सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइयो जमुनाह नाकामा
बिहिबार, चैत ०६, २०७६ मा प्रकाशित

नेपालगञ्ज, चैत  ६ :  कोरोना भाइरस संक्रमणको जोखिम हुन नदिन बाँकेको मुख्य नेपाल–भारत सीमानाका जमुनाहमा बुधबारदेखि सवारीसाधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइएको छ ।

दुवै देशका सुरक्षार्मीले दुवै देशमा प्रवेश गर्ने ठूला सवारीसाधनदेखि साइकलसम्म सञ्चालनमा रोक लगाएका छन् । नेपालतर्फ चौलिक्का चोकसम्म मात्र सवारीसाधन सञ्चालन गर्न दिइएको छ । सवारीसाधन सचालनमा रोक लगाए पनि पैदल आवातजावत भने यथावत रहेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जानकारी दिए ।

अहिले भारतबाट घर फर्किने नेपालीको संख्या उल्लेखनीय मात्रामा रहेको छन् । त्यस्तै नेपालगञ्जका उद्योगमा आउने कामदारदेखि अन्य नागरिक पैदल आउन बाध्य भएका छन् । यसअघि भारतमा फैलिएको कोरोना भाइरस नेपालमा भित्रिन सक्ने आशंकामा जमुनाह नाका बन्द गर्नुपर्ने आवाज उठ्दै आएको थियो ।

यहाँ बसेको नेपाल र भारतका सुरक्षा अधिकारीको बैठकले बुधबारदेखि सवारी आवागमनमा रोक लगाउने निर्णय गरेको हो । बिहानैदेखि टेन्ट लगाएर स्वास्थ्यकर्मीले नाकामा प्रवेश गर्ने हरेक नागरिकको अनिवार्य स्वास्थ्य परीक्षणसमेत गरिरहेका छन् ।

अर्कोतर्पm, कोरोना भाइरसको कारण बाँकेको व्यापार, व्यवसाय पनि प्रभावित भएको छ । बाँकेको सदरमुकाम नेपालगञ्जमा आवतजावत गर्नेको संख्या घटेपछि यहाँको व्यापार, व्यवसाय प्रभावित बनेको हो । मूलतः भारतबाट आउने पर्यटकको आगमन शून्यमा झरेको, आन्तरिक पर्यटकको संख्या पनि ह्वात्तै घटेको, होटल, रेष्टुराँ र सार्वजनिकस्थलमा मानिसको उपस्थिति पातलिँदै गएपछि यसको प्रत्यक्ष असर अर्थतन्त्रमा परेको नेपालगञ्ज उद्योग वाणिज्य संघका महासचिव चिरञ्जीवी ओलीले जानकारी दिए ।

कोरोनाका कारण बाँकेको होटल व्यवसायमा सबैभन्दा बढी प्रभाव परेको छ । नेपाली तथा विदेशी पर्यटकले चल्दै आएको बाँकेको होटल व्यवसाय सरकारले विदेशीलाई प्रवेश निषेध तथा जिल्लामा कुनै पनि सभा सम्मेलन, कार्यक्रम नगर्नका लागि आग्रह गरेकाले अहिले होटल व्यवसायको कारोवार प्रायःठप्प जस्तै छ ।

‘हाम्रो कारोवार ८० प्रतिशत बढीले घटेको छ । यस्तो अवस्थालामो समयसम्म रहिरहे बैंकको ऋण निखन्न पनि धौधौ पर्ने देखिन्छ’, होटल व्यवासायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले भने । तर, यहाँको व्यापार व्यवसायमा प्रतिकूल प्रभाव परे पनि भारतबाट आउने मालसामान भने रोकिएका छैनन् । भारतबाट आउने मालसामानमा भने कुनै कमी आएको छैन । सीमानाकामा आवतजावतमा कडाइ भए पनि सामान आयातनिर्यातमा भने कुनै कमी नआएको नेपालगञ्ज भन्सार कार्यालयले जनाएको छ ।

‘भारतबाट मालसामान आयतमा वृद्धि भएकाले अहिले विगतको भन्दा दैनिक एक करोड बढी राजश्व संकलन भइरहेको छ’, नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख शान्तिराम निरौलाले भने ।

प्रतिक्रिया

सम्बन्धित खवर