तरकारीले बनायो आत्मनिर्भर, व्यवसायमा जम्दै महिला
शनिबार, चैत ०८, २०७६ मा प्रकाशित

बाँके, चैत ८ : कोहलपुर नगरपालिका–१३ भरैयाका किसान तरकारी खेतीबाटै आत्मनिर्भर बन्न थालेका छन् । तरकारी गोडमेल, मलजल गर्नुका साथै सिँचाइको व्यवस्थापनमै उनीहरूको दिन बित्ने गरेको छ । सामूहिक तरकारी खेती गर्दै आएका यहाँका कृषकले सागर कृषि सहकारीसमेत खोलेका छन् ।

कृषिलाई नै मुख्य पेशा बनाएका यहाँका स्थानीयले मौसममा न्यूनतम एक लाखदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका छन् । परम्परागतरुपमा धानखेती गर्दै आएका यहाँका कृषक आम्दानी बढी हुने देखिएपछि तरकारी खेतीमा जुटेका हुन् । धान खेतीमा मेहनत धेरै, उपलब्धि कम हुने भएकाले तरकारी खेती शुरु गरेको स्थानीय नरबहादुर बुढामगर बताउँछन् ।

पहिलेको तुलनामा पछिल्लो समय तरकारी उत्पादन निकै बढेको बताउँदै मगर भन्छन्, ‘ग्राहक घरमै आएर तरकारी किनेर लैजान्छन् । यसअघि धान र गहुँखेती गर्दै आउनुभएका मगरले त्यसबाट लाउन खान पनि नपुगेपछि विसं २०५१ देखि तरकारी खेती शुरु गरेको बताए । उनले अहिलेसम्म कुनै निकायबाट सहयोग नपाएको भन्दै गुनासो गरे ।

प्रदेश र स्थानीय सरकारले कृषिमा थुप्रै बजेट छुट्याएको खबर सुने पनि हालसम्म अनुदान नपाएको उनले बताए । यद्यपि वार्षिक दुईदेखि पाँच लाखसम्म आम्दानी गर्दै आएका मगरले सोही रकमबाट घर परिवारको खर्च धानिरहेका छन् । अर्का किसान शेरबहादुर वलीले पनि एक दशकदेखि तरकारी खेती गर्दै आएको सुनाए ।

विभिन्न निकायबाट कृषिसम्बन्धी तालीम लिएका वली नेपालमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने बताउँछन् । ‘हामी चार भाइ मिलेर ३५ कट्ठामा तरकारी खेती शुरु गरेका छौँ’, वलीले भने, ‘वार्षिक दुई लाख लगानी गरेर उब्जिएको तरकारीबाट १५ लाख बराबर आम्दानी हुने गरेको छ ।’ उनले कृषि पेशाबाटै २२ जनाको परिवारको खर्च चलाइरहका छन् ।

वलीलाई उनका भाइ तिलक, एकराज र शशीरामले तरकारी खेतीमा साथ दिँदै आउनुभएको छ । भाइहरूसँगै परिवारका सबै सदस्य फुर्सद भएसम्म खेतमै भेटिने गरेका छन् । समयमै बीउ र मल उपलब्ध नहुँदा सोचे जति उत्पादन गर्न नसकिएको वली बताउँछन् । उनले सरकारले कृषकको आवश्यकता पहिचान गरेर कृषि सामग्री वितरण नगरेकोमा गुनासो गरे ।

सहकारीमार्फत यहाँका किसानले अटोरिक्सासमेत खरिद गरेका छन् । गाँउमा उत्पादन हुने तरकारी अटोरिक्सामार्फत बजारसम्म पुग्ने भएकाले कृषकलाई बजारीकरणको समस्या छैन । यद्यपि भारतबाट आउने विषादीयुक्त तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्ने बाध्यता छ । भारतबाट सस्तो मूल्यको तरकारीसँग गाउँमा उत्पादित अग्र्यानिक तरकारीले प्रतिस्पर्धा गर्नुपर्ने कृषकको गुनासो छ ।

व्यवसायमा जम्दै महिला

बाँकेमा झण्डै पाँच हजार उद्योगी व्यवसायी छन् । जसमध्ये १०० बढी उद्योग महिलाले नै हाकिरहेका छन् । घरेलु कामधन्दामा मात्र सिमित यस्ता महिलाहरू आर्थिक, सामाजिकरुपले सक्रिय बन्दै आएका हुन् । चुलोचौकामा सीमित महिला सामान्य पसलदेखि ठूला उद्योगसम्म हाक्दै छन् ।

जसले आफ्नै व्यवसाय गरेर आफूमात्र परिवर्तन भइरहेका छैनन् नाम र दाम कमाउँदै समाजलाई पनि परिवर्तन गराइरहेका छन् । उनीहरू निर्भिक र निडर भएर राम्रै व्यापार गरिरहेका छन् । अहिले हरेक क्षेत्रमा महिलाको उल्लेख्य सहभागितासँगै सफलताको उचाइमा पुगेका छन् । शिक्षा, स्वास्थ्य, रोजगारी होस् वा व्यापार व्यवसायमा महिला सफल र उदाहरणीय बन्दै गएका छन् ।

घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काका अनुसार उद्योग, व्यवसाय क्षेत्रमा महिलाको सक्रिय सहभागिता बढ्दो छ । उद्योग व्यवसायमा देखिएको महिला सहभागिता र सक्रियताले व्यवसायमा महिला अब्बल छन् भन्ने प्रमाणित भइसकेको अध्यक्ष खड्काको भनाइ छ ।

ठूलाठूला होटल, व्यापार, व्यवसाय उनीहरू एक्लैले धानिरहेका छन् । घरेलु साना उद्योग हुन् वा ठूला व्यवसायमा यहाँका महिला अब्बल बन्दैछन् । अचार उत्पादन, खेलौना, कुसन निर्माण, सिलाइकटाइलगायतका काम गरेर आत्मनिर्भरको बाटोमा पनि लाग्न सकिन्छ भन्ने सन्देश यी महिलाबाट पाउन सकिन्छ ।

हाल संघमा तीन दर्जन बढी महिला आबद्ध छन् । ग्रामीण क्षेत्रमा पुगेर महिलालाई विभिन्न सीपमूलक तालीम दिँदै आएकाले ग्रामीण क्षेत्रका महिला पनि उद्यमी बन्नतर्फ अग्रसर रहेको महिला उद्यमी संघका महिला उद्यमी संघ बाँकेकी महासचिव रेवती सिंहको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर