मंसिर २२ काठमाडौँ । अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, काठमाडौँ (विमानस्थल हेर्ने प्रहरी इकाई) को प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) राजेशनाथ बास्तोलाले सम्हालेका छन् । कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतमा रहेका बास्तोलाको मंसिर ५ गते विमानस्थलमा सरुवा भएको थियो ।
एसएसपी बास्तोलाले विमानस्थलमा संगठित अपराध नियन्त्रण र बढ्दो वित्तिय अपराध नियन्त्रणका लागि इमान्दारीका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् । ‘प्रहरीमा व्यवसायिकताको अभिवृद्धि गर्दै टिम वर्कमा काम हुन्छ, बाँकी मुल्यांकन कामले जनाउँछ,’कुरा गर्दै एसएसपी बास्तोलाले भने ।
पछिल्लो समय विमानस्थलमा सुनलगायत विभिन्न इलेक्ट्रोनिक्स समानको अवैध तस्करी बढेको, विमानस्थलका कर्मचारीले यात्रुहरूको लगेज लैजाने वा निकाल्ने क्रममा जथाभावी फालेकोलगायतका गुनासो आएको सन्दर्भमा एसएसपी बास्तोलाले विमानस्थलभित्र हुने अनियमिता क्रियाकलाप रोक्न आफै फिल्डमा खटिने बताए ।
एसएसपी बास्तोलाले तस्करीलाई नियन्त्रण गर्न आफू लागिपरेको बताए । ‘अवैध रुपमा सुन, लागूऔषधलगायत इलेक्ट्रोनिक्स सामान तस्करीमा मेरो निगरानी पहिलो प्राथमिकता हुनेछ ।’ यस्तै, कुनै पनि आवरणमा विमानस्थलमा हुने अपराधका घटनालाई आफूले नछोड्ने बास्तोलाको भनाइ थियो ।
विमानस्थलमा रहेका सम्पूर्ण कक्षका साथै सुरक्षा सतर्कताका लागि जडान गरिएका स्रोतसाधनमार्फत काम हुने उनको भनाइ छ । उनले विमानस्थल विभिन्न देशका नागरिकको आवागमन हुने प्रमुख स्थानसमेत भएकाले यसमा विभिन्न आपराधिक क्रियाकलापसमेत हुनसक्ने बताउँदै यसप्रति सधैँ चनाखो रहन मातहतका प्रहरी कर्मचारीलाई निर्देशन दिइसकेको बताए ।
विमानस्थल जस्तो संवेदनशील स्थानको सुरक्षा सुव्यवस्था कायम राख्न उच्च सतर्कताका साथ चुस्तदुरुस्त रुपमा प्रहरी परिचालन गरी सेवाग्राहीलाई सुरक्षित महसुस हुने गरी सुरक्षा प्रबन्ध मिलाउन आफू सधैँ तयार रहेको बास्तोला बताउँछन् ।
विमानस्थलमा कार्यरत प्रहरीले यात्रुलाई छिटो, छरितो र सुविधायुक्त सेवा दिनुपर्ने बताउँदै एसएसपी बास्तोला भन्छन्, ‘प्रहरी कर्मचारीहरुले व्यक्तिगत एवम् पेशागत आचरण र व्यवहारमा थप सुधार गरी आफ्नो जिम्मेवारीलाई लगनशील, निष्पक्ष र निस्वार्थ भई बहन गर्नुपर्छ ।’रातोपाटीबाट साभार