२१मंसिर – यो पटकको दसैं–तिहारको बिदामा पोखरामा भन्दा बाहिरी गन्तव्यमा बढी संख्यामा आन्तरिक पाहुना घुम्न पुगे । तनहुँको मानहुँकोटले त यहीवर्ष अहिलेसम्मकै धेरै आन्तरिक पाहुना पायो । कास्कीकै मर्दी हिमाल पदमार्गमा पनि प्रयाप्त आन्तरिक पाहुना पुगे । पोखरा बाहिरका साहसिक गन्तव्यमा रमाउन पनि आन्तरिक पाहुनाको भीड लाग्यो । अहिले पनि पोखराभित्र भन्दा बाहिरका गन्तव्यमा आन्तरिक पाहुना बढी छन् चाँडबाँडमा मात्र नभई यो वर्ष अरु समयमा पनि पोखराले भन्दा आसपासका गन्तव्यले बढी आन्तरिक पाहुना स्वागत गर्न पाए । महत्वपूर्ण पर्यटकीय गन्तव्य पोखराले अघिल्ला वर्षजस्तो ठुलो आकारमा आन्तरिक पाहुना जोगाउनै सकेन । आएका पाहुना पनि पोखरा छाडेर नयाँ गन्तव्यमा घुम्न पुगेका थिए । पोखराको आकाशमा प्याराग्लाइडिङमा रमाउने आन्तरिक मात्र पाहुना थपिएपनि मुख्य पर्यटकीय क्षेत्र लेकसाइडले आन्तरिक पाहुनाको त्यो भीडलाई पोखरामै रोकिराख्न सकेन ।
कोरोना महामारीबीच घुम्न निस्केका आन्तरिक पाहुना पोखरामा रोकिएनन् । आखिर किन पोखराले आन्तरिक पाहुनालाई यो वर्ष रोक्न सकेन ? पर्यटन व्यवसायी भन्छन, ‘कोरोना भाइरस महामारीलाई कारण देखाएर पोखराभित्रका पर्यटकीय गन्तव्यमा ताला लागे । ती गन्तव्यमा लागेका ताला अझै खुलेका छैनन । पोखराभित्र घुम्ने ठाउँ नै नपाएपछि आन्तरिक पाहुना यो पटक अन्यत्रका गन्तव्यमा घुम्न पुगेका हुन् ।’ व्यवसायीका अनुसार पोखराभित्रका मठमन्दिर, गुफा, सहितका गन्तव्यमा अझै प्रवेश निषेध छ । यहाँको तालबाराही, विन्ध्यवासिनी, भद्रकाली मन्दिर, महेन्द्र, चमेरे र गुप्तेश्वर गुफा पनि बन्द छन् । पर्यटकीय गन्तव्य डेभिजफल्समा पनि प्रवेश अनुमति छैन । अर्काे आकर्षक गन्तव्य शान्तिस्तुपसम्मको आउजाउ अझै खुलेको छैन । फेवातालमा व्यक्तिगत रुपमा डुंगा लिएर सयर गर्न सकिने भएपनि घुमघामका ठाउँमा ताला लाग्दा पाहुना पोखरा नभित्रिएको व्यवसायीको भनाई छ । अर्काे आकर्षक गन्तव्य पर्वतीय संग्रहालय पनि बन्द रहेकोमा एकसाता अघि मात्र खुलेको थियो । अरु संग्रहालय अझैसम्म बन्द छन् । पोखरा आएका करिब ९० प्रतिशत आन्तरिक पाहुना आसपासका ती गन्तव्यमा घुम्न जाने व्यवसायीको अनुमान छ ।
पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन भन्छन, ‘पाहुना होटलमा मात्र बस्दैनन । ती पाहुना घुम्न पनि चाहन्छन । काम विशेषले बाहेक घुम्नकै लागि आएका पाहुनालाई यो पटक समय बिताउने ठाउँ नै भएन । भएका गन्तव्यमा पनि पाहुना जान नपाउँदा उनीहरु पोखरामा अडिएनन । घुम्न चाहने ती पाहुनालाई यो पटक कतै जान नदिइएकोले उनीहरुको पोखरा बसाई पनि नभएको तुलाचनले बताए । ‘होटलमा बस्न र रेस्टुरेन्टमा खान मात्र पाहुना पोखरा आउने होईनन् । उनीहरु घुम्न चाहन्थे, तर घुमघामका सबै गन्तव्य बन्द हुँदा पाहुना अडिएनन,’ उनले भने, ‘सबै गन्तव्य बन्द हुँदा घुम्नै नपाएपछि पोखरा भित्रिएका पाहुना पनि रोकिएनन, उनीहरुले पनि पोखराको बसाई छोट्याए ।’प्याराग्लाइडिङ, अल्ट्रालाइट, बञ्जीजम्पिङ, जिप फ्ल्यारजस्ता साहसिक साहसिक गतिविधमा रम्ने पाहुना पनि तोकिएको गतिविधिका लागि मात्र पोखरामा रोकिएपनि त्यसपछि बाहिरिएको उनले बताए । ‘युवापुस्ता साहसिक गतिविधिमा रम्दा उनीहरुका पाका अभिभावकले घुम्ने ठाउँ पाएनन, बालबच्चालाई भुलाउने ठाउँ भएन,’ उनले भने, ‘धार्मिक गतिविधिमा रमाउने, बालबच्चा, महिला पोखरामा रोकिएनन । ती पाहुना नरोकिँदा पोखराले मार खेप्यो ।’कार्यविधी बनाएर स्वास्थ्यका मापदण्ड पालनामा कडाई गरेर ती पुर्वाधार खुलाउन सकिने भएपनि त्यसतर्फ कसैले चाँसो नदिएको तुलाचनले बताए । ‘योजनाविहीन तरिकाले ती गन्तव्यमा बन्देज गर्दा सबैलाई मार परेको छ । पाहुना भित्रिएका भरमा ती गन्तव्यले आम्दानी गर्दै आएकोमा बन्द गर्दा ती पर्यटकीय ठाउँले पनि आम्दानी गुमाएका छन्,’ उनले भने, ‘बरु थोरै समय घुम्न दिन सकिन्छ, भीडभाड कम गराउन सकिन्छ । तर, पाहुनालाई छिर्नै नदिएर त हुँदैन ।’ आन्तरिक पाहुना भिœयाउन नपाउँदा त्यसको मार गन्तव्यलाई पनि परेको सरोकारवालाको भनाई छ । महेन्द्र गुफा तथा चमेरे गुफा पर्यटकीय विकास समितिका सदस्य सचिव शिशिर पौडेल पर्यटकीय गन्तव्य खुलाउन कसैले पहल नगरेको बताउँछन् । ‘गन्तव्य व्यवस्थापन गरेका समुह नै खुलाउने बारे तयार देखिएका छैनन । एकअर्का गन्तव्य खुलाउन दिन पर्खेर बसेका छन,’ उनले भने, ‘सबैतिर पर्ख र हेरको अवस्था छ ।’
गुफा खुलाएको सन्देश दिने हो भने सबै क्षेत्रलाई फाइदा हुने भएपनि ती गन्तव्य खुलाउनेतर्फ पहल नभएको उनले बताए । ‘महामारीसँग जोगिएर जसोतसो भित्रिएका पाहुना पनि घुम्न पाएका छैनन, बाहिरबाट फोटो खिचेर फर्केका छन् । गुफा आसपासका व्यवसायीले पनि आम्दानी गुमाएका छन्,’ पौडेलले भने, ‘गन्तव्य नखुल्दा पर्यटनमा मात्र नभई सामाजिक र शैक्षिक क्षेत्रलाई पनि मार परेको छ ।’ पौडेलका अनुसार महेन्द्र र चमेरे गुफाको आम्दानीको सतप्रतिशत रकम विन्ध्यवासिनी माविलाई जान्थ्यो । गुफाको आम्दानी वर्षमा करिब ३ करोड रुपैयाँ हुन्थ्यो । गुफाको कमाइजति विद्यालयलाई गएपछि गुफामा कार्यरत कर्मचारीलाई पनि विद्यालयले नै मासिक पारिश्रमिक दिने गरेको थियो । दुईवटा गुफामा गरेर १३ जना कर्मचारी थिए । विद्यालयका निजी श्रोतका शिक्षक कर्मचारीलाई पनि गुफाको आम्दानीले तलब दिने गरिएको थियो । आम्दानी नभएपछि गुफा र विद्यालयका निजी श्रोतका कर्मचारीको तलब कटौती गरिएको छ । पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपि भट्टराई पनि गन्तव्य नखुल्दा पोखरामा पाहुना अडिन नसकेको बताउँछन् । ‘पर्यटन व्यवसाय चलायमान बनाउने हो भने पर्यटकीयस्थलको ढोका खोल्नुपर्छ । ढोका बन्द गरेर पाहुना आउँदैनन,’ भट्टराइले भने, ‘गन्तव्य नखुलाउने, तर व्यवसाय खोल भनेर हुँदैन । पाहुना बोलाउने, तर, भित्र पस्न नदिने गर्नु भएन ।’ गन्तव्य खुलाएर यो बेला राम्रो सन्देश दिएर आन्तरिक पाहुनालाई घुम्न आउ भन्नुपर्नेमा भएका गन्तव्यमा ढोका लगाउँदा सकारात्मक सन्देश नपुगेको उनले बताए । ‘घुम्ने ठाउँमा जान नदिएर पर्यटन प्रवद्र्धन हुँदैन । आँगनका गन्तव्य नखुल्दा पर्यटन व्यवसाय र आवद्ध संस्थालाई मार परेको छ,’ उनले भने ।कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल कोरोना जोखिमका कारण सरकारले नै ती गन्तव्य नखुलाएको बताउँछन् । ‘देशरभका मुख्य पर्यटकीय गन्तव्य खुलाउने विषयमा सरकारले नै समन्वय गरिहेको छ । स्थानीय प्रशासनले रोकेका नभई सरकारी अनुमति नै नभएको हो,’ ढकालले भने, ‘सरकारले त्यो बारेमा योजना बनाईरहेकोले विभिन्न भाग छुट्याएर खुलाउन सकिने योजना बनाईरहेको छ । तर, अहिले नै खुलिसकेका छैनन ।’ साभार नागरिक दैनिक