असोज १७, काठमांडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भ्रातृ संगठन राष्ट्रिय युवा संघको जिम्मेवारी बाँडफाँड हुँदा विराटनगर महानगरपालिकामा भने आपराधिक पृष्ठभूमिका व्यक्तिहरूले नेतृत्व पाएका छन्।
राष्ट्रिय युवा संघले बिहीबार केन्द्रीय निकाय, विभाग र आयोगहरूको बाँडफाँड, जिल्ला, महानगर र उपमहानगरको नेतृत्वबारे निर्णय गरेको थियो। विराटनगर महानगरपालिकामा आजम परवेज मियाँलाई संयोजक तोकिएको छ।
उनी ज्यान मार्ने उद्योगमा जिल्ला अदालत र उच्च अदालतले ६ महिना जेल सजाय तोकिएका अभियुक्त हुन्। यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन रहिरहेकै बखत युवा संघले पार्टीमा महत्वपूर्ण जिम्मेवारी दिएको हो।
मियाँले सर्वोच्च अदालतमा पुनरावेदन गरिरहेकाले पक्राउ गर्न नमिल्ने ‘छुट पूर्जी’ बोकिरहेका छन्।
मोरङ प्रहरीले एक पटक केही समयअघि पक्राउ गरे पनि पुनरावेदनको छुट पूर्जीका कारण छोडेको पीडितले बताएका छन्।
उनीमाथि विराटनगर-९ का मोहम्मद जाकिर हुसैन, साकिर हुसैन र साजिद हुसैनमाथि २०६९ साल भदौ ३ गते ज्यान मार्ने कसुर गरेको अभियोग छ। पीडितहरू एकाघरका दाजुभाइ हुन्।
पीडितका बुवा सलिम हुसैनका अनुसार तरबार प्रहार गरी तीनै छोरालाई परवेजले सख्त घाइते बनाएका थिए। उनलाई यो मुद्दा ९ वर्षसम्म चलिरहँदा प्रहरीले पक्राउ गरेन। ‘अहिले सर्वोच्चको छुटपूर्जी बोकेर कानुनी राज्यलाई चुनौती दिइरहेका छन्, खै हामीलाई त कहिल्यै न्याय भएन,’ हुसैनले सेतोपाटीसँग भने।
परवेजमाथि यो सँगै अन्य तीन वटा मुद्दा पनि थिए। हजमिरी हुसैनलाई ज्यान मार्ने उद्योग गरेको अभियोग उनीमाथि छ। यस्तै, २०६८ भदौमा उनले विराटनगरका खमानसिंह बोहरालाई अपहरण तथा शरीर बन्धक बनाएर १० लाख रुपैयाँ असुल्न खोजेको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
उनले उक्त मुद्दामा अदालतबाट सफाइ पाएका थिए। उनी सुरूमा कांग्रेसनिकट रहेर विराटनगरमा आपराधिक गतिविधि गर्थे। पछि माओवादीमा गएका थिए।
यस्तै, महानगरपालिकाको सहसंयोजकमा किरण लामालाई जिम्मेवारी दिइएको छ। उनलाई पनि मनसायजन्य सवारी दुर्घटना गरेको कसुरमा प्रहरीले एक वर्षअघि पक्राउ गरेको थियो। उनी सवार सवारीले विराटनगर-४ बरगाछीमा मोटरसाइकललाई ठक्कर दिँदा शंकरकुमार मिश्रको मृत्यु भएको थियो। उनी केही समय जेल परेर छुटेका थिए।
लामा सवार बा२०च ७४० नम्बरको गाडीले को३प ५६३४ ठक्कर दिँदा मिश्रको घटनास्थलमै मृत्यु भएको थियो। एयरपोर्टमोडको एक होटलमा मदिरा सेवन गरेर गाडी चलाई आएका लामा सवारी दुर्घटना गराएर केही समय फरार भएका थिए।
जानी-जानी दुर्घटना गराएर उनले ज्यान लिएको आरोपमा प्रहरीले पक्राउ गरेको थियो।
त्यसअघि पत्रकार प्रह्लाद गुरागाईंलाई कुटपिट गरेको अभियोगमा पनि उनी पक्राउ परेका थिए। केही सार्वजनिक अपराध अन्तर्गत जिल्ला प्रशासन कार्यालय मोरङबाट उनी धरौटीमा छुटेका थिए।
यस्तै, युवा संघको विराटनगर महानगरपालिका इञ्चार्जमा रोहित कोइरालालाई जिम्मेवारी दिइएको छ। उनी पनि निर्विवाद छविका हैनन्। उनी पनि अपहरण तथा ज्यान मार्ने उद्योग मुद्दा खेपेका व्यक्ति हुन्। २०६८ सालमा ज्यान मार्ने उद्योग मुद्दामा ६ महिना जेल परेर उनी छुटेका थिए।
परवेज पूर्वमाओवादी, लामा र कोइराला पूर्वएमालेबाट नेतृत्व भागवण्डामा आएका हुन्।
पार्टी एकता भएपछि नेकपाको भ्रातृ संगठनमा जिम्मेवारी तोकिएको थिएन। नेकपाको महाधिवेशनअघि राष्ट्रिय युवा संघको महाधिवेशन हुने छ। सो अवधिसम्मका लागि नेतृत्व चयन भएको युवा संघले जनाएको छ।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य महेश रेग्मीले आफूहरूलाई सोधीखोजी नगरीकन पार्टीका महत्वपूर्ण पदमा विवादित र आपराधिक पृष्ठभूमिका व्यक्तिलाई जिम्मेवारी दिइएको बताए।
‘हामीसँग कुनै सरसल्लाह भएको छैन,’ उनले भने, ‘कस्तो व्यक्तिलाई कमिटीमा ल्याउँदा पार्टीको गरिमा र ओज बढ्छ भन्ने ख्याल गरिएको छैन।’
राष्ट्रिय युवा संघका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’का अनुसार परवेज वाइसीएलका पूर्वजिल्ला सचिव हुन्। लामो समयदेखि राजनीतिक गतिविधिमा संलग्न रहेकाले उनलाई जिम्मेवारी दिइएको सापकोटाले बताए।
‘उहाँको मुद्दा-मामिलाबारे हामीलाई थाहा भएन, राजनीतिक कार्यकर्तालाई अलिअलि मुद्दा लाग्नु सामान्य हो,’ उनले भने, ‘उहाँलाई राजनीतिक कारण पनि मुद्दा लागेको हुनसक्छ, उहाँको मुद्दाबारे जानकारी भएन।’
उनले निजी र अराजनीतिक झगडामा मुद्दा परेको हो भने प्रमाणित भएको अवस्थामा पार्टी कमिटीबाट निष्काशन गर्ने बताए। साभार सेतोपाटी