१६ कार्तिक, वीरेन्द्रनगर । हरेक वर्ष दसैंतिहार जस्ता पर्व आउँछन्, वीरेन्द्रनगर–५, खार्खाेलास्थित सुकुम्वासी बस्तीका सिउराम र उनकी श्रीमती विष्णु सुनारलाई रुवाएर जान्छन्। कारण, ‘गरिबी’। यो वर्षको दसैंमा यो दम्पतीले नयाँ कपडा फेर्न पाएन। मीठो मसिनो खाने त परको कुरा, घटस्थानाको दिनमा राखेको जमरासमेत नउम्रिँदा निधारमा टीका र कानमा पहेँलो जमरासमेत लगाउन पाएनन् सिउराम र विष्णुले।
यो वर्ष मात्र होइन, यसभन्दा अघिका ३४ वटा दसैंतिहारजस्ता पर्व उनले पुरानै लुगामा मनाए। आर्थिक अभावका कारण ३५ वर्षदेखि नयाँ लुगा फेर्न नपाएको सिउरामले बताए। यही विपन्न दम्पतीलाई सुर्खेतका समाजसेवी तथा युवा नेता तीर्थ सुनारले नयाँ लुगा र खाद्यान्न सहयोग गरेका छन्। जसले गर्दा ३५ वर्षदेखि नयाँ लुगा फेर्ने सिउरामको चाहना पूरा भएको छ। नयाँ लुगा फेर्न नसके पनि छिमेकीले लगाएर दिएका पुराना कपडाले शरीर छोप्ने गरेको उनले बताए। यसपालिको तिहारमा यो दम्पतीले नयाँ लुगा फेर्न पायो। ‘अरुबेला त पुरानै लुगा लगाउँछौं,’ सिउरामले भने, ‘दसैंतिहारमा अरुले लगाएको देख्दा नयाँ लुगा लगाउन मन लाग्छ। ’
नागरिक न्यूज डटकममा ‘मासु र लुगा त परको कुरा, जमरासमेत पाएनन् वृद्ध दम्पतीले’ भन्ने समाचार प्रकाशित भएपछि समाजसेवी तथा युवा नेता सुनारले उक्त वृद्ध दम्पतीलाई नयाँ लुगासँगै खाद्यान्न सहयोग गरेका छन्। सहयोगस्वरूप वृद्धवृद्धालाई नयाँ लुगा (पाइन्ट, सर्ट, चोली र धोती), चामल, दाल र तेल सहयोग गरेको समाजसेवी तथा युवा नेता सुनारले बताए। ‘समाचारमा वृद्ध दम्पतीको कथा पढ्दा मन थाम्नै सकेन्,’ उनले भने, ‘आफ्नो एक गाँससमेत कटाएर वृद्ध बुवाआमालाई सहयोग गरेँ। ’ वृद्ध दम्पतीलाई सहयोग गर्न पाउँदा आफू सुखी भएको सुनारको भनाइ छ। खाद्यान्न र नयाँ लुगाले तिहारमा उक्त दम्पतीमा खुसीसँगै उत्साह छाउने उनले बताए। यसभन्दा अघि पनि विभिन्न ठाउँमा सहयोग वितरण गरेका समाजसेवी तथा युवा नेता सुनारले भने, ‘वृद्ध दम्पतीको जीवनी दुःखद् भए पनि सहयोग गर्न पाउँदा खुसी लागेको छ। ’
वृद्धवृद्धाका लागि सहारासमेत कोही नभएकाले उनीहरूको दैनिकी पीडादायी भएको उनले बताए। सामाजसेवी सुनारले दुःखमा परेका नागरिकलाई मानवताका हिसाबले सहयोग गरेको बताउँदै अन्य सहयोगी हातले पनि उनीहरूलाई सहयोग गर्न अपिल गरे। तल्लो, माथिल्लो र वरिपरिका घरमा दसैंको भिन्नै रौनक थियो। विश्वभरि फैलिएको कोरोना भाइरसको त्रासका बीचमा मनाइएको दसैंमा सबैका घरघरमा मासु, भात पाक्यो। नयाँ कपडासँगै निधारमा रातो टीका र कानमा पहेँलो जमरा सबैले लगाए। तर आर्थिक अभावका कारण उनीहरूले नयाँ लुगासँगै मीठो खानासमेत पाएनन्। कस्तो संजोग घटस्थापनाका दिनमा राखेका जमरासमेत उम्रिएन, जसले गर्दा नयाँ कपडा र मासु खाने सपना त परको कुरा निधारमा रातो टीकासँगै जमरा लगाउने सपनासम्म पनि साकार भएन।
र्खोखोलाको किनार नजिकै सार्वजनिक जग्गामा झुपडी बनाएर बसेका उक्त दम्पतीलाई दसैंले गिज्याएर गयो। ‘सबैले नयाँ लुगा लगाए, मीठो मसिनो खाएर दसैं मनाए,’ विष्णुले भनिन्, ‘हाम्रो त दसैं अरु दिनजस्तै भयो। ’ सिउरामको परिवारका लागि यसपालिको दसैं पनि पहिलाजस्तै गरी गयो। केही वर्षदेखि सिउरामलाई दसैंतिहार जस्ता पर्वको खर्च गुटाउन मुस्किल हुँदै आएको छ। रोजगारी नहुँदा र सरकारले ‘दसैं प्याकेज’ नल्याउँदा पर्व मनाउन समस्या भयो। ‘नयाँ लुगा लगाउने, मीठो मसिनो खाने रहर त लाग्छ,’ उनले भने, ‘तर के गर्नु आफूसँग पैसा हुँदैन। रहर मात्र मानेर के गर्नु। ’ ‘अरुले लगाएको र खाएको देख्दा मनमा अनेक कुरा खेले पनि पूरा हुँदैनन्,’ उनले भने।
युवा नेता तथा समाज सेवी सुनारले सहयोग दिँदा उनको मुहार चम्किलो बन्यो। लामो समयदेखि नयाँ कपडा फेर्दा उनको यो दम्पतीको मुहार हसिलो भयो। ‘हाम्रो दुःख देखेर सहयोग गर्नु भयो। खुसी लागेको छ,’ उनले भने, ‘तपाइँले हामलाई हेर्नु भयो। तपाइँलाई भगवान्ले हेरुन्। ’ साभार नागरिक दैनिक