व्यापारिक मार्ग मिचेका घरधनी घर खाली गर्न सूचना
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

रुपन्देही, चैत ६ : व्यापारिक मार्ग विस्तार आयोजनाले सडक सीमा मिचेका बुटवलका घरधनीलाई १५ दिनभित्र खाली गर्न बुधबार सूचना जारी गरेको छ्र । लामो समयदेखि अदालतको आदेशका कारण अलमलमा परेको बुटवलको सडक विस्तारकार्य अगाडि बढाउन आयोजनाले सूचना जारी गरेको हो ।

योसँगै आयोजनाले सुनबल परासी सडक खण्डका सडकको केन्द्रदेखि दायाँबायाँ २५÷२५ मिटर सीमाभित्र बनेका घर तथा टहरा हटाउन सूचना जारी गरेको छ । आयोजनाले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासले गरेको आदेश बमोजिम मुआब्जा प्रक्रियाका लागि निवेदन दिएका घरधनीमध्ये कमलादेवी श्रेष्ठ, जनक कोइराला, किशोरकुमार श्रेष्ठ, सायरा खातुन र जीवनलाल बज्राचार्यको बाहेक अन्यको मुआब्जा दिन नपर्ने निर्णय गरिएको समेत सूचनामा उल्लेख छ ।

सडक विस्तारले आफूहरूको स्वामित्वको जग्गा सरकारी बन्ने हँुदा मुआब्जाको माग गर्दै बुटवलको सडक किनाराका १५५ जना घरधनीले उच्च अदालत तुल्सीपुरको बुटवल ईजलासमा रिट दायर गरेका थिए ।

उनीहरूको निवेदनमा फैसला गर्दै अदालतले जिल्ला प्रशासन कार्यालयमार्फत मुआब्जा प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको थियो । जिल्ला प्रशासन कार्यालयले मुआब्जा प्रक्रिया अगाडि बढाउदासमेत घरधनीहरूको पक्षमा नभएपछि घरधनी पुनरावेदनको लागि गृह मन्त्रालय गुहारेका थिए ।

तर, गृहलेसमेत जिल्ला प्रशासन कार्यालयले गरेको निर्णय नै सदर गरेको छ । सडक किनारका घरधनीहरूको अवरोध र अदालतको आदेशका कारण दुई वर्ष अगाडि काम शुरु भइसक्नुपर्ने बुटवलको राजमार्ग चौराहदेखि गोलपार्क सडक काम शुरु हुन सकेको थिएन ।

प्रतिक्रिया

सम्बन्धित खवर