बर्दिया,कार्तिक २९(फरकसमाचार)/ चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । गुलरिया नगरपालिका–१० थारु पर्सियाका संदिप चौधरी र राजापुर नगरपालिका–६ टपराका २६ वर्षिय महेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।
मंगलबार राति १ बजे गुलरिया नगरपालिका–१० थारु पर्सियाका लोकेन्द्र प्रसाद चौधरीको घरमा पसी चोरी गरिरहेको अवस्थामा सोही ठाउँका संदिप चौधरीलाई घर धनिले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको जनाईएको छ ।
त्यसैगरि बारबर्दिया नगरपालिका–२ का १९ वर्षिय सरोज थारु सोमबार गुलरिया नगरपालिका–६ स्थित जिल्ला प्रशासन कार्यालयमा नागरिकता बनाउन आएका थिए । जिल्ला प्रशासन कार्यालयको पार्किङमा राखेको साइकल चोरी भएको सरोजले प्रहरीलाई जनाएका थिए ।
खोजतलासको क्रममा गुलरिया नगरपालिका–४ तुलापुर स्थितबाट साइकलसहित राजापुरका महेश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।