१६ कार्तिक, बैतडी । बैतडीका विद्यालय सञ्चालन भइसकेको छन्। जिल्लाको पुर्चौडी नगरपालिका र मेलौली नगरपालिकाका विद्यालयहरु सञ्चालनमा आएका हुन्।
दशैँअघि बन्द भएका नगरपालिकाका विद्यालय पुनः सञ्चालनमा आउन लागेको पुर्चौडी नगरपालिकाका शिक्षा शाखाप्रमुख दिनेश नागरीले जानकारी दिए। उनले भने,“नगरका सबै विद्यालयमा प्रत्यक्ष रुपमा पठनपाठन सञ्चालन हुन्छन्, पठनपाठनका बेला विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएका छौँ।”
यस्तै मेलौली नगरपालिकामा पनि आजदेखि पठनपाठन क्रियाकलाप सञ्चालनमा आइसकेको छ। जोखिम कम भएका क्षेत्रमा प्रत्यक्ष विद्यालयमै पठनपाठन हुने र बढी जोखिम भएका ठाउँमा टोल शिक्षाका माध्यमबाट कक्षा सञ्चालन हुने मेलौली नगरपालिकाका शिक्षा शाखाप्रमुख हरिश भट्टले जानकारी दिए।
यसअघि सञ्चालनमा रहेका मेलौलीका विद्यालयहरु नगरपालिकामा कार्यरत कर्मचारी र स्थानीय बासिन्दामा कोरोना पुष्टि भएपछि गत असोज १८ गतदेखि बन्द गरिएका थिए। सङ्क्रमित कर्मचारी र स्थानीयवासीले कोरोना जितेपछि पुनः वैकल्पिक माध्यमबाट पठनपाठनको तयारी भएको मेलौली नगरपालिकाले जनाएको छ।
कोरोना कहरले लामो समयदेखि विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यमा असर पर्ने भन्दै पुनः पठनपाठन सञ्चालन गरिन लागिएको हो। मेलौली नगरपालिकामा ४६ सामुदायिक र तीन निजी विद्यालयमा गरी आठ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन्। पुर्चौडीमा नगरपालिकामा ७५ सामुदायिक र तीन संस्थागत विद्यालयमा करीब १४ हजार विद्यार्थी अध्ययनरत रहेका छन्।
जिल्लामा हालसम्म ४६८ जनाका कोरोना सङ्क्रमण पुष्टि हुँदा एक जनाको मृत्यु भइसकेको छ। यसमध्ये आठजना मात्रै सक्रिय सङ्क्रमित रहेका छन्। साभार नागरिक दैनिक