बाँसपानी गोली काण्ड : उपसेनानी कुवँरलाई फौजदारी मुद्दा चलाउन आयोगको निर्देशन
शुक्रबार, असोज ३०, २०७७ मा प्रकाशित

३० असोज, बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्जको बाँसपानीमा २०६६ फागुन २६ गते सेनाले नै हत्या गरेको ठहर राष्ट्रिय मावन अधिकार आयोगले गरेको छ । आयोगले २०५७ सालदेखि हालसम्म भएका मानव अधिकार उल्लंघनकर्ताको नाम सार्वजनिक गर्दै बाँसपानी घटनामा नेपाली सेनाले तीन जनाको हत्या गरेको ठहर आयोगले गरेको हो ।

घटनामा संलग्न नेपाली सेना ज्वालादल गण, ठाकुरद्वारा बर्दियाका उपसेनानी सुवोध कुवँरलाई नियमित अदालतमा फौजदारी मुद्दा चलाउन सिफारिस गरेको छ ।

२०६६ फागुन २६ गते निकुञ्जको बासपानी निगाल झाप्रीमा काउलो खोज्न गएका साविक हरिहरपुर गाविसका १२ वर्षीय चन्द्रकला विश्वकर्मा सुनार, ३५ वर्षीय देवीसरा विक र ३३ वर्षीय अमृता विकको सेनाले हत्या गरेको थियो । निकुञ्जस्थित सेनाको ज्वाला दल गणबाट गस्तीमा हिँडेका सैनिकले बलात्कार गरी गोली हानेर हत्या गरेको दाबी पीडित पक्षले गर्दै आएका छन् ।

यस्तै, दैलेखका पत्रकारलाई कुट्ने प्रहरीलाई आयोगले विभागीय कारवाही गर्न सिफारिस गरेको छ । २०६८ साल कार्तिक १ गते पत्रकारलाई कुटपिट गर्ने जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी नायव निरीक्षक हरिबोल केसी, प्रहरी नायव निरीक्षक सोभन राणा, प्रहरी सहायक निरीक्षक ईन्द्रबहादुर मल्ल, प्रहरी हवल्दार हरिलाल थापामगर र प्रहरी जवान रन्जित खड्कालाई कारवाही गर्न आयोगले सिफारिस गरेको हो ।

उनीहरुले तत्कालिन नेपाल पत्रकार महासंघका अध्यक्ष पुष्कर थापा, एभिन्यूज टिभीका दैलेख सम्वाददाता भूपेन्द्र शाही, हिमालयन टिभीका सम्वाददाता रत्न शाही र जिल्ला विकास समिति दैलेखका नायब सुब्बा खगेन्द्र थापालाई कुटपिट गरेका थिए ।

दैलेख साविक डाँडापराजुल गाविस ५ का अमर हमालको ०६२ माघ ८ गते नेपाली सेना र सेनाबाट नियुक्त भिजिलान्तेबाट गोली हत्या गरेको आयोगले जनाएको छ ।

आयोगले नेपाली सेना, भवानी बक्स गण दैलेखका यामबहादुर चन्दलाई मुलुकी ऐन ज्यान सम्बन्धी महल बमोजिम कानूनी कारवाही गर्न सिफारिस गरेको छ । दैलेख नारायण नगरपालिका–३ का उदय रेग्मी र सुकुल सिंहलाई पक्राउ गरी हत्या गर्ने टाइगर ग्रुपका भुवनसिंह थापा र भवानी बक्स गणका हरिबहादुर चन्दलाई कारवाही गर्न आयोगले सिफारिस गरेको छ ।

थापा र चन्दलाई मुलुकी ऐन ज्यान सम्बन्धी महलअनुसार कारवाही गर्न आयोगले जनाएको छ । उनीहरुको ०६२ भदौ २० गते हत्या गरिएको हो । घटनामा गणपति नयनराज दाहालको समेत संलग्नता भएकाले मुलुकी ऐनको ज्यान सम्बन्धी महल अन्तरगत मुद्दा चालाउन आयोगले सिफारिस गरेको छ । साभार नेपालीरैबार

प्रतिक्रिया

सम्बन्धित खवर