पौष २१ कपिलवस्तु : कपिलवस्तुको शिवराज नगरपालिका ३ मदवा कि १६ वर्षीय किशोरी दीपा रोकाको हत्या भएको खुलेको छ।
उनले प्रयोग गर्दै आएको मोबाइल खोज्दै जाँदा हत्या भएको थाहा लागेको हो। प्रहरीले हत्यामा संलग्न मदवा बस्ने वर्ष २० को अल्ताफ मुस्लिम बढ्ईलाई पक्राउ गरेको छ।
अल्ताफले हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिएका छन्।
मृतक दीपा पुस ११ गते साँझ ५ बजे पानी लिनका लागि घरबाट निस्किएकी थिइन्। अबेरसम्म नफर्किएपछि परिवारले प्रहरीमा खोजतलासका लागि निवेदन दिएको थियो। हराएको दुई दिनपछि गाउँ नजिकै रहेको ज्वई खोलामा दीपाको शव फेला परेको थियो।
माछा मार्न ज्वई खोलामा गएका बढ्ईले दिसा गर्न पुगेकी दीपालाई एक्लै देखेपछि हत्या गरेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक दीपेश खरेलले जानकारी दिएका छन्।
बढईले जिस्काउन लागेपछि २० मिनेटसम्म लछारपछार भएको र दीपा उम्केर भाग्न खोज्दा घाँटी च्यापेर हत्या गरेको बढ्ईले स्वीकारेका छन्।
घटनास्थलमा बढईको पर्स भेटिएको थियो। बढईले दीपाको मोबाइल प्रयोग गरेको थाहा लागेपछि पक्राउ गरिएको हो।थाहाखबरबाट साभार