बर्दिया,असोज ९(फरकसमाचार)/ यात्रुवाहक सवारी साधनमा विद्यार्थी, जेष्ठ नागरिक, अपाङ्ग र जन आन्दोलनका घाईतेलाई राज्यले भाडामा तोकेको छुटको व्यवस्था गराउने यातायात व्यवस्थापन समितिले निर्णय गरेको छ । जिल्ला यातायात व्यवस्थापन व्यवस्थापन समितिले मंगलबार बैठक बसी यात्रुवाहक सवारी साधनमा राज्यले व्यवस्था गरे अनुसार छुटको व्यवस्था गराउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रादेवि शर्माको अध्यक्षता तथा संघिय सांसद संजय गौतमलगायत सरोकारवालाको उपस्थितीमा जिल्ला प्रशासन कार्यालयको सभाहलमा मंगलबार सवारी तथा यातायात व्यवस्था ऐन २०४९ दफा १५४ बमोजिम यातायात व्यवस्थापन समितिको बैठक बसी सार्वजनिक यातायात व्यवस्थापन, ट्राफिक व्यवस्थापन सम्बन्धमा अन्तरक्रिया छलफलले १२ बुँदे निर्णय गरेको हो ।
विगतमा यात्रुवाहक सवारी साधनले बढी भाडा लिने, यात्रुसंग दुव्र्यव्यवहार गर्ने, सरकारले व्यवस्था गरेको अनुसार लक्षित वर्गलाई छुट नदिने गरेको व्यापक गुनासो थियो । जिल्ला यातायात व्यवस्थापन समितिको बैठकले यात्रुवाहक सवारी साधनको सम्बन्धि समस्या सुल्झाउने गरि निर्णय गरेको छ ।
विद्यार्थी, अपाङ्ग, ज्येष्ठ नागरिक र जन आन्दोलनका घाईतेलाई यात्रुवाहक सार्वजनिक सवारी साधनमा भाडामा तोकिएको छुटको व्यवस्था गराउने जिल्ला यातायात व्यवस्थापन समितिले निर्णय गरेको छ । बस, मिनीबस तथा माइक्रोबसका सवारी साधनले तोकिएका लक्षित वर्गलाई भाडामा सहुलियतको रुपमा भाडामा छुट दिएवापत त्यस्ता सवारी धनीले तोकिएको करमा ६० प्रतिशत छुट पाउने छन् भन्ने लुम्बिनी प्रदेश सरकारको आर्थिक ऐनले व्यवस्था गरेको छ । सो लगायत सरकारले दिएको छुट व्यवस्थापनको कार्यान्वयन गराउने निर्णय भएको छ ।
छुट सुविधा तथा सार्वजनिक सवारी साधनले पालना गर्नुपर्ने अन्य मापदण्डहरुको पालना भए नभएको जिल्ला ट्राफिक कार्यालय बर्दियाले अनुगमन गर्ने र तोकिएको सुविधा नदिने सवारी सधानलाई कारवाहीको दायरामा ल्याउनेछ । त्यसैगरि सार्वजनिक यातायातका सवारी साधनले तोकिएको समयमा नछुट्ने, यात्रुलाई समयमा गन्तव्यमा नपुयाउने, बढी भाडा लिने, सिट क्षमता भन्दी बढी यात्रु राख्ने, गुनासाहरु आईरहेकोले यस्ता समस्या सुधार गर्न यातायात व्यवसायी प्रालीसंग समन्वय गर्नेलगायतका निर्णय भएको छ ।