कब्जा गरिएको जग्गा खाली गराईयो
मङ्गलबार, कार्तिक १९, २०८२ मा प्रकाशित

बर्दिया,कार्तिक १८(फरकसमाचार)/ भुमिहीनले कब्जा गरेको कपास विकास समितिको जग्गा खाली गराईएको छ । मधुवन नगरपालिका–८ स्थित भुमिहीनले आइतबार कब्जा गरेको कपास विकास समितिको जग्गा प्रहरी प्रशासनले केही घण्टामा खाली गराएको हो । आइतबार साँझ केही व्यक्तिहरु एकाएक घर टहरा निर्माण गरि समितिको जग्गा कब्जा गरेका थिए ।

समितिको जग्गामा अस्थायी टहरा निर्माण गरी व्यक्तिहरु कब्जा गरेको सुचना पाउनसाथ प्रहरी खटिएको थियो । प्रहरीले जग्गा खाली गर्न माइकिङ गरेपछि उक्त व्यक्तिहरुले जग्गा खाली गरेका थिए ।

नेपाल शुद्ध भूमिहीन स्वतन्त्र पार्टीको ब्यानर लगाएर केही व्यक्तिहरुले कपास विकास समितिको जग्गा कब्जा गरेका थिए । राज्यले बसोबासका लागि व्यवस्था गरिदिएमा कुनै पनि क्षति नगर्ने र आफ्ना माग पूरा नभएसम्म हाम्रो आन्दोलन जारी राख्ने उक्त ब्यानरमा उल्लेख थियो । बर्दियालगायत दैलेख, जाजरकोट, सल्यानका व्यक्तिहरु जग्गा कब्जा गर्नमा संलग्न रहेको बुझिएको छ ।

प्रहरीले जग्गा खाली गराईसकेको कपास विकास समितिका कार्यकारी निर्देशक वीरेन्द्रराज पराजुलीले बताए ।

कपास विकास समितिको जग्गामा अनधिकृत व्यक्तिहरू आएर बसेको जानकारी पाउने बित्तिकै प्रहरी पठाएर हटाउन लगाएको प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमालले बताए ।

सशस्त्र द्वन्द्वका समयमा माओवादीले उक्त जग्गा कब्जा गरेको थियो । ०६४ सालमा सशस्त्र प्रहरीले माओवादी अतिक्रमण हटाएर आफ्नो क्याम्प राखेका थियो । करिब चार वर्षअघि सशस्त्रको क्याम्प गुलरिया नगरपालिका–८ सुरजपुर स्थित सरेपछि भवन र जग्गा कपास विकास समितिलाई जिम्मा लगाईएको हो । ३ बिघा जग्गा मध्ये दुई बिघामा भवन र रुख छन भने १ बिघामा कपास खेती गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर