दाङ, वैशाख १२ : दाङ क्षेत्र नम्वर १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरी हिजोआज राहत वितरणमा व्यस्त छन् । उनले आफ्नै नामबाट ‘मेटमणि राहत कोष’ खडा गरेर राहत वितरणको काम थालेका छन् ।
गत चैत ११ गतेदेखि देशभर ‘लकडाउन’ भएपछि उनले १८ गतेदेखि नै राहत संकलन र वितरणको काम गरेका छन् । क्षेत्र नम्वर १ का विकट एवम भारतीय सीमा क्षेत्रमा बसोबास गर्ने अतिविपन्न बासिन्दालाई राहत वितरण गरिरहेको उनले बताए । ‘भारतसँग सीमा जोडिएको कोइलाबास, भौवा, भैसाही, स्वाउलेलगायत गाउँहरुमा आफ्नै पहलमा स्वास्थ्य सामग्री र खाद्य पदार्थ वितरण गरेँ’, उनले भने, ‘अब अन्य आधा दर्जन गाउँहरुमा राहत वितरणको तयारी गरेको छु । रकम र राहत सामग्री संकलन भैरहेको छ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य चौधरीले हालसम्म खाद्य र स्वास्थ्य सामग्री गरी रु १२ लाख बराबरको वितरण गरिसकेका छन् । उनले आफ्नै खाताबाट रु एक लाख ५० हजार राहत वितरणमा खर्च गरेको र अन्य रकम आफन्त, साथीभाइबाट जुटाएका हुन । सरकारले एकद्वार प्रणालीमार्फत स्थानीय सरकारलाई मात्रै राहत वितरण गर्ने जिम्मा दिए पनि चौधरी त्यसको बेवास्ता गर्दै एक्लै राहत वितरणमा खटिएका छन् ।
स्थानीय सरकारले प्रत्येक गाउँमा पाँचदेखि सात क्विन्टलसम्म राहत वितरण गरेको र त्यो अपुग भएको हुँदा जनताले तारन्तार फोन गरेर दुःख सुनाउन थालेपछि आफैँ राहत संकलन र वितरणमा खटिएको उनी बताउँछन । ‘अन्य समयमा निकै नजीक बन्ने र हुनेखानेहरुले पनि विपद्मा साथ दिएका छैनन्’, उनले भने, ‘जनताले भोकभोकै पर्यौंँ भनेर दुःख सुनाउँछन् । स्थानीय सरकारले सबैलाई पुर्याउन सकिरहेको छैन, त्यसैले सक्रिय हुनुपरेको छ ।’
नेकपाका सचेतक शान्ता चौधरी पनि अहिले कोरोना महामारीको कारणले सबैतिर समस्या रहे पनि विशेष गरी मजदूरहरुको उद्धारमा लागेका छन । ‘सबैका लागि यो महामारी निकै समस्याको घडी हो । जनताको प्रतिनिधि ठानेर सबैले फोन गर्छन्, समस्या सुनाउँछन्, सकेको सहयोग गरेकी छु’, केन्द्रीय सदस्य चौधरीले बताए । उनले काठमाडौँ, पोखरालगायत ठूला शहरमा दाङबाट काममा गएका मजदूरलाई जिल्ला फर्काउनका लागि पहल थालेका छन ।
दाङबाट निर्वाचित नेकपाका अन्य नेता निवर्तमान सभामुख कृष्णबहादुर महरा र पूर्वमन्त्री रेखा शर्मासँगको समन्वयमा मजदुर उद्धारको काम भइररहेको उहाँले बताए । ‘हिजोमात्रै ४५ जनालाई पोखराबाट काठमाडौँ ल्याउन सहयोग गरेँ ’, उनले भने, ‘समस्यामा पर्यौंँ भनेर फोन गर्छन्, नजीक भएकालाई आफ्नो गाडी चालकलाई पठाएर सहयोग गरेकी छु, टाढा भएकालाई त्यहाँका प्रमुख जिल्ला अधिकारी, जनप्रतिनिधिसँग समन्वय गरेर राहतको लागि पहल गरेकी छु ।
छाकै बस्यो, यता पुगेन, उता पुगेन भनेर जनताले दुखेसो गर्दा प्रतिव्यक्ति अवस्था हेरेर रु दुईदेखि पाँच हजारसम्म सहयोग रकम दिएको छु ।’ प्रदेशसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता डिल्ली चौधरी पनि अहिले राहत र उद्धारको काममा व्यस्त छन । तुलसीपुर उपमहानगरले थालेको यात्रुलाई गन्तव्यसम्म पुर्याउने र खाना खुवाउने काममा उनले सक्रियता देखाएका छन् ।
गाउँगाउँमा राहत वितरणको काममा चौधरीको आर्थिक र भौतिक सक्रियता देखिएको छ । यस्तै प्रतिनिधिसभा सदस्य हीराचन्द्र केसी र राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले पनि राहत वितरणको काममा अगुवाइ गरिरहेका छन् । उनीहरूले पनि आफ्नै व्यक्तिगत रकम र संकलन गरेर राहत वितरण गरेका छन् । जनताले समस्या पर्दा नेतालाई सुनाउने हुँदा आफूहरु सक्रिय हुनुपरेको नेताहरुको भनाइ छ ।
‘लकडाउन’का समयमा नेताहरु राहत वितरणमा सक्रिय बनेपछि सामाजिक सञ्जालमा भने आलोचना हुने गरेको छ । स्थानीय सरकारले गर्नुपर्ने काम नेताले व्यक्तिगत रुपमा गरेको र सरकारी संयन्त्रलाई बेवास्ता गर्ने गरेको आरोप तिनलाई आरोप लाग्ने गरेको छ । दाङमा अहिले प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित तीन र समानुपातिक तीन गरी नेकपा र कांग्रेसका ६ केन्द्रीय नेताहरु छन् ।
प्रदेशसभामा प्रत्यक्ष निर्वाचित ६ र समानुपातिकबाट तीन गरी नौ प्रदेशसभा सदस्य हुन । यस्तै राष्ट्रियसभामा दाङका तीन जनाले प्रतिनिधित्व गरेका छन ।