चितुवाको आक्रमणबाट एकको मृत्यु
बिहिबार, पुष ०३, २०८२ मा प्रकाशित

बर्दिया,पौष ३ / चितुवाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बारबर्दिया नगरपालिका–१० डफैयाका ३२ वर्षीय दिनेश थारुको चितुवाको आक्रमणबाट बुधबार दिउँसो मृत्यु भएको हो ।

बारबर्दिया नगरपालिका–१० सिम्रवा सामुदायिक वनमा चितुवाको आक्रमणमा परेर थारुको ज्यान गएको डिभिजन वन कार्यालयका वरिष्ठ वन अधिकृत गोपाल चौधरीले बताए । ‘वनमा ट्वाईलेट गर्न गएको बेला उनलाई चितुवाले आक्रमण गरेको हो,’उनले भने,‘घटनास्थलमा वन कर्मचारी खटिएर चितुवालाई नियन्त्रणमा लिन केज राख्ने तयारी भइरहेको छ ।’

छाती, गर्दन र बायाँ खुट्टाको तिघ्रा खाइसकेको अवस्थामा थारुको शव फेला परेको डीएसपी देवेन्द्रकुमार मल्लले जानकारी दिए ।

गत मंसिर १२ गते काला बेलभार सामुदायिक वनमा घाँस काट्न गएको बेला चितुवाको आक्रमणमा परी बारबर्दिया नगरपालिका–११ की ५९ वर्षीय गोपी थारुको ज्यान गएको थियो । यस्तै, गत मंसिर १६ गते घर नजिकै राखेको पराल लिन गएको बेला परालमा बसेको चितुवाले आक्रमण गर्दा बारबर्दिया नगरपालिका–४ की १८ वर्षीया अजिता थारु घाइते भएकी थिइन् ।

चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट तीन महिला र एक पुरुष गरी ४ जनाको ज्यान गइसकेको छ भने ७ जना घाइते भइसकेको डिभिजन वन कार्यालयको तथ्यांकले पुष्टि गर्छ । पछिल्लो समयमा चितुवाको आक्रमण बढ्न थालेपछि सर्वसाधारण त्रसित बनेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय