बर्दिया,कार्तिक १३ (फरकसमाचार)/ भर्खरै सरुवा भएर ट्राफिक प्रमुखका रुपमा आएका ट्राफिक प्रहरी निरीक्षक सन्दिप बेल्बासेले सडकमा हुने सवारी दुर्घटना न्युनिकरणलाई पहिलो प्राथमिकतामा राख्ने बताएका छन् । सोमबार देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेका बेल्बासेले बुधबार पत्रकारसंगको भेटघाटमा यस्तो बताएका हुन् ।

जिल्लामा भईरहेको सवारी दुर्घटना न्युनिकरण गर्न व्यवस्थित चेकजाँचसहित सवारी दुर्घटना न्युनिकरणका लागि सचेतना कार्यक्रम प्राथमिकतामा राखेर अघि बढ्ने ट्राफिक प्रमुख बेल्बासेले बताए । ‘सडक, सवारी साधनको अवस्था, मापसे वा ओभर स्पिडको कारणले दुर्घटना भएको हुन सक्छ,’प्रमुख बेल्बासेले भने,‘भर्खरै ट्राफिक प्रमुखको जिम्मेवारी सम्हालेको छु, दुर्घटनाको तथ्यांक अध्ययन गर्नेछु र दुर्घटना कुन क्षेत्रमा कुन समयमा बढी भईरहेको छ, त्यसको आधारमा कार्ययोजना बनाएर अघि बढ्नेछु ।’ ‘यस कार्यमा सबैको साथ सहयोगको अपेक्षा गरेको छु,’उनले भने ।
ठाउँ ठाउँमा अव्यवस्थित रुपमा ट्राफिक प्रहरीले चेकिङ्ग गरेको व्यापक गुनासो आईरहेको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘त्यसलाई कसरी व्यवस्थित गर्न सकिन्छ,त्यसतर्फ ध्यान दिन जरुरी छ’अध्यक्ष घिमिरेले भने,‘यस्तै सवारी दुर्घटना न्युनिकरणको सम्बन्धमा नेपाल पत्रकार महासंघ ट्राफिक प्रहरीसंग निरन्तर समन्वय र सहकार्य गर्नेछ ।’
जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउनमा ७३ वटा दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ भने १६ शख्त र ६६ जना सामान्य घाईते भएको देखिएको छ । दुर्घटनामा संलग्न सवारी साधन मध्ये सबै भन्दा बढी मोटरसाइकल रहेको ट्राफिक प्रहरीको रेकर्डले देखाएको छ । भदौमा ८२ दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ भने ४८ शख्त र ४७ जना सामान्य घाईते भएका छन् । यस्तै असोजमा १ सय ५१ सवारी साधन दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ भने ८५ शख्त र ८४ जना सामान्य घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकले पुष्टि गर्छ ।

