बर्दिया,पौष १७(फरकसमाचार) / मानव बेचबिखनको जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई सिमानाकाबाट उद्दार गरिएको छ । जोखिमपुर्ण यात्रामा रहेका २ सय ८४ महिला तथा बालबालिकालाई माइती नेपालले सिमानाकाबाट उद्दार गरि आवश्यक परामर्श दिएको हो । माइती नेपालद्वारा बुधबार आयोजित मानव बेचबिखन तथा ओसार पसार नियन्त्रणका लागि संचारकर्मीसंग अन्तरक्रिया कार्यक्रममा सन् २०२५ जनवरी देखि डिसेम्बरसम्म जोखिमपुर्ण यात्रामा रहेकालाई महिला तथा बालबालिकालाई उद्दार गरि परामर्श दिईएको तथ्यांक सार्वजनिक गरिएको छ ।
नेपालबाट भारततर्फ शंकास्पद रुपमा गईरहेको अवस्थामा २ सय ८४ महिला तथा बालबालिकालाई उद्दार गरि आवश्यक परामर्श दिईएको माइती नेपाल बर्दियाकी प्रमुख गायत्री रिमालले बताईन् । ‘जस मध्ये बर्दियाका २ सय ८ जना रहेका छन् भने ७६ जना अन्य जिल्लाका छन्,’प्रमुख रिमालले भनिन्,‘ १८ वर्षमुनिका २ सय ४ जना र १८ वर्षमाथिका ८० जना छन् ।’
मानव बेचबिखन र सुरक्षित बसाई सराई बारे सचेत गराई ३ सय ९ जनालाई पारिवारिक पुर्नमिलन गराईएको प्रमुख रिमालले तथ्यांक प्रस्तुत गरिन् । नाकाबाट परामर्श गरि ७० जनालाई घर फिर्ता गरिएको र श्रम र यौन शोषणमा परेका ३ जनालाई उद्दार गरिएको माइती नेपालको रेकर्डले देखाएको छ । महिला बालबालिका हराएको ६६ वटा निवेदन परेको थियो जसमा खोजतलास गरि १६ जनालाई परिवारको जिम्मा लगाएको छ भने घरेलु हिंसा सम्बन्धि ३९ घटना मध्ये ३६ घटना समाधान गरेको माइती नेपालको तथ्यांक पुष्टि गर्छ ।
मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणमा माइती नेपालले विगत देखि निरन्तर सक्रियता देखाईरहेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘बेरोजगारी, अशिक्षा, गरिबीको फाइदा उठाएर मानव बेचबिखन भईरहेको छ,’अध्यक्ष घिमिरेले भने,‘मानव बेचबिखन नियन्त्रणका लागि सबै सरोकारवालाहरुको सहकार्य हुन जरुरी छ ।’
माइती नेपाल बर्दियाको आयोजना तथा नेपाल पत्रकार महासंघको समन्वयमा बुधबार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मल घिमिरेलगायत संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

