बर्दिया, मंसिर २/ दलित महिला जनप्रतिनिधिहरुको जिल्ला स्तरीय साँझा मंच गठन गरिएको छ । जिल्ला स्थित आठ वटै पालिकाका महिला जनप्रतिनिधिहरुलाई समेटेर साँझा मंच मंगलबार गुलरियामा गठन गरिएको हो । ११ चन्द्रकला बिक संयोजक, बिमला परियार सह–संयोजक, पुजा सुनार सचिवमा चयन भएकी छन् । यस्तै आठ जना सदस्य ११ जनाको जिल्ला कार्यसमिति गठन भएको छ ।
स्थानीय तहमा दलित जनप्रतिनिधिहरुलाई दलित महिलाका सवालमा एकीकृत गरी उनीहरु बिच एकता, समन्वय र सहकार्यको वातावरण सिर्जना गर्ने उदेश्यले जिल्ला स्तरीय साँझा मंच गठन गरिएको दलित महिला संघकी अध्यक्ष हिमा सुनारले बताईन् । ‘दलित सशक्तिकरण विधेयक निर्माणमा उहाँहरुको पैरवी रहन्छ,’अध्यक्ष सुनारले भनिन्,‘दलित सशक्तिकरण विधेयकसंगै योजना निर्माणका साथ बजेट विनियोजनका लागि गाउँ गाउँमा सचेतना फैलाउन साँझ मंचको आवश्यकता परेको हो ।’ पार्टीलाई पछाडि राखेर दलित महिला जनप्रतिनिधिहरुले आफ्ना मुद्दा अगाडि सार्न जिल्ला स्तरीय साँझा मंच गठन गरि अघि बढेको देख्दा मुद्दा ओझेलमा नपर्ने नेपाल पत्रकार महासंघ जिल्ला शाखा बर्दियाका अध्यक्ष निर्मल घिमिरेले बताए ।
दलित महिला संघद्वारा मंगलबार आयोजित जिल्लाका दलित महिला जनप्रतिनिधि र संचारकर्मी अन्तर संवाद कार्यक्रममा दलित महिला जनप्रतिनिधिहरुले आफ्ना भोगाई र चुनौती राखेका थिए ।

