सुर्खेत, वैशाख १० : पछिल्लो समयमा सरकारी एवं सामुदायिक विद्यालयमा एउटा होड चलिरहेको छ, “साधारण विद्यालयलाई प्राविधिक धारमा रुपान्तरण गर्ने अर्थात् व्यावसायिक शिक्षा सञ्चालन गर्ने ।” मुलुक संघीयतामा गइसकेपछि विशेषगरी स्थानीय तहका सरकारमा यो होड ह्वात्तै बढेको छ ।
साधारण विद्यालयबाट उत्पादित जनशक्ति बढीजसो बेरोजगार हुन थालेपछि गरिखाने शिक्षामा जोड दिने नीति तीनै तहका सरकारले लिएको पाइन्छ । तीनै तहका सरकारले यो नीतिमा जोड दिएसँगै अहिले वडा पालिकास्तरसम्म प्राविधिक विद्यालय सञ्चालन हुँदै गएका छन् ।
त्यही नीतिलाई अङ्गालेर वीरेन्द्रनगर नगरपालिका–११ सुर्खेत गाग्रेतालस्थित नेपाल राष्ट्रिय चन्द्रगङ्गा माध्यमिक विद्यालय आफ्नो सुन्दर भविश्य निर्माणको योजना बनाइरहेको छ । सरकारी विद्यालयमा पढाइ नै हुँदैन र अङ्ग्रेजी माध्यमका विद्यालयको विकल्प छैन भन्ने बुझाइलाई यो सामुदायिक विद्यालयले राम्रोसँग चिरेको छ । विसं २०३० मा स्थापित यो विद्यालयले हाल १ कक्षादेखि मावि तहसम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पठनपाठन गरिरहेको छ ।
साढे १० बिघा जमिनको क्षेत्रफलमा रहेको यो माविमा एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् । यसले कृषि बाली विज्ञान, व्यवस्थापन र शिक्षा सङ्काय सञ्चालन गरेको छ । स्थायी शिक्षक दरबन्दीको अभावमा निजी जनशक्ति आपूर्ति गरेर भए पनि विद्यालय सञ्चालन गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद सुवेदीले जानकारी दिए ।
“विद्यालय कोरा ज्ञान सिकाउने स्थल मात्र होइन, यो नैतिक तथा व्यावहारिक शिक्षा प्रदान गर्ने पवित्र स्थल हो । आदर्श व्यक्ति निर्माणको जग हो । त्यसमा अझै उत्पादित जनशक्ति स्वरोजगार होस् भनेर दुई वर्षदेखि हामीले तीन वर्षे बाली विज्ञान सङ्कायको पठनपाठन शुरु गरेका छौँ”, अध्यक्ष सुवेदीले भने । खासगरी वातावरणीय प्रभाव मूल्याङ्कन गरेर यो सङ्काय सुरु गरेसँगै विद्यालयलाई जैविक कृषि अनुसन्धान तथा परीक्षण केन्द्र बनाउने तयारीमा लागिएको उनले बताए ।
उक्त विद्यालयका प्राचार्य नेत्रमणि चालिसेले विद्यालयलाई अनुसन्धान, परीक्षण, उत्पादन, मनोरञ्जन र नैतिक तथा आदर्शवान चरित्र निर्माण गर्ने स्वर्णीम भूमिका रुपमा विकास गर्दै लैजान योजनाका साथ अघि बढेको बताए। “हामीसँग भूगोल प्रशस्त हुँदाहुँदै भवनको कमी छ । यद्यपि उद्देश्य परिपूर्तिका लागि बनाइएको योजना मुताविक कार्यान्वयन तहमा जान्छौँ”, प्राचार्य चालिसेले भने ।
उनले अगाडि भने, “विद्यालयले पाँच हजार गाई र पाँच हजार बाच्छा पाल्छ । टनेलबाट खसेको पानीबाट सानो पोखरी निर्माण गर्छ । माछा पोखरी र ग्रेनरी हाउस बनाउँछ । प्राङ्गारिक मलका लागि केतुकी, निमपत्ता, तीतेपाती, निम, सिस्नोलगायतका बिरुवाको खेती गर्छ । फलफूलमा केरा, आँप, कागती, मेवा, स्ट्रबेरी फलफूल खेतीको थालनी गरेका छौँ ।”
गोलभेँडा, आलु, फर्सी, करेला, गाँजा, मूला, काँक्रा र विभिन्न जातका सागपातलगायत तरकारीजन्य खेती विद्यालयले गर्दै आएको प्राचार्य चालिसेले बताए । विद्यालयमा प्रवेश गर्ने जो कोहीको मनमस्तिष्क चोर्ने र आनन्दको अनुभूति गर्नेगरी गार्डेन, चिल्ड्रेनपार्क निर्माण गर्ने बताउँदै उनले मूलतः यो विद्यालयलाई कर्णाली प्रदेशको जैविक अनुसन्धान तथा परीक्षण केन्द्र बनाउने तयारी भइरहेकाले तत्काल रु एक करोड ५० लाख बजेट आवश्यक रहेको जनाए ।
यसका लागि कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयमा पहल भइरहेको उनको भनाइ थियो । तरकारीजन्य उत्पादनमा आउने रोग सबैभन्दा ठूलो समस्या भएको भन्दै उनले यसको निदानमा कृषि प्राविधिकले विशेष ध्यान दिन आग्रह गरे ।
वीरेन्द्रनगर नगरपालिका–११ का वडाध्यक्ष नन्दलाल शर्माले समाज विकासको महत्वपूर्ण शिक्षा नै भएकाले स्थानीय सरकार तथा समुदायस्तरबाट उक्त विद्यालयको निर्माण र गुणस्तरमा सहयोग पुर्याइएको बताए । उनले भने, “यो वडामा पाँच विद्यालय छन् । जसमा दुई विद्यालयमा व्यावसायिक शिक्षाको पठनपाठन भइरहेको छ । नागरिकलाई शिक्षा मात्रै नभई गरिखाने शिक्षाको आवश्यकता महसुस गरी चन्द्रगङ्गा माविमा तीन वर्षे बाली विज्ञान र शिव मावि धुलियाबिटमा सुर्खेतमा तीन वर्षे पशुविज्ञान सङ्काय सञ्चालन गरिएको उनको भनाइ थियो ।
उक्त वडाका स्थानीय शिक्षाप्रेमी तथा विद्यालय विव्यस सदस्य गोविन्दप्रसाद शर्माले कृषि बाली विज्ञानका विद्यार्थीले पढ्दै उत्पादन गर्दै गरेको बताए । “बाली विज्ञानका विद्यार्थीले उत्पादन गरेको तरकारी डेढ टन जति भयो । परीक्षण वर्षलाई आम्दानीसँग तुलना गरिएन तर यो काम देखेर निकै खुशी पनि लाग्यो । कृषि शिक्षा लागू भएपछि विद्यालयको बाँझो जमिन हरियो भएको छ ।
यसले समुदायका नागरिकलाई समेत खेती गर्न उत्प्रेरणा जगाएको छ”, शिक्षाप्रेमी शर्माले भने । उनकाअनुसार जैविक अनुसन्धान केन्द्र निर्माणको पूर्वाधारका रुपमा उक्त विद्यालयद्वारा स्थापित एकीकृत जैविक कृषि मोडेल फार्म प्रदर्शनी तथा अनफार्म अनुसन्धान प्लटको गत फागुन ६ गते उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नुभएको थियो ।
यता कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले चन्द्रगङ्गा माविले जैविक अनुसन्धान केन्द्र तयारीको पूर्वाधार निर्माण गरिसकेकाले सो कार्य अगाडि बढाउन विद्यालय परिवारलाई सुझाए । लकडाउनकै क्रममा सो विद्यालयको अनुगमनमा आज त्यहाँ पुग्नुभएका कृषिमन्त्री केसीले भने, “विद्यालय परिवारले मानव जीवनका लागि अत्यावश्यक हुने कृषिको महत्व र मूल्यलाई बुझेर सपनासहितको योजना निर्माण गरेको छ । त्यसका लागि सक्दो सहयोग गर्न सरकार तयार छ ।” यसबाट सरकारको अर्गानिक प्रदेश निर्माणको अभियानमा सहयोग पुग्ने उनको भनाइ थियो ।
विश्वव्यापी महामारीका रुपमा फेलिएको नोबेल कोरोना भाइरस (कोभिड–१९) को प्रभावले सबै क्षेत्रको काम अवरुद्ध भएको जनाउँदै कृषिमन्त्री केसीले त्यहाँका किसानलाई बीउबिजन, बाली भित्र्याउन काम नरोक्न तर सामाजिक दूरी कायम गर्न अनुरोध गरे । त्यसका साथै तरकारी, दूध, अण्डा, माछा र मासु जस्ता उपभोग्यवस्तु बजारीकरण गर्न अवरोध भएमा मन्त्रालयले पशुपक्षीजन्य उत्पादनका लागि पशुपक्षी विकास निर्देशनालय र तरकारीजन्य वस्तुका लागि कृषि विकास निर्देशनालयबाट दुई वटा गाडीको व्यवस्था गरेको भन्दै किसानलाई त्यसमा सम्पर्क राख्न सुझाए ।