द्वन्द्व पिडित महिलाहरुको आवश्यकता पहिचान हुदै
बिहिबार, असोज १०, २०८१ मा प्रकाशित

बर्दिया,असोज १०(फरकसमाचार)/ द्वन्द्व पिडित तथा प्रभावित महिला र बालिकाको समष्टिगत आवश्यकताको पहिचान गर्न सुरु गरिएको छ । पालिकाको उप–प्रमुखको संयोजकत्वमा पाँच सदस्य उपसमितिले द्वन्द्व पिडित महिला तथा बालिकाको समष्टिगत आवश्यकताको पहिचान गर्न शुरु गरेको हो । नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीयतहलाई दिएको जिम्मेवारी अनुसार द्वन्द्व पीडित महिला तथा बालिकाको समष्टिगत आवश्यक पहिचान शुरु गरिएको छ ।

जिल्लाको आठ पालिका मध्ये बढैयाताल गाउँपालिका, ठाकुरबाबा नगरपालिकाले उपसमितिलाई गोपनियता तथा संवेदनशिलताको सपथ ग्रहण गराई पिडित महिला तथा बालिकाको आवश्यकताको पहिचान गर्न सुरु गरिसकेको छ । त्यसैगरि बुधबार बाँसगढी नगरपालिकाले पनि उपसमितिलाई सपथ ग्रहण गराई पहिचानको काम अघि बढाएको छ ।

अन्य पालिकाले पनि महिला, शान्ति र सुरक्षा सम्बन्धी संयूक्त राष्ट्र संघको प्रस्ताव नं. १३२५ र १८२० लाई लागु गर्न नेपाल सरकारले ल्याएको दोस्रो राष्ट्रिय कार्य योजना कार्यान्वयन गर्न नितिगत निर्णय गरि काम शुरु गर्ने तयारीमा रहेको द्वन्द्व पिडित समिति बर्दियाका कार्यक्रम संयोजक मानबहादुर चौधरीले जनाए । द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचानगर्न द्वन्द्व पीडित समिति बर्दियाले सहजिकरण साथै प्राविधिक सहयोग गरिरहेको छ ।

उपसमितिको गोपनियता तथा संवेदनशिलताको सपथ ग्रहण कार्यक्रममा द्वन्द्व पीडित तथा प्रभावित महिला र बालिकाको समष्टिगत आवश्यक पहिचान गरी सम्बोधनका लागि कार्यपालिकाबाट नितिगत निर्णय गरि अघि बढ्ने बाँसगढी नगरपालिकाकाप्रमुख खडकबहादुर खड्काले बताए ।

दोस्रो राष्ट्रिय कार्य योजनामा स्थानीय तहका प्रमुखको संयोजकत्वमा कार्ययोजना कार्यान्वयन स्थानीय समिति र पीडित तथा प्रभावित महिला तथा बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमिति ब्यवस्था भए अनुसार दुबै समिति गठन भई सकेको छ ।

राष्ट्रिय कार्य योजनामा दिएको जिम्मेवारी अनुसार बाँसगढी नगरपालिकाले आवश्यकता पहिचान गर्न शुरु गर्नु अगाडी, पहिचान गर्ने क्रममा र पछिको गोपनियता, सुरक्षा संवेदनशिलतालाई सुनिश्चित गर्न आचारसहिता र आवश्यकता पहिचान गर्न फाराम पनि बनाएर कार्ययोजना स्थानीय समितिको बसेको बैठकले बुधबार पास गरेको छ ।

बाँसगढी नगरपालिकाकी उप–प्रमुख एवंम् द्वन्द्व पीडित महिला र बालिकाको समष्टिगत आवश्यकता पहिचान उपसमितिकी संयोजक इन्दिरा चौधरीले द्वन्द्व पीडित महिला तथा बालिकाको आवश्यकता पहिचान गरी कार्य योजना कार्यान्वयन समितिलाई हस्तान्तरण गर्ने बताईन । पहिचान गरिएका आवश्यकतालाई प्राथमिकिकरण गरी पालिका आफै, प्रदेश र संघीय सरकारलाई योजना बनाउन सिफारिस गर्ने गर्ने संयोजक चौधरीले भनाई राखिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय