वीपी प्रतिष्ठानमा थप ३ जना कोरोना संक्रमितको मृत्यु
बिहिबार, कार्तिक २०, २०७७ मा प्रकाशित

२० कार्तिक, धरान । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड–१९ अस्पतालमा बीहीबार बिहान ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा २ जना पुरुष र एक महिला छन् । मृतकमध्ये २ जना प्रदेश नं २ सप्तरी जिल्लाका हुन् भने एक जना प्रदेश १ को मोरङ जिल्लाका हुन्।

प्रतिष्ठानका सहप्रवक्ता डा.आशिष श्रेष्ठले दिएको जानकारी अनुसार बिहान ३ बजे मोरङका ५९ बर्षीय पुरुषको निधन भएको थियो।मृतक उच्च रक्तचाप र मुटुका रोगी थिए।

कार्तिक ९ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई सोही दिन अस्पताल भर्ना गरिएको प्रतिष्ठानले जनाएको छ।

यसैगरि, सप्तरीको राजविराज १ का २३ बर्षीया युवतीको पनि प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा बिहिबार निधन भएको छ।

उनको बिहान ३ बजेर १५ मिनेटमा निधन भएको हो।एनेमिया, पेन्टोफेनियालगायत दीर्घ रोग भएकी युवतीलाई यही मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो।

उनलाई हिजो मात्र प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा. श्रेष्ठले बताए ।

यस्तै, सप्तरीकै राजविराज ८ का ६५ बर्षीय पुरुषको पनि निधन भएको छ। उनको आज बिहान ८ बजे कोभिड–१९ अस्पतलामा निधन भएको थियो।

उनलाई कार्तिक १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।उनलाई सोही दिन प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । साभार नागरिक दैनिक

प्रतिक्रिया

सम्बन्धित खवर