चैत २९,(फरक समाचार)/ नकाब लगाएका हतियारधारी समूहले लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्ने व्यपारीमाथि आक्रमण गरि हत्या गरेको छ । शनिबार मध्यराती डकैती गर्न आएका ८/९ जनाको समूहले व्यापारी ४० वर्षीय प्रदीपकुमार मिझारको गोली हानी हत्या गरेको छ ।
इलाका प्रहरी कार्यालय लहानका डीएसपी तपनकुमार दाहालका अनुसार शनिबार राति करिब १२ बजेतिर हतियारधारी समूहले लहान नगरपालिका–२३ गढिया चोकमा सुनचाँदी पसल गर्दै आएका प्रदिप मिझारको हत्या गरेका हुन् । टाउँको, अनुहार र हातमा खुकुरी प्रहार र छातीमा गोली प्रहार गरि उनलाई हत्या गरिएको छ । उनको लहानस्थित सप्तऋषी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको डीएसपी दहालले बताए । हतियारधारी समूहले सुनचाँदी र नगद पनि डकैती गरेर लगेको प्रहरीले जनाएको छ । हत्या भएका मिझार लहान नगरपालिका–२२ बर्छवा घरभई गढिया चौकमा वडाध्यक्ष कन्हैया गुप्ताको घरमा सुनचाँदी पसल गर्दै आएका थिए ।
हत्या गरिएका मिझारकी श्रीमती अमिता मिझार पनि घाइते छन् । दाहिने हातमा खुकुरी प्रहारबाट घाइते भएकी अनिता सप्तऋषी अस्पतालमा उपचारपछि डिस्चार्ज भएकी छिन् । लहान नगरपालिका–७ का रामकृष्ण चौधरी र लहान नगरपालिका–२३ का सूर्य सहनीलाई फलामको छिनोसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको डीएसपी दाहालले जानकारी दिए ।
घटानास्थलदेखि इलाका प्रहरी कार्यालय लहान र इलाका प्रहरी कार्यालय महेशवारीको दूरी चार किलोमिटर छ । घटनास्थलको उत्तर, दक्षिण र पूर्व घना बस्ती छ । पश्चिम बगैचा र खाली जमीन छ । लहान–ठाढी सडक खण्डको टाँसिएकै पश्चिम हतियारधारी समूह घण्टौ आतंक मच्चाउँदा पनि कोहि चुइँक्क बोलेनन् । हतियारधारी समूह अपराध घटाएर गइसकेपछि मात्र प्रहरी घटनास्थल पुगेको स्थानीय बताउँछन् ।
सुनचाँदी व्यवसायी संघ सिरहाका अध्यक्ष विकाश सारडाले घटनाप्रति दुःख व्यक्त गर्दै संलग्न अपराधीलाई अविलम्ब कानूनी दायरामा ल्याउन माग गरेको छ ।नागरिक दैनिकबाट