अन्तिम चरणमा पाउँदी मोटरेबल पुल
शुक्रबार, फागुन ३०, २०७६ मा प्रकाशित

लमजुङ, फागुन ३० : यहाँका दुई स्थानीय तह जोड्ने पाउँदी मोटरेवल पुलको निर्माण अन्तिम चरणमा पुगेको छ । जिल्लाको सुन्दरबजार नगरपालिका–६ र तनहुँ भानु नगरपालिका–११ मानेचौका जोड्ने मोटरेबल पुलको हालसम्म ९७ प्रतिशत काम सम्पन्न भएको सडक डिभिजन कार्यालय दमौली तनहुँले जनाएको छ ।

कार्यालयका अनुसार सपना निर्माण सेवा कम्पनीले उक्त पुल निर्माणको जिम्मा लिएर फम बिछ्याउने काम, पुलको जग हाल्ने काम, दुवैतर्फ एक÷एक पिलर, बीचमा चार पिलर, स्टिक्चर, ढलान, वर्डर, ग्याविन जालीलगायतका काम सम्पन्न भइसकेको सडक डिभिजन कार्यालयका इञ्जियनीयर नारायण पौडेलले बताए । उनका अनुसार अब पुलमाथि ढलान मात्र गर्न बाँकी रहेको र केही हप्ताभित्र पुल सम्पन्न हुनेछ ।

निर्माणधीन पुल १८६ दशमलव ८ सेन्टिमिटर लम्बाइ र ११ मिटर चौडाइ लामो रहेको उनको भनाइ छ । सो कम्पनीले करिब तीन वर्षभित्रै निर्माण सक्ने गरी उक्त कार्यालयसँग विसं २०७४ असार १८ गते सम्झौता गरी निर्माणको काम अघि बढाएको थियो । सम्झौताअनुसार गत पुस मसान्तभित्र पुलको निर्माण सम्पन्न गरिसक्नुपर्ने भए पनि हालसम्म निर्माण भइरहेको कार्यालयले जनाएको छ ।

करसहित २० करोड ९७ लाख लागतमा निर्माण सम्पन्न हुने बताइएको छ । नाउँदी र पाउँदी खोला मिसिएको उक्त स्थानमा मोटरेवल पुल नहुँदा बर्खायाममा सवारी साधन आवतजावत गर्न सक्दैनन् । पुल बनेपछि भने निकै सहज हुने र सो पुलबाट दुई जिल्लाका स्थानीयवासीलाई समेत सहज हुने भएको छ । सो स्थान नजिकै मान्छे र मोटरसाइकल झोलुङ्गे पुलबाट आवतजावत गर्ने गर्दछन् । अन्य सवारी साधन भने हिउँदको बेलामा खोलाबाटै गुड्दै आएको छ । आगामी बर्खायामबाट भने सवारी आवतजावत हुने भएपछि यस क्षेत्रका बासिन्दा हर्षित छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर