अभिनव कुमार पाठक
बर्दिया,मंसिर ५ / गुलरिया बजारमा बाँदरको आतंक बढ्दै गएको छ । पछिल्लो समयमा गुलरिया बजारमा देखिने बाँदरको समुहको आतंक बढ्दै गएको हो । बाँदरको समुहले सर्वसाधारणलाई दिनहुँ सताउन थालेपछि स्थानीय आतंकित बनेका छन् । बाँदरको समुहले बजार क्षेत्रमा दैनिक जसो घर,पसलको सामान नोक्सान गर्ने र आक्रमण गर्न थालेपछि स–साना बालबालिकालाई एक्लै छोड्नसमेत स्थानीय डराईरहेका छन् ।
गत सोमबार दिउँसो आफ्नो घरको छतमा कपडा सुकाउन गएको बेला गुलरिया नगरपालिका–५की ७५ वर्षीया निरा केसीलाई बाँदरले टोकेर घाईते बनाएको छ । बाँदरले उनको बायाँ खुट्टामा टोकेको छ । घरको छतमा कपडा सुकाउन गएको बेला बाँदरले आमाको खुट्टाको दुई ठाउँमा टोकेर रगताम्य बनाएको अनिल केसीले बताए । यस्तै प्राप्त जानकारी अनुसार केही दिन अघि गुलरिया नगरपालिका–६की भावनी क्षेत्रीलगायत पाँच जनालाई बाँदरले टोकेर घाईते बनाईसकेको छ । गुलरिया बजारमा देखिने बाँदरको समुह स्थानीयको घरको सामान नोक्सान गर्नेलगायत फलफूल, होटल व्यवसायीलाई दुःख दिएर तनाव जस्तै बनेको छ ।
‘एकैछिन ठेलाबाट हट्ने बित्तिकै बाँदरले फलफूल टिपेर भाग्छ,’गुलरियाकी एक ठेला व्यवसायीले भनिन्,‘पहिला बाँदर थिएनन्, पछिल्लो समयमा खोई कहाँबाट बजारमा बाँदरको समुह आएर धेरै दुःख दिईरहेको छ । अहिले थोरै बाँदर देखिएका छन् । सम्बन्धित निकायले समयमा बाँदर व्यवस्थापनमा ध्यान नदिए आगामी दिनमा झन् ठुलो समस्या हुन्छ ।’
बाँदर र कुकुरलगायतका बन्यजन्तुले टोकेपछि रेबिज विरुद्धको भ्याक्सिन लगाउनुपर्छ । तर,बर्दिया अस्पतालमा पछिल्लो समय रेबिज विरुद्धको भ्याक्सिनको अभाव हुँदा स्थानीयले दुःख पाईरहेका छन् । अस्पतालका अनुसार भ्याक्सिनको लागि पटक पटक सम्बन्धित निकायमा पत्रचार गर्दासमेत भ्याक्सिन उपलब्ध भएको छैन ।
सरकारी अस्पतालमा निःशुल्क पाईने भ्याक्सिन अभाव हुँदा सार्वसधारणले निजी मेडिकलमा चर्को रकम तिर्न बाध्य छन् । एक भाईल रेबिज विरुद्धको भ्याक्सिनलाई रु ६ सय रुपियाँ तिरेको एक पीडितले जनाए । बाँदर,कुकुरलागयत वन्यजन्तुले टोकेपछि चिकित्सकको सल्लाह बमोजिम ५/६ डोज भ्याक्सिन लगाउनुपर्छ ।
