पुष्कर काफ्ले
बर्दिया,साउन १०/ गगन सिंह कुँवर फाउण्डेशन नेपालले एक कार्यक्रम बीच सडक दुर्घटना न्यूनिकरणका लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरेको छ । गेरुवा गाउँपालिका– ३ शान्ति बजारमा शनिबार भएको कार्यक्रममा फाउण्डेशनले आफ्नो लागतमा ७ वटा होर्डिङ बोर्ड इलाका प्रहरी कार्यालय पाताभारलाई हस्तान्तरण गरेको हो ।
बजार क्षेत्र गति सिमित, मादक पदार्थ सेवन गरि सवारी साधन नचलाऔँ, सवारी चलाउदा गति संग होइन, सुरक्षासँग प्रतिस्पर्धा गरौँ, सवारी साधन चलाउँदा हेलमेट र सिट बेल्ड सधै बाध्ने गरौँ लेखिएको सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरिएको छ ।
सामाजिक कार्यमा सक्रियका साथै सडक दुर्घटना न्यूनिकरणका लागि होर्डिङ बोर्ड निर्माणमा सहयोग गरेको भन्दै इलाका प्रहरी कार्यालय पाताभार बर्दियाले कार्यक्रमकै बीच गगन सिंह कुँवर फाउण्डेशन नेपालका संरक्षक एवं प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरलाई सम्मान पत्रले सम्मानित गरेको छ ।
यस्तै फाउण्डेशनले संस्था स्थापना गर्न सहयोग गर्ने र विभिन्न पीडितहरुको समस्या मिडियामा ल्याएर सहयोग संकलनमा उल्लेखनिय भूमिका खेलेको भन्दै गेरुवा अपडेटका संचालक पुष्कर काफ्लेलाई समेत सम्मान गरेको छ ।
कार्यक्रममा बोल्दै गेरुवा गाउँपालिका अध्यक्ष जमान सिंह केसीले होर्डिङ बोर्डले सडक दुर्घटनामा न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । ‘फाउण्डेशनले सामाजिक कार्य गर्दै आइरहेको देखेको छु, आगामी दिनमा यसरी निरन्तर सामाजिक कार्य गर्नेमा आफु विश्वस्त छु,’ अध्यक्ष केसीले भने, ‘यस क्षेत्रमा फाउण्डेशन स्थापना भई उदाहरणीय कार्य गरेकोले पालिकाबाट फाउण्डेशनलाई आवश्यक सहयोग गर्न हामी तयार छौँ ।’
त्यस्तै गेरुवा गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष निर्मल चौधरीले बर्दिया कार्यक्षेत्र भएर काम गरिरहेको फाउण्डेशन आफुहरुको गौरवको बिषय भएको बताए । फाउण्डेशनले आफ्नो उद्देश्य अनुसार मानव जीवन रक्षाको लागि सन्देशमूलक होर्डिङ बोर्ड हस्तान्तरण गरेर उदाहरणीय कार्य गरेको अध्यक्ष चौधरीले उल्लेख गरे ।
इलाका प्रहरी कार्यालय पाताभारका बरिष्ठ प्रहरी नायव निरीक्षक गणेश बहादुर सिंहले फाउण्डेशनको कामले आफुहरु उत्साहित भएको बताए । दुर्घटना बढी हुन सक्ने जोखिम युक्त सडकको किनारमा सचेतनामूलक बोर्ड राखिने उनले जनाए ।
कार्यक्रममा सहभागि फाउण्डेशनका संरक्षक एवं प्रमुख सल्लाहकार तर्क बहादुर कुँवरले सचेतनामूलक अभियानले दुर्घटना न्यूनीकरणमा मद्दत पुग्ने विश्वासका कारण होर्डिङ बोर्ड हस्तान्तरण गरिएको बताए ।
गेरुवा ५ सुखाड निवासी शेर बहादुर कुँवर र उनका दाजु तर्क कुँवरले स्व.बुवाको सम्झनामा उनकै नामबाट फाउण्डेशन दर्ता गरि सामाजिक कार्य गर्ने सोचका साथ फाउण्डेशन स्थापना गरिएको हो ।
फाउण्डेशनले बेसहारा, पिछडिएका, अल्पसंख्यक, सिमान्तकृत नागरिकहरुलाई राष्ट्रको असल एवं सक्षम नागरिक बनाउन विभिन्न सचेतनामूलक कार्यक्रम, आय मूलक तथा सीप मूलक परियोजनाहरु संचालन गर्ने, अक्षय कोष, मुष्ठिदान कोष, असहाय कोष र गुठी कोषको माध्यमबाट विभिन्न सामाजिक कार्यहरु गर्ने लगायतका उद्देश्यहरु बोकेको छ ।
कार्यक्रमको उदेश्यका साथै अतिथिहरुलाई स्वागत फाउण्डेशनका अध्यक्ष शेर बहादुर कुँवरले गरेका थिए । कार्यक्रममा गेरुवा गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरी, वडा नं. २ का वडा अध्यक्ष कृष्ण थारु, समाजसेवी प्रेम रावल, यज्ञ बहादुर शाही, बम बहादुर रावल, अस्थायी ट्राफिक प्रहरी पोष्ट पाताभारका इन्चार्ज हर्दिष खत्री, गेरुवा उद्योग बाणिज्य संघका अध्यक्ष भिम बहादुर धामीको सहभागिता रहेको थियो ।
यस्तै गेरुवा गाउँपालिका वडा नं. २ का वडा सदस्य पुरन थापा, ३ का वडा सदस्य जमान कडायत, शान्तिबजार बजार व्यवस्थापन समितिका अध्यक्ष तुलस्थ प्रसाद खनाल, पाताभार उपभोक्ता समितिका अध्यक्ष तिलकराज थारु, सचिव तपेन्द्र बहादुर थापा, समाजसेवी, बुद्धिजिवी लगायतको सहभागिता रहेको थियो ।