नेपालगञ्जमा सामाजिक र धार्मिक सद्भाव कायम गर्न आग्रह
बुधबार, बैशाख २४, २०७७ मा प्रकाशित

नेपालगञ्ज, वैशाख २४ : नेपालगञ्जमा कोरोना सङ्क्रमण बढ्दै जाँदा यहाँका जनप्रतिनिधिले सामाजिक र धार्मिक सद्भाव कायम गर्दै धैर्य रहन आग्रह गरेका छन्। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाले सामाजिक र धार्मिक सद्भावका लागि अपिल गर्दै कुनै पनि भ्रम र अफवाहको पछि नलाग्न अनुरोध गरे । उनले सामाजिक सञ्जालमार्फत भ्रमपूर्ण सूचना पर्वाह नगरीे  सदुपयोगका लागि आग्रहसमेत गरे ।

कोरोना सङ्क्रमण न्यूनिकरणका लागि प्रदेश र केन्द्र्र सरकारसँग समन्वय गरी द्रुत गतिमा काम भइरहेकोले कोरोना परीक्षणका लागि समुदायस्तरमा खटिने स्वास्थ र सुरक्षाकर्मीलाई आवश्यक सहयोग र समन्वयका लागि उनले आग्रह गरे ।

डा राणाले अहिलेको अवस्थामा स्थानीय प्रशासनले लागु गरेको निषेधाज्ञाा र सरकारले लागु गरेको बन्दाबन्दीको पूर्ण पालना गर्दै स्थानीय प्रहरी, प्रशासन र स्थानीय तहलाई सहयोग गर्नु नै सङ्क्रमण रोकथामको उपाय भएको बताए ।

जोखिमपूर्ण घडीमा अग्रभागमा खटिएर उच्च मनोबलका साथ कार्यरत सम्पूर्ण स्वास्थ्य र  सुरक्षाकर्मीप्रति सदाशयता देखाउँदै नगरवासीले थप सजग, सचेत र सावधानी अपनाउनुपर्ने उनको भनाइ छ ।

नगरमा कोरोना सङ्क्रमण देखिएपछि न उपमहानगरपालिका, स्वास्थ्य कार्यालय, भेरी अस्पताल र स्थानीय प्रहरी प्रशासन बढीभन्दा बढी परीक्षणमा जुटेको जानकारी दिँदै डा राणाले कन्ट्रयाक्ट ट्रेसिङमार्फत सङ्क्रमितको सम्पर्कमा पुगेका व्यक्तिको पहिचान भइरहेको बताए ।

खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले पनि कोरोना सङ्क्रमण देखिँदैमा नआत्तिन अनुरोध गर्दै धैर्य रहन आग्रह गरे ।  रोगले कुनै पनि धर्म, जाति र सम्प्रदाय नभन्ने भएकाले सामाजिक सद्भाव र धार्मिक सद्भाव कायम गर्दै सबैले बन्दाबन्दीको पालना गरी सजग रहनुपर्ने उनको भनाइ छ ।

सङ्घीय सांसदको सक्रियता

गृह जिल्लामा कोरोना भाइरस सङ्क्रमण देखिएपछि बाँकेबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले सक्रियता देखाएका छन् ।  प्रतिनिधिसभा सदस्य पूर्णाकुमारी सुवेदीले सरकारको सम्पूर्ण ध्यान नेपालगञ्जमा केन्द्रित हुनुपर्ने माग गरेकी छिन् ।  नेपालगञ्जमा सङ्क्रमितको सङ्ख्या बढ्दो रहेकाले सङ्क्रमण न्यूनीकरणका लागि सम्पूर्ण स्रोत साधन र जनशक्ति नेपालगञ्जमा केन्द्रित हुनुपर्ने उनको माग छ ।

यसअघि सोमबार प्रतिनिधिसभामा बाँकेबाट प्रतिनिधित्व गर्ने सांसदले स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाललाइ भेटी  नेपालगञ्जमा तत्काल आवश्यक उपकरण, किट तथा अन्य सामान पठाउन माग गरेको बाँके क्षेत्र नं ३ का सांसद नन्दलाल रोकायले जानकारी दिए । बाँकेमा हालसम्म २३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर