बृहत रक्तदानमा ९४ जनाले गरे रक्तदान
बिहिबार, कार्तिक २१, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक २० / ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख तिलकराम लम्सालसहित ९४ जनाले रक्तदान गरेका छन् । ठाकुरबाबा नगरपालिकाले मंगलबार आयोजना गरेको १६औं बृहत् रक्तदान कार्यक्रममा नगर प्रमुख लम्सालसहित ९४ जनाले रक्तदान गरेका हुन् ।

सुत्केरी, सिकलसेल, थालसेमिया, रक्तअल्पता र दुर्घटनामा परेका बिरामीलाई तत्काल रगत चाहिन्छ । यदि समयमा रगत पाइएन भने बिरामीको अकालमै ज्यान जाने खतरा हुन्छ ।

रगतको अभावमा कोही बिरामीले अकालमै ज्यान गुमाउन नपरोस् उद्देश्यले पालिकाले आफ्नो नियमित कार्यक्रममा राखेर प्रत्येक तीन महिनामा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने गरेको ठाकुरबाबा नगरपालिकाकी नगर उपप्रमुख बिनाकुमारी भट्टराईले बताइन् । ‘जिल्लामा विशेषगरी थारु समुदायको बाहुल्यता छ, यहाँ सिकलसेल थालसेमियाका बिरामीहरु हुनुहुन्छ र उहाँहरुलाई अत्यधिक रगत चढाउनुपर्ने हुन्छ,’ उपप्रमुख भट्टराईले भनिन्, ‘संकलन गरिएको रगत गुलरिया, नेपालगंज र कोहलपुर रगत बैंकमा पठाइन्छ र अस्पतालमा उपचाररत बिरामीलाई रगत आवश्यक परेमा तत्काल निःशुल्क रुपमा उपलब्ध गराइन्छ ।’

ठाकुरबाबा–२ रानीपुर कभर्ड हलस्थित भएको रक्तदानमा नगर प्रमुख लम्साल, उपप्रमुख भट्टराईलगायत ९४ जनाले एक/एक पिन्ट रक्तदान गरेका छन् । १३ महिला र ८१ जना पुरुषले रक्तदान गरेको नेपाल स्वयंसेवी रक्तदान समाज ठाकुरबाबा नगर समिति अध्यक्ष छविलाल लम्सालले जनाए ।

नेपाल रेडक्रस सोसाइटी, रक्तसंचार केन्द्र बाँकेको प्राविधिक सहयोग, नेपाल स्वयंसेवी रक्तदान समाज ठाकुरबाबा नगर समितिलगायत संघ संस्थाको सहयोग र समन्वयमा रक्तदान कार्यक्रम गरिएको छ ।स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर