बर्दिया,कार्तिक १७ (फरकसमाचार) / ५५ दिन देखि बेपत्ता रहेका गुलरियाका एक युवकको अवस्था अझै अज्ञात रहेको छ । गुलरिया नगरपालिका–९ रामनगरका अन्दाजी २०/२२ का मुकेश लोनिया गत भदौ २४ गते बेपत्ता भएका थिए । पारिवारिक स्रोतका अनुसार साँझ खान खाएर गाउँतिर डुल्न निस्केका मुकेश एक्कासी हराएका थिए ।
मुकेश बेपत्ता भएको लामो समय बितिसक्दा पनि अत्तोपत्तो नलाग्दा परिवारमा शंका र चिन्ता दुवै थपिएको छ । बेपत्ता छोराको चिन्ताले आमाको बेहाल छ । यस्तै सिङ्गो परिवार चिन्तामा डुबेको छ ।
घर छोडेर कही कतै नजाने भाई एक्कासी बेपत्ता हुँदा साह्रै दुःखी भएको दाजु राजु लोनियाले बताए । ‘आफन्तलगायत जान सक्ने सबै सम्भावित ठाउँमा खोज्दासमेत भाईको पत्ता लागेको छैन,’उनले भने,‘खोजीको लागि मथुरा प्रहरी चौकीमा समेत निवेदन दिएको थिएँ,तर,हाल सम्म कही पत्ता लागेको छैन ।’

