बर्दियामा २९ उम्मेदवारको जमानत जफत
बिहिबार, फागुन २८, २०८२ मा प्रकाशित

बर्दिया, फागुन २८(फरकसमाचार) / जिल्लाको दुवै निर्वाचन क्षेत्रमा २९ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन क्षेत्र नंम्बर १ मा १८ र निर्वाचन क्षेत्र नंम्बर २ मा ११ जना उम्मेदवारको जमानत जफत भएको हो ।

फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा खसेको सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा २९ उम्मेदवारको जमानत जफत भएको जनाईएको छ । खसेको सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याउने उम्मेदवारको जमानत जफत हुने व्यवस्था रहेको छ ।

निर्वाचन क्षेत्र नंम्बर १ मा जम्मा १ लाख २ हजार ४ सय ८९ मत खसेको थियो । जसमा ९६ हजार ६ सय ९ सदर मत रहेको थियो । निर्वाचन क्षेत्र नंम्बर १ मा २१ जना उम्मेदवार रहेका थिए । जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, एमाले र नेपाली काँग्रेसका उम्मेदवार बाहेक अन्य उम्मेदवारको जमानत जफत भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचन कार्यालयका अनुसार क्षेत्र नंम्बर १ का ५ जना उम्मेदवारले एक सय मत प्राप्त गर्न सकेनन् ।

निर्वाचन क्षेत्र नंम्बर २ मा जम्मा ९२ हजार ६ सय १८ मत खसेको थियो । जसमा ८८ हजार १ सय ३० सदर मत रहेको थियो । निर्वाचन क्षेत्र नंम्बर २ मा १५ जना उम्मेदवार मध्ये राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली काँग्रेस, नेपाली कम्युनिष्ट पार्टी र एमालेका उम्मेदवार बाहेक अन्यको जमानत जफत भएको छ । निर्वाचन अधिकृतको कार्यालय अनुसार क्षेत्र नंम्बर २ का ४ जना उम्मेदवारले १ सय मत प्राप्त गर्न सकेनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर