बर्दिया अस्पतालमा रेबिज बिरुद्धको खोप नहुँदा सर्वसाधारणलाई सास्ती
शुक्रबार, फागुन २९, २०८२ मा प्रकाशित

बर्दिया,फागुन २९(फरकसमाचार) / कुकुरको टोकाईबाट एकैदिन चार जना घाईते भएका छन् । बौलाहा कुकुरको टोकाईबाट गुलरिया नगरपालिका–२ का चार जना बिहीबार घाईते भएका हुन् । कुकुरको टोकाईबाट गुलरिया नगरपालिका–२ जेनपुरका रामसेवक गोडिया, बल्लु लोध, सावित्री थारु र मुना थारु घाईते भएकी छन् । बौलाहा कुकुरले हात, खुट्टा, पेट र गालामा टोकेको जनाईएको छ ।

कुकुरको टोकाईबाट चार जना घाईते भएको र बर्दिया अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि नेपालगंज लगिएको गुलरिया नगरपालिका–२ का वडा अध्यक्ष टंक प्रसाद अधिकारीले बताए ।

यस्तै गत आइतबार कुकुरको टोकाईबाट गुलरिया नगरपालिका–१० का पाँच बच्चा घाईते भएका थिए । बौलाहा कुकुरको टोकाईबाट छरछिमेकका पाँच जना बच्चाहरु घाईते भएर बर्दिया अस्पताल जादाँ रेबिजको बिरुद्धको भ्यासिन नपाएको गुलरिया नगरपालिका–१० कालाबंजरका मनोज पासीले बताए । ‘अस्पतालमा भ्यासिन नहुँदा बाहिर किन्नुपर्ने बाध्यता छ,’उनले भने,‘चिकित्सकका अनुसार बौलाहा कुकुरले टोकेपछि चार,पाँच डोज खोप लगाउनुपर्छ, नीजि क्लिनिकमा प्रति खोपको रु ६ सय ५० तिर्नुपर्छ ।’

बर्दिया अस्पतालमा रेबिज विरुद्धको खोप नहुँदा सर्वसाधारणलाई सास्ती खेप्नु परेको छ । अस्पतालमा निःशुल्क पाईने खोप नहुँदा विपन्न परिवारका सर्वसाधारणहरु नीजि क्लिनिकमा महँगोमा खरिद गर्न बाध्य छन् । कुकुर लगायत जनावरको टोकाईबाट लाग्ने प्राणघातक रेबिज बिरुद्धको अस्पतालमा खोप उपलब्ध नहुनु दुःखद रहेको सर्वसाधारणको भनाई छ ।

फागुनको १९ गते देखि रेबिज बिरुद्धको भ्यासिन सकिएको बर्दिया अस्पतालका सुचना अधिकारी केशव न्यौपानेले बताए । ‘मासिक करिब ३ सय डोज भ्यासिनको आवश्यक पर्छ र सोही अनुसार माग गर्छौ’उनले भने,‘तर,मासिक ५० डोज मात्र भ्यासिन आउँछ र माहिना भरि पुग्दैन ।’ चालु आर्थिक वर्षको साउन यता ८ सय ४० डोज मात्र रेबिज बिरुद्धको भ्यासिन आएको सुचना अधिकारी न्यौपानेले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर