अभिनव कुमार पाठक
बर्दिया, भदौ ११ / धुमधामका साथ हरितालिका तीज मनाइएको छ । भाद्र शुक्ल तृतीया मंगलबार धुमधामका साथ हरितालिका तीज मनाइएको हो । गुलरियाको बगलामुखी र कोटहीलगायत शिव मन्दिरमा महिलाहरू मंगलबार बिहानै देखि पूजामा व्यस्त देखिन्थे । अविवाहित युवतीहरू सुयोग्य बर प्राप्तिका लागि र विवाहित महिलाहरू पति वा परिवारको कल्याणका लागि निराहार व्रत बस्ने चलन रहेको छ ।
गुलरियाका विभिन्न मठमन्दिर तथा चोकहरूमा टेन्ट लगाएर धुमधामका साथ तीज मनाइएको थियो । सम्पूर्ण दिदीबहिनी तथा आमाहरूको मुहारमा तीजको खुसी झल्केको थियो । सबै एकअर्कासँग रमाएर नाँचिरहेका थिए । कोही मन्दिरबाट पूजा गरेर घर फर्किरहेका थिए भने कोही सजिएर मन्दिर गइरहेका थिए ।
हरेक चोकमा रहेको तीज कार्यक्रममा महिला दिदीबहिनीहरूको सहभागिता रहेको थियो । विशेषगरी यस चार्डमा माइती पुगेर वर्षभरि आफूले पाएको दुःख बिर्सिदै नाँचगानमा रमाएर आ–आफ्ना दुःख पीडा अभिव्यक्त गरिन्छ । आफ्ना दिदीबहिनी साथीसँग भेटेर सुख दुःख बाँड्ने चार्डका रुपमा तीजलाई मानिन्छ ।
पहिला वर्षौ दिनपछि माईतीको आँगनमा तीजमा दिदीबहिनीहरुको भेट हुँदा गीतमार्फत सुख दुःख साटासाट गर्ने चलन थियो,त्यो आज भोलि हराउदै गएको नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए । ‘बिस्तारै तीजको मौलिकता हराउदै गएको छ,’अध्यक्ष घिमिरेले भने,‘आजभोलि डिजेमा छाडा गीत धन्काउदै नाँचेको देखिन्छ ।’ हरितालिका तिजको जर्गेना गर्नुपर्ने आवश्यक रहेको उनले सुनाए ।