चिया बेच्दै पुर्व गाविस अध्यक्ष
आइतबार, असोज १८, २०७७ मा प्रकाशित

मुना पौडेल

असोज १८, बर्दिया । गुलरिया नगरपालिका–७ बगलामुखी मन्दिर टोलमा व्यावसाय गर्ने गेरुवागाउँपालिका– २ सुखारका ५६ वर्षिय टेक वहादुर थारुको अहिलेको परिचय चिया पसले चौधरी दाई हो । सरकारी कार्यालयका कर्मचारी र स्थानीयले चिया पसलले दाई भनेर नै उनलाई चिन्छन् । तर,अहिले उनी अस्वस्थ छन् । ब्लड प्रेशर बढ्दा उनको स्वास्थ्यमाा समस्या उत्पन्न भएको छ ।

२०५८ साल देखि दुःख सजिलो गरि गुलरियाको विभिन्न ठाउँमा चिया बेचिरहेका उनको अहिले चिया व्यावसाय फस्टाउँने क्रममा छ । पत्नि कमला सघाउँछिन र उनी कार्यालय कार्यालयमा चिया पु¥याउँछन । दुई दशक वित्न लाग्दा पनि चिया व्यावसायमा तल्लिन उनी कम्ती सन्तुष्ट छैनन् । ‘व्यावसायमा म धेरै सन्तुष्ट छु’ थारुले भने, ‘ग्राहकलाई राम्रो र सफा दिनु मैले कर्तव्य ठान्छु ।’

झिसमिसेमा विहानैमा चिया पसल खोल्ने उनी चिया बेचेर दिन व्यतित गर्छन । चिया वा खाजा खान पसल पुग्ने ग्राहकलाई राम्रो र सफा कसरी दिन सकिन्छ भन्नेमा अहिले उनको ध्यान केन्द्रित छ ।

तर, यिनै थारु निर्दलीय व्यवस्था देखि बहुदलिय व्यवस्था सम्म आईपुग्दा दुई दशक जनप्रतिनिधि जिम्मेवारी सम्हालेका व्यत्ति भन्ने कुरा ग्राहकले भने भेउँ पाउँदैनन । उनको सरल बोली वचन र व्यवहारमा पुरानो पदीय जिम्मेवारीको कुनै भनक देखिदैन । साधरण सर्ट र पाईन्ट पहिरनमा उनी आर्कषक व्यावसायी देखिन्छन् । सफा, राम्रो र खाजा वा चियाले ग्राहकलाई आकर्षित गर्ने काम उनको प्राथमिकतामा पर्छ ।

पहिला के थिए र मेरो अहिले परिचय के हो भन्नेमा स्वयम उनले हेक्का राख्दैनन् । ‘म जे गर्छु राम्रोसँग गर्छु भन्ने मात्र हो’ उनले भने, ‘मैले दिएको सेवा ग्राहकलाई सन्तुष्ट पार्न सके म खुसी हुन्छु ।’ उनलाई चिने जानेका भेटिए पनि बिना हिचकिचाहट चिया ख्वाएर पठाउँछन । चिया र खाजा खान आउँने जो कोहिलाई पनि राम्रोसँग स्वागत गर्छन । उनको एक छोरा र एक छोरी छन् ।

परम्परागत खेती किसानीलाई धानेका थारुलाई गाउँलेले पंचायत कालमा गाउँ फर्क अभियान चलेको बेला जबरजस्ती गाविस सदस्यमा मनोनित गरिदिए । त्यसपछि उनलाई राजनैतिक चस्का छोएकोे थियो । निर्दलिय व्यवस्थामा १५ वर्ष सदस्य भएर गाउँलेको सेवामा खटिए । कर्तव्यनिष्ठ भई काम गर्ने क्रममा पंचायतका जनप्रिय सदस्यको रुपमा स्थापित भए । २०४३ सालमा गाउँको पंचायतको उपप्रधानमा निर्वाचित भएका थिए । गाउँलेको साथ पाएर उपप्रधान भएका उनी राजनीतिमा जोश जाँगर थपिदै गयो । गाउँलेले दिएको जिम्मेवारी कर्तव्य ठानेर काम गरे । लाख कोशिस गर्दा पनि राजनीतिबाट बाहिर निस्कन सकेनन् ।

राजनीतिक परिवर्तसँगै देशमा बहुदल आएपछि कुनै पनि जिम्मेवारी नलिने उनको सोच बन्यो । गाउँलेका काम गरेपनि सर्वसाधरण जिवनतिर उन्मुख हँुदै थिए उनी । त्यस बिचमा उनलाई लाग्यो खेती किसानी वा व्यावसाय गर्ने । तर, जनप्रिय प्रतिनिधिको रुपमा स्थापित भईसकेका राजनीति नगरी धर पाएनन् ।

थारुलाई काग्रेसको राजनितिमा ल्याएका नेपाली काग्रेसका नेता पुर्ण राज उपाध्याय (लल्लु वावु) अहिले यस संसारमा छैनन् । उपाध्याय त्यस वेला जिल्ला सभापतिमा निर्वाचित भएका थिए । उपाध्यायले थारुलाई काँग्रेसको चोवन्नि (ठेलिवाट दिएको सदस्यता) सदस्यता दिए । उपाध्यायको संगतले थारुलाई निकै छिटो गाविस अध्यक्ष भए । उपाध्यायले तिमी जनताको प्रिय भएको काँग्रेसबाट गाविस अध्यक्ष भन्ने प्रस्ताव राखेको उनलाई अहिले जस्तै लाग्छ । ‘मलाई अध्यक्षको प्रस्ताव राखेको हिजो जस्तै लाग्छ’ उनले विगत स्मरणमा भने, ‘त्यसरि नै दिएको टिकट मेरो लागि सर्वस्वीकार्य भयो ।’

उपाध्याय वा ‘लल्लु वाव’ु को नाम यस क्षेत्रमा धेरै चल्तीको नाम हो । प्रशस्त जमिन, जग्गा र व्राहमण परिवारको भएकाले काग्रेस राजनीतिमा उनकै दबदबा थियो । उपाध्यायले चाहेको काँग्रेसमा कुरा काट्ने कोहि थिएनन् । अनुभव, ईमान्दार र कर्तव्यनिष्ठ व्यत्तित्वमा थारुको नाम पनि सर्वसाधरणले लिन गर्थे । यस्तै कारणले होला काँग्रेस राजनीतिमा थारुलाई उपाध्यायले तानेका थिए ।

उपाध्यायले दिएको प्रस्ताव टार्न नसकेर बहुदलीय प्रजातन्त्रको पुर्नवहाली पछि २०४८ सालमा काँग्रेसबाट गाविस अध्यक्षमा उम्मेदवारी दिए । पंचायतकालमा नाम जोडिएका कारण जनताको नजरमा गिरेको हो कि भन्ने उनले अनुभुति पनि गरेका थिए । तर प्रतिद्धन्दि एमालेका गोपाल सिंह डाँगीलाई पछि पारेर गाविस अध्यक्षमा थारु विजयी भए । थारुको डाँगीभन्दा मतान्तर ४ सयले अघि थियो । त्यसपछि उनको काँधमा झन जिम्मेवारी थपियो । ‘पंचायतकाल भन्दा त्यति खेर जनप्रतिनिधिले के काम गर्न सकेको अनुभुति गरे’उनले स्मरण गर्दे भने, ‘पंचायतकालमा राजाको जन्मोत्सवको लागी मात्र बजेट छुटिन्थ्यो, त्यस बाहेकको काम स्वयम आफैले गर्न पथ्र्यो ।’ आफु जनप्रतिनिधि चुनिएपछि एमालेको सरकारको नेतृत्व भएका बेला तीन लाख बजेट गाविसलाई दिएपछि काँग्रेसको पालामा त्यहि बजेट पाँच लाख सम्म भएको उनलाई सम्झना छ । त्यतिवेला विद्यालयका नीजि स्रोत शिक्षकको तलब, धारा गाडन र केहि बजेट पुलपलेसा बनाउन खर्च गरिएको उनले सुनाए । पाँच वर्षे कार्यकाल उनको सुखद वित्यो ।

तर, २०५४ सालको निर्वाचनमा एमालेसँग थारु झिनो मतले हारे । ६१ मतले विपक्षी विजयी भयो । तर, पनि उनले काँग्रेसको विचार छाडेका छैनन् । तर, जनताले अह्राएको काम गर्न नसेकेको हारेपछि उनलाई लागेको छ । रुचि र लक्ष्य सबै त्यहि एकपलले बदलिएको जस्तो लाग्छ उनलाई । लामो समय जनप्रतिनिधिको रुपमा रहेका उनको त्यति खेर देखि ब्रेक लाग्यो ।

करिब दुई दशक निर्दलिय र बहुदलीय व्यवस्थामा जनप्रतिनिधि बनेका उनी देश द्धन्द्धमा गुज्रिदै गर्दा त्यसको असर पर्न थाल्यो उनलाई । ‘राज्यले माओवादीको कार्यकर्ताको दृष्टिकोण र माओवादी पार्टीमा आउन दवाव दिन थालेपछि गाउँमा बस्ने स्थिति रहेन’ उनले भने । २०५८ सालमा सुरक्षाको दृष्टिकोणले सदरमुकाम गुलरियामा बस्न थाले । सधै राजनीतिमा होमिएर पद ओगट्न नहुने उनले तर्क गर्छन । पार्टीको निर्देशनमा चल्ने र जनताको सेवामा समर्पित हुने मात्र जनप्रतिनिधिको धर्म ठान्छन उनी । ‘चापलुसीमा टिकट लिने र पदमा पुगेपछि स्वार्थ हेर्न हुदैन’ उनले अहिलेको अवस्थालाई चित्रण गर्दे भने, ‘जनताको मर्म अनुसार चल्न नसके सक्षमलाई अवसरबाट बन्चित गर्न हुदैन ।’

प्रतिक्रिया

सम्बन्धित खवर