बर्दियामा ‘सुरक्षित यात्रा अभियान’ अनुगमन गरियो
सोमबार, कार्तिक ०३, २०७७ मा प्रकाशित

३ कार्तिक, बर्दिया । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशन अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सुरक्षित यात्रा अभियान सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ ।

असोज १८ गतेबाट चालु कार्यक्रमको कार्तिक २ गते सम्मको १५ दिनको सचेतनामुलक अभियान सम्पन्न भएको छ । कार्यक्रमको अन्तिम दिन उच्चस्तरीय टोलीले सुरक्षित यात्रा अभियान अन्तर्गतको कार्यक्रम आईतबार अनुगमन गरेको छ ।

प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, सशस्त्र प्रहरीका एसपी एनबी रावत तथा जिल्ला प्रहरी कार्यालयका एसपी केदार रजौरेले अभियानको अन्तिम दिन अनुगमन गरेका हुन् ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशन अनुसार जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले चालक तथा सहचालक, पैदल यात्री, राजमार्गमा सञ्चालन हुने यात्रुवाहक सवारी साधनमा यात्रुहरुको पीरमर्का बुझ्ने र सडक किनारमा बस्ने नागरिकहरुलाई दुर्घटना सम्बन्धी सचेतनामुलक प्रशिक्षण कार्यक्रम गरी प्रशिक्षित गराईएको जिल्ला ट्राफिक प्रहरी इन्चार्ज प्रमुख लोकेन्द्र मल्लले जानकारी गराए ।

यस्तै अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले ट्राफिक प्रहरी कार्यालय बर्दियाले गरेको यस सचेतनामुलक प्रशिक्षण कार्यक्रमले सवारी दुर्घटनामा न्युनीकरण हुने अपेक्षा समेत गरेका छन् ।

कार्यक्रममा कोरोना संक्रमणलाई मध्यनजर गरी लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयको निर्देशन अनुसारको सुरक्षित यात्रा अभियान अन्तरगत ट्राफिक प्रहरी कार्यालय बर्दियाले मास्क वितरण र चालकहरुको स्वास्थ्य परिक्षण पनि गरेको थियो ।

चालकहरुको स्वास्थ्य परिक्षणका लागि जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले स्वास्थ्कर्मी र स्वास्थ्य सामाग्रीको सहयोग गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर