द्वन्द्वकालमा बेपत्ताको २३ वर्षपछि किरिया
मङ्गलबार, मङि्सर ०३, २०८२ मा प्रकाशित

बर्दिया,मंसिर २ / सशस्त्र द्वन्द्वकालमा बेपत्ता पारिएका व्यक्तिको अवस्थाबारे राज्यले सत्यतथ्य सार्वजनिक नगर्दा आफन्तले कुशको शव बनाएर अन्तिम संस्कार गरिरहेका छन् । शान्ति सम्झौता भएको लामो समय बितिसक्दा पनि राज्यले बेपत्ताको अवस्थाबारे सत्यतथ्य सार्वजनिक नगर्दा निराश रहेका पीडित परिवार कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भएका हुन् ।

बेपत्ता व्यक्तिको अवस्था एकिन नहुँदा उनीहरुको नाममा रहेको सम्पत्ति हस्तान्तरण, अंशबन्डा नहुने कानुनी समस्या देखिएको छ । त्यस्तै परिवारका सदस्य बिरामी हुँदा बेपत्ताको काजकिरिया नगरेकोले यस्तो भइरहेको भन्ने सामाजिक हैरानी व्यहोर्नु पर्दा कुशको शव बनाएर अन्तिम संस्कार गर्न बाध्य भइरहेको परिवारजन बताउँछन् ।

गत बुधबार राजापुर नगरपालिका–६ बिक्रमपुरका बेपत्ता राजकुमार थारुको परिवारले २३ वर्षसम्म अवस्था नखुलेपछि कुशको शव बनाएर अन्तिम संस्कार गरी आइतबार काजकिरिया गरेका छन् । सपनामा श्रीमान्लाई सुरक्षाकर्मीले टपरा स्कुलको बाटो देखाउन हिँड् भनेर जबरजस्ती लगेको देखेपछि काजकिरिया गुर्न परेको राजापुर नगरपालिका–६ बिक्रमपुरकी ५० वर्षीया हिरा थारुले बताइन् । ‘३० वर्षको उमेरमा श्रीमान्लाई राज्य पक्षले बेपत्ता बनाउँदा, साना तीन बच्चाको पालनपोषण गर्न निकै समस्या भोगे,’ उनले भनिन्,‘बच्चा पाल्न अरुको घरमा काम गरे, यहाँ काम नपाउँदा नेपालगन्ज बसेर मजदुरी गरेर हुर्काएँ । अन्तिम संस्कार गरे पनि श्रीमान् फर्केर आउनुहुन्छ जस्तै लाग्छ ।’

राज्यले बेपत्ता नागरिकको अवस्थाबारे सत्यतथ्य नदिदाँसम्म बुवाको अन्तिम संस्कार नगर्ने पक्षमा रहेको राजकुमारका कान्छा छोरा सुजन थारुले बताए । ‘केही दिनअघि दाई बिरामी भयो, गुरुवा (झाँक्री)ले बुवाको अझैसम्म काजकिरिया नगर्दा यसो भएको भनेपछि अन्तिम संस्कार गर्न बाध्य भयौं,’ उनले भने ।

विस २०५९ कात्तिक ३ गते तत्कालीन मानपुर टपरा गाविस–८ (राजापुर नगरपालिका–६ बिक्रमपुर) का राजकुमारलगायत १४ जनालाई राज्य पक्षले एकैरात बेपत्ता बनाएको थियो । जसमध्ये सोही ठाउँका राधेश्याम थारुको यसअघि नै कुशको शव बनाएर परिवारले अन्तिम संस्कार गरिसकेका छन् ।

बारबर्दिया नगरपालिका–७ सोनपुर गाउँका बेपत्ता तातेराम थारु, जग्गु थारु र हरिराम चौधरीका आफन्तले गत चैतमा कुशको शव बनाएर अन्तिम संस्कार गरेका थिए । ‘२२ वर्षदेखि कुरेर बस्दा सरकारले श्रीमानको सास वा लाश बारे केही जानकारी नदिँदा काजकिरिया गर्न बाध्य भयौं,’ बारबर्दिया–७ सोनपुरकी ५६ वर्षीया रामदुलारी थारुले भनिन्, ‘पर्खँदा पर्खँदा बुढी भइसके । अब न्यायको आश मारेर अन्तिम संस्कार गर्ने निर्णयमा पुगेकी हुँ ।’ विस २०५९ साउन २४ गते राति तत्कालीन शाही नेपाली सेना घरमा पसेर श्रीमान् तातेरामलाई जबरजस्ती उठाएर लगेको उनले सुनाइन् ।

लामो समयदेखि राज्यले सत्यतथ्य जानकारी दिन नसक्दा पीडितहरु कुशको शव बनाएर अन्तिम संस्कार गरिरहेको द्वन्द्वपीडित संघर्ष समिति बर्दियाका कार्यक्रम संयोजक मानबहादुर चौधरीले बताए । उनका अनुसार सशस्त्र द्वन्द्वका बेला जिल्लाका बेपत्ता मध्ये ५० परिवारले कुशको शव बनाएर अन्तिम संस्कार गरिसकेका छन् ।

द्वन्द्वकालमा बर्दियाका २ सय ५८ जना बेपत्ता रहेको पुरानो तथ्यांक र पछिल्लो समय थपिएका ३ जना गरी २ सय ६० जना बेपत्ता रहेको आवेदन परेको बेपत्ता पारिएका व्यक्तिहरुको छानबिन आयोगको तथ्यांक छ । जसमध्ये अधिकांश पीडित परिवारलाई सरकारले १० लाख रुपैयाँ राहत उपलब्ध गराइसकेको छ भने केही परिवारले अझै रकम पाएका छैनन् ।स्रोत ईकान्तिपुर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय