मंसिर २२ नेपालगञ्ज : बाँकेको जानकी गाउँपालिका-४ मा साढे सात हजार टन क्षमताको अत्याधुनिक शीत भण्डार निर्माण भएको छ।
शीत भण्डार नहुँदा तरकारी, फलफूल र जडीबुटीको छिट्टै गुणस्तर खस्कने र सड्ने समस्याका कारण नोक्सानी खेप्दै आएका व्यवसायीहरुले २५ करोड ३९ लाख रुपैयाँको लागतमा शीत भन्डार निर्माण गरेका हुन्। कृषि र जडीबुटी व्यवसायमा संलग्न नेपालगन्जका आठजना उद्यमीहरुले निजी लगानीमा निर्माण गरेका शीत भण्डार करिब २ बिघा क्षेत्रफलमा निर्माण भएको छ।
नेपालगन्ज कोल्ड स्टोरेज एन्ड बेयर हाउजिङ प्रालिमा चार वटा च्याम्बर छन्। चारवटै च्याम्बरमा छुट्टाछुट्दै तापक्रममा तरकारी, फलफूल र जडीबुटी भण्डारण गर्न सक्ने व्यवस्था मिलाइएको छ। भण्डारले सिजनअनुसार एक किलो फलफूल तथा तरकारीको एक महिना भण्डारण गरेबापत करिब एक रुपैयाँका दरले शुल्क लिने गरेको छ।
शीत भण्डारमा २४ सै घण्टा तापक्रम घटबढ हुन नदिन जेनेरेटरको व्यवस्था गरिएको छ। शीत भण्डारको निर्माणपछि व्यवसायीहरुले स्याउ, सुन्ताला, बढाम, आलु भण्डारण गर्न थालेका छन्। शीत भण्डारको निर्माणपछि जुम्ला, डोल्पालगायत कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुबाट स्याउ किनेर भण्डारण गरिरहेका छन्।
जडीबुटी भण्डारण गर्ने शीत भण्डार नहुँदा बर्सेनि करोडौं रुपैयाँको नोक्सानी व्यहोर्दै आएका जडीबुटी ब्यबसायीहरु शीत भण्डारको निर्माणपछि लाभान्वित हुने कोल्ड स्टोरेजका सञ्चालक टंकमणि शर्माले बताए।थाहाखबरबाट साभार