निकुञ्जका १४ हात्तीको गरियो स्वास्थ्य जाँच
बिहिबार, कार्तिक २१, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक २०/ बर्दिया राष्ट्रिय निकुञ्ज हात्तीसारमा रहेका हात्तीको स्वास्थ्य चेकजाँच गरिएको छ । दुई दिने हात्ती स्वास्थ्य शिविरमा १४ वटा हात्तीको स्वास्थ्य जाँच गरिएको हो । हात्तीको स्वास्थ्य परीक्षणको लागि रगत संकलन, हात्तीलाई जुकाको औषधि खुवाउने, टिटनास र रेबिजको भ्याक्सिन दिनुका साथै बढेको नङसमेत काँटिएको छ ।

मंगलबार देखि सुरु भएको हात्ती स्वास्थ्य शिविर बुधबार समापन भएको हो ।
उक्त हात्ती स्वास्थ्य शिविरमा केएसिएफ भन्ने अमेरिकन भेटनरी डाक्टर, बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष(एनटिएनसि) चितवन र बर्दियाका चिकित्सक र प्राविधिकहरुको सहभागिता रहेको थियो ।

दुई दिने हात्ती हेल्थ क्याम्पमा निकुञ्जका १३ र एनटिएनसिको एक गरि १४ वटा हात्तीको स्वास्थ्य परीक्षण गरिने र हात्तीको बढेको नङ काटिने बर्दिया राष्ट्रिय निकुञ्जका सुचना अधिकारी सरोजमणी पौडेलले बताए । ‘निकुञ्जको पर्यटकीय गतिविधि र संरक्षण व्यवस्थापनमा हात्तीको अहम भूमिका छ,’ सुचना अधिकारी पौडेलले भने, ‘हामीले हात्तीको नियमित स्वास्थ्य चेकजाँच गरिरहेका हुन्छौं र यस्तै अमेरिकन संस्थाबाट आएका चिकित्सक टोलीले पनि हात्तीको थप स्वास्थ्य चेकजाँच गरेका छन् ।’

चितवनमा हात्ती स्वास्थ्य शिविर सञ्चालन हुन थालेको ८ वर्ष भइसकेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराह चितवनका भेटनरी प्राविधिक किरणराज रिजालले बताए । ‘बर्दियामा आयोजना भएको हात्ती स्वास्थ्य शिविर कार्यक्रम पाँचौ पटक हो,’ उनले भने, ‘यहाँबाट सुरु भएको शिविर क्रमशः बाँके, चितवन र पर्सासम्म पुग्नेछ ।’

हात्तीले शरीरको भार खुट्टाले धान्छ । पालुवा हात्तीको शरीरको अन्य भागमा घाउ भयो भने उपचार गरि निको पारेर काम लगाउन सकिन्छ ।
तर, उसको खुट्टामा केही भयो भने उसले हिँडडुल गर्न सक्दैन । जसकारण हात्तीको खुट्टामा कुनै समस्या आउन नदिन नियमित नङ काट्नुपर्ने विज्ञहरुको भनाइ छ । हात्तीको नङ काट्ने काम पहिलादेखि हुँदै आएको हो । तर, धेरै समय लाग्थ्यो । जबदेखि दुवै देशका प्राविधिकहरुको सिकाई आदान प्रदान भएको छ तबदेखि नङ काट्न सहज भइरहेको शिविरमा सहभागी प्राविधिकहरुको बुझाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर