्ट्रिय मुद्दामा सहमति जुट्न गाह्रो छ, किनकि उनीहरू आ-आफ्नो विचारधारा र स्वार्थको घेरामा सीमित छन्। यस्तो अवस्थामा नयाँ दलहरूले परिवर्तनको आशा जगाउनु स्वाभाविक हो, तर उनीहरूले पनि पुरानै गल्ती दोहोऱ्याए भने जनताको निराशा झनै बढ्न सक्छ।
नेतृत्वको रोग: सिद्धान्तहीनता र अवसरवाद
नेपालका राजनीतिक दलका नेता र कार्यकर्ताहरूमा देखिएका कमजोरीहरूले नै देशको राजनीतिको गुणस्तर खस्काएको छ। पुरानो राजनीतिक नेतृत्वमा सत्तामुखी राजनीति हावी छ, जहाँ सिद्धान्त र विचारभन्दा बढी व्यक्तिगत स्वार्थ र सत्ताप्राप्तिको खेलमा नेताहरू लागेका छन्। पुरानो पुस्ताका नेताहरूले युवा नेतृत्वलाई अवसर नदिएर वर्षौँदेखि पदमा टासिरहदा नयाँ सोच र ऊर्जा आउन सकेको छैन। यसको प्रत्यक्ष असर कार्यकर्ता तहमा पनि परेको छ।
धेरैजसो कार्यकर्ताहरू निष्ठा र सिद्धान्तले भन्दा पनि व्यक्तिगत लाभका लागि राजनीतिमा लागेका छन्। चाकडी प्रवृत्ति यति हावी भएको छ कि योग्य र इमान्दार व्यक्तिहरूलाई भन्दा नेताको नजिक रहेका व्यक्तिहरूले पद र अवसर पाउँछन्। यस्ता कार्यकर्ताहरूले देशको आर्थिक, सामाजिक र राजनीतिक अवस्थाबारे गहिरो अध्ययन र विश्लेषण गर्नेभन्दा केवल नेताको कुरा पछ्याउने गरेका छन्। यो प्रवृत्तिले दलभित्र आन्तरिक लोकतन्त्र कमजोर बनाएको छ, जसले गर्दा शीर्ष नेताको निर्णयलाई नै अन्तिम मान्नुपर्ने बाध्यता सिर्जना भएको छ। यसका कारण दलहरूका नीति र कार्यक्रमहरू पनि स्पष्ट हुन सकेका छैनन् र चुनावमा गरिएका प्रतिबद्धताहरू कमजोर बनेका छन्।
जनताको अपेक्षा: इमान्दार र सक्षम नेतृत्व
नेपालका जनता अहिलेको राजनीतिक अवस्थाबाट आजित भएका छन् र उनीहरूले ठूलो परिवर्तनको आशा गरेका छन्। अब जनतालाई केवल वाचा गर्ने र सपना देखाउने नेता होइन, बरु इमान्दार, नैतिकवान र सक्षम नेतृत्व चाहिएको छ। जनताले आफ्नो व्यक्तिगत स्वार्थभन्दा माथि देश र जनताको हित राख्ने दल र नेतालाई खोजिरहेका छन्। उनीहरू यस्तो नेतृत्व चाहन्छन् जसले देशलाई विकासको सही बाटोमा लैजान सक्छ। जनताले चाहेको दल पारदर्शी र जवाफदेही हुनुपर्छ। दलको आन्तरिक काम, आर्थिक कारोबार र निर्णय प्रक्रिया पारदर्शी हुनुपर्छ र भ्रष्टाचार तथा अनियमिततामा संलग्न व्यक्तिलाई कारबाही गर्ने साहस हुनुपर्छ। यसबाहेक, समावेशी र लोकतान्त्रिक दलको आवश्यकता छ। सबै वर्ग, क्षेत्र र समुदायलाई प्रतिनिधित्व गराउने र दलभित्र आन्तरिक लोकतन्त्रको अभ्यास गर्ने दललाई जनताले रुचाउँछन्। युवा र महिलालाई निर्णायक पदमा पुर्याउने र विकासमुखी दृष्टिकोण राख्ने नेता जनताको प्राथमिकतामा परेका छन्। जनता अब पुराना ढर्राको राजनीति गर्ने भन्दा पनि नयाँ सोच र ऊर्जा भएका युवा नेताहरूलाई हेर्न चाहन्छन्, जसले देशलाई नयाँ दिशा दिन सक्छन् भन्ने आशा उनीहरूमा छ।
रास्वपाको बाटो: पारदर्शिता र सक्षम नेतृत्व
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफूलाई पुराना दलहरू भन्दा फरक प्रमाणित गर्नका लागि केही महत्वपूर्ण रणनीतिहरू अपनाउनुपर्ने देखिन्छ। पार्टीले सबैभन्दा पहिला संगठन विस्तारमा सावधानी अपनाउनुपर्छ। जो पायो त्यही व्यक्तिलाई हतारमा पार्टीमा प्रवेश गराउनु हुदैन। विशेषगरी, उनीहरूको पृष्ठभूमि राम्रोसँग नबुझी पद दिनु हुदैन। यसले पार्टीले परिकल्पना गरेको स्वच्छ छवि र विश्वासमा आँच पुर्याउन सक्छ।
पार्टीले पारदर्शिता र जवाफदेहिता लाई आफ्नो मुख्य सिद्धान्त बनाउनुपर्छ। रास्वपाका नेता र कार्यकर्ताको सम्पत्ति विवरण सार्वजनिक गर्ने, पार्टीको आर्थिक कारोबारलाई पारदर्शी बनाउने र कुनै पनि अनियमितताको आरोप लागेका व्यक्तिलाई तत्काल छानबिनको दायरामा ल्याउने नीति अपनाउनुपर्छ। यस्ता कदमहरूले जनताको विश्वास जित्न मद्दत गर्नेछ। यसका साथै, रास्वपाले पार्टीभित्र आन्तरिक लोकतन्त्र लाई मजबुत बनाउनुपर्छ। निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्ने र फरक मतलाई सम्मान गर्ने वातावरण सिर्जना गर्नुपर्छ। यसले पार्टीलाई अझ बलियो र विश्वसनीय बनाउनेछ।
एक सफल नेता हुनका लागि केवल इच्छा र चाहना मात्र पर्याप्त हुदैन। रास्वपाको नेतृत्वका लागि अगाडि बढ्न चाहने व्यक्तिहरूमा केही विशेष योग्यता र गुणहरू आवश्यक छन्। उनीहरू आफू कुन तहको (वडा, नगर, निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश वा केन्द्र) नेता बन्दैछन्, त्यसको भूगोल र समस्याहरू राम्रोसँग बुझेका हुनुपर्छ। समस्या पहिचान मात्र होइन, त्यसको बौद्धिक र दिगो समाधानका उपायहरू पनि प्रस्तुत गर्न सक्नुपर्छ। नेताले आफ्नो क्षेत्रको आर्थिक समृद्धि, रोजगारी सिर्जना, पर्यटन विकास, पूर्वाधार, शिक्षा, स्वास्थ्य, कृषि, साना र मझौला उद्योग, सुरक्षा र वातावरण लगायत सबै क्षेत्रमा स्पष्ट दृष्टिकोण राख्नुपर्छ र हरेक विकासका कार्यहरूमा अग्रणी भूमिका खेल्न सक्ने हुनुपर्छ। केवल भाषण दिएर मात्र होइन, काम गरेर देखाउन सक्ने व्यक्ति नै जनताको भरोसा जित्न सफल हुन्छ।
नयाँ चुनौती: घुसपैठको खतरा
अहिले रास्वपाप्रति जनतामा बढिरहेको क्रेज र समर्थनलाई पुराना राजनीतिक दलहरूले घुसपैठ गराएर कमजोर बनाउन सक्ने खतरा छ। पुराना दलका नेता तथा कार्यकर्ताहरूले आफ्नो स्वार्थ पूरा गर्न वा पार्टीलाई बदनाम गराउनका लागि रास्वपामा प्रवेश गर्न सक्छन्। उनीहरूले पार्टीमा आन्तरिक विवाद गराउने, गलत सूचना फैलाउने वा नैतिकहीन काम गरेर रास्वपाको छविलाई धुमिल्याउने प्रयास गर्न सक्छन्। यसप्रति रास्वपा सचेत हुनुपर्छ। यस खतराबाट बच्नका लागि रास्वपाले हरेक नयाँ सदस्यको पृष्ठभूमि र नियत राम्रोसँग बुझेर मात्रै अगाडि बढ्नुपर्छ। विशेष गरी, पदाधिकारीको रूपमा कसैलाई जिम्मेवारी दिनुअघि उनीहरूको विगतको राजनीतिक संलग्नता र व्यक्तिगत चरित्रको बारेमा गहिरो अध्ययन गर्नुपर्छ। यसका साथै, पार्टीले आफ्ना कार्यकर्ताहरूलाई राजनीतिक नैतिकता र सिद्धान्तबारे नियमित रूपमा प्रशिक्षित गर्नुपर्छ। यसले पार्टीलाई थप सुदृढ बनाउनुका साथै बाहिरी घुसपैठबाट जोगिन मद्दत गर्नेछ। रास्वपाले आफ्नो साख जोगाउन र जनताको विश्वास कायम राख्नका लागि यस्तो सचेतता र पारदर्शिता अनिवार्य छ भन्ने कुरालाई कहिल्यै बिर्सनु हुँदैन।
निष्कर्ष: जनताको भरोसा र रास्वपाको दायित्व
राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको भरोसा जित्न, नेपालको राजनीतिक भविष्यलाई नयाँ दिशा दिन र पार्टीको सफलताका लागि त्यसको नेतृत्व र कार्यकर्ताहरूको इमान्दारिता, समर्पण र निष्ठामा निर्भर गर्दछ। यदि रास्वपाले आफ्ना वाचा र सिद्धान्तमा अडिग रही संगठनमा शुद्धता कायम राख्न सक्यो भने मात्रै यसले नेपालको राजनीतिमा स्थायी परिवर्तन ल्याउन सक्नेछ। जनताले दिएको यो अवसरलाई सदुपयोग गर्दै देशलाई सुशासन, पारदर्शिता र विकासको बाटोमा डोऱ्याउनु रास्वपाको प्रमुख चुनौती र जिम्मेवारी दुवै हो। अन्यथा, यो पनि पुरानै दलहरूको भीडमा हराउने जोखिम रहन्छ, जसले गर्दा जनताको आशामाथि अर्को कुठाराघात हुनेछ। रास्वपाले आफ्नो राजनीतिक यात्रालाई केवल चुनाव जित्ने खेलका रूपमा नभई देश र जनताको सेवा गर्ने पवित्र अभियानका रूपमा लिनुपर्दछ।