१६मंसिर (फरकसमाचार) जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरि नदीजन्य पदार्थको कर असुलेको गरेको आरोपमा एक जनालाई बारा प्रहरीले पक्राउ गरेको छ।
पर्साको वीरगन्ज महानगरपालिका २ का अजयकुमार साहलाई जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।
जितपुरसिमरा उपमहानगरपालिकाको क्षेत्र रहेका खोलाहरुबाट नदीजन्य पदार्थको ठेक्का पाएको कलैयाको बिनोद निर्माण सेवाको रसिदमा जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेर साहले खोलाबाट राजश्व उठाएको अनुसन्धानबाट खुल्न आएका ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख प्रहरी नायब उपरीक्षक दिपक श्रेष्ठले बताएका छन्।
जितपुरसिमरा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरेर साहले कहिलेदेखि खोलाबाट राजश्व असुल्ने कार्य गरेको त्यो थप अनुसन्धानबाट खुल्ने श्रेष्ठले बताए।
मंसिर ७ गते जितपुरसिमरा उपमहानगरपालिका १६ मा पर्ने बालगंगा खोलामा उपमहानगरपालिकाको नक्कली छाप प्रयोग गरिएको रसिदबाट ठेकेदारका मानिसले कर संकलन गरेको भन्दै स्थानीयहरुले जितपुरसिमरा उपमहानगरपालिकालाई जानकारी गराएका थिए।
स्थानीयहरुले जानकारी गराए पछि उपमहानगरपालिकाले थप अनुसन्धान गरि कार्बाही गर्न जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको जितपुरसिमरा उपमहानगरपालिका प्रमुख डा. कृष्ण पौडेलले बताएका छन्।
नदीजन्य पदार्थको ठेक्का पाएको बिनोद निर्माण सेवाका प्रोपराइटर शेषनाथप्रसाद साहलाई उपमहानगरपालिकाले मंसिर ९ गतेदेखि खोलाहरुबाट नदीजन्य पदार्थ उत्खनन गर्ने अधिकार दिए पनि त्यस भन्दा पहिलादेखि नै रसिद काटिएको अवस्था रहेको प्रमुख पौडेलले बताए।
पसाहा, बालगंगा र दुधौरा खोलहरुबाट उत्खनन गर्नु पर्ने भन्दा बढी नदीजन्य पदार्थ उत्खनन गर्न बिनोद निर्माण सेवाले नक्कली रसिद प्रयोग गरेको अशंका डुमरवानाका स्थानीयहरुले गरेका छन्।
आर्थिक वर्ष २०७७/०७८ का लागि बिनोद निर्माण सेवाका प्रोपराइटर्स शेषनाथप्रसाद साहले पसाहा, बालगंगा र दुधौरा खोलाहरुबाट ९३ लाख ५९ घनफिट नदीजन्य पदार्थ उत्खनन गर्नको लागि १२ करोड ७६ लाखमा ठेक्का स्कार गरेको जितपुरसिमरा उपमहानगरपालिका राजश्व शाखा प्रमुख पुर्ण तिवारीले बताएका छन्।
ठेकेदारले स्कार गरे अनुसार प्रत्येक घनफिट ११ रुपैयाँको हाराहारीमा नदीजन्य पदार्थ बेच्नु पर्ने सर्त रहेको तिवारीले बताए।
जितपुरसिमरा उपमहानगरपालिकासँग गरिएको सम्झौता अनुसार ठेकेदार शेषनाथ साहले नियम अनुसार नदीजन्य पदार्थ उत्खनन गरेर बेच्दा १० करोड जति रकम मात्रै आउने भएपछि बढी रकम कमाउन नक्कली बीच बनाउर बढी नदी जन्य पदार्थ बिक्री गर्न सुरु गरेपछि स्थानीयहरुले त्यसको बिरोधमा गरेका थिए।
नक्कली ठेली बरामत भएपछि ठेकेदार शेषनाथसँग उपमहानगरपालिकाले जवाफ समेत मागेको थियो।साभार नागरिक दैनिक