बर्दिया,असोज ११(फरकसमाचार)/ भारतीय नागरिक आफ्नो परिवारसंग भाडामा बस्दै आएको कोठामा पेस्तोल फेला परेको छ । मधुवन नगरपालिका–८ हाटबजार स्थित कोठारी थारुको घरको कोठाबाट बुधबार पेस्तोल फेला परेको हो ।
जिल्ला बहराईच मोतिपुर थाना उर्लाबजार उत्तर प्रदेश भारत घर बताउने सरोवर राईन नाम गरेका व्यक्ति गत बैशाख देखि थारुको घरको कोठा भाडामा लिई बस्दै आएका थिए । घरबेटी थारुका अनुसार भारतीय नागरिकले फलफुल बेच्ने र कबाडीको काम गर्थे । अहिले ती भारतीय नागरिक फरार भएका छन् । कबाडी काम गर्ने बहानामा कतै अपराधिक कार्यमा संलग्न रहेको आशंका गरिएको छ ।
चाडपर्व नजिकिएसंग अपराधिक क्रियाकलाप बढ्ने जोखिम छ । आम नागरिक तथा सुरक्षाका सबै सयन्त्र चनाखो हुन आवश्यक देखिएको छ ।
गत भदौ २० गते कसैलाई जानकारी नगराई ती भारतीय नागरिक घरको कोठा छोडी गएका थिए । घरबेटी थारुले बुधबार कोठा सरसफाई गर्ने क्रममा टियुसिएसओएन लेखिएको सेतो फाईबरको झोलामा राखिएको अवस्थामा होम मेड पेस्तोल फेला परेको हो । कोठामा पेस्तोल फेला परे लगत्तै घरबेटीले प्रहरीलाई खबर गरेका थिए ।
कोठामा फेला परेको पेस्तोल प्रहरीले बरामद गरि भारतीय नागरिक सरोवर राईनको खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डिएसपी तुल्सीराम अर्यालले जानकारी दिए ।